• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

जेनजी आन्दोलनले पुराना दलमा हलचल

  • २०८२ कार्तिक १६, आईतवार

सम्पादकीय
गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनले मुलुकमा अभूतपूर्व बदलाव ल्याएको छ । बिभिन्न राजनीतिक दलहरुले नयाँ नयाँ एजेन्डा र योजना सहित वर्षौदेखि सत्ताको मनपरी बिरुद्ध आवाज बुलन्दित र बदलाव ल्याउन प्रयास गरे पनि बिफल भइरहेका थिए । देश बदल्छु भन्दै नयाँ र भिन्न सपना सहित उदाएका दल र नेताहरु पनि आफै बदलिँदै गए । फलस्वरुप देशले अपेक्षित विकास र समृद्धि हासिल गर्न सकेन । परिवर्तित व्यवस्थामा पनि शासन व्यवस्था अनुसारको सुशासन संस्थागत हुन सकेन । आम नागरिकमा क्रमशः निराशा र आक्रोश बढ्दै गयो । जुन सुशासन र सामाजिक सञ्जाल माथिको नियन्त्रण फुकुवा गर्ने माग सहितको आन्दोलनमा अभिव्यक्त भयो । जसले पुरानो सत्ता शासक २४ घण्टाको आन्दोलनबाट बहिगर्मित मात्र भएनन्, मन्त्री, केन्द्रीय नेताहरु भागाभागको अवस्थामा समेत पुगे । यही आन्दोलनको जगमा जेनजीको माग अनुसार अहिले अन्तरिम सरकार बनेको छ ।

नेकपा एमाले र नेकपा एमालेको नेतृत्वमा बनेको दुई तिहाई बहुमत प्राप्त सरकार निमेषमै ढले पश्चात पुराना राजनीतिक दलहरुमा केही दिन सम्म त ठुुलो सन्नाटा छाइरहेको थियो । कुनै नेता, कार्यकर्ता खुलेर बोल्ने र हिँड्ने सम्म गर्न सकिरहेका थिएनन् । बिस्तारै सामाजिक सञ्जाल हुँदै भौतिक रुपमा अहिले पुराना राजनीतिक दलहरु फेरि क्रियाशील बन्न त थालेका छन् । तर, आफ्नै पार्टी भित्रका अनेकन प्रश्न र विवादले कति फुटमा परिणत भइसकेका छन् भने कतिपय संघर्ष र विवादको उत्कर्षमा छन् । नेपाली कांग्रेस आगामी फागुन २१ को निर्वाचन अघि नै नियमित महाधिवेशन कि विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व परिवर्तन गर्ने आन्तरिक विवादले ग्रस्त छ । नेकपा माओवादी केन्द्र महाधिवेशन गर्नु भन्दा अघि प्रचण्ड लगायत माओवादी नाम नै छोडेर पार्टी एकता गर्ने तयारीमा लागे पछि जनार्दन शर्मा लगायत तीव्र असन्तुष्ट छन् । जसले यतातिर एकीकरण र अर्को तर्फ पार्टी फुटको दिशा तर्फ उन्मुख भएको संकेत गर्छ । नेकपा एकीकृत समाजवादी त माओवादीसँग पार्टी एकीकरण गर्ने निर्णयसँगै विभाजन भएको छ । झलनाथ खनाल, घनाश्याम भुसास लगायतले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । नयाँ शक्तिको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी पनि अनेकन विवादबाट ग्रस्त छ । उसो त पछिल्लो आन्दोलनबाट उदाएका जेनजीहरु पनि बिभिन्न समूहबाट बिभाजित छन् ।

जेनजी आन्दोलनको मर्म सरकार फेरबदल मात्र कदापि होइन । वर्षौदेखि जकडिएर बसेको भ्रष्टाचार, बेथितिमा संलग्न माथि अनुसन्धान, कारबाही र मुलुकलाई सुशासन र समृद्धिको दिशा दिने हो । यो अब पुराना राजनीतिक दलका वर्षौदेखि सत्तामा रजगज गरेकाहरुबाट कदापि सम्भव छैन । यसका लागि हरेक पार्टीका दोस्रो, तेस्रो तहका नेताहरुले अब पार्टी र देशको बागडोर सम्हाल्ने साहस गर्नुपर्छ । मुलुक यतिबेला अत्यन्त जटिल र संवेदनशील मोडमा छ । अस्थिरता र अराजकताको खतरामा छ । यसबेला मुलुकमा क्रियाशील राजनीतिक दल, नागरिक समाज र बैदेशिक शक्तिहरुलाई पनि विश्वास र सन्तुलनमा लिएर काम गर्न सक्ने परिपक्व र कुशल नेतृत्व चाहिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिए बाहेक अरु पार्टी र नेताहरुमा गुट र एकताका नाममा फेरि पनि नेतृत्व रहने हठ र आशक्ति देखिएको छ । यो मुलुकका लागि घातक नै सावित हुनेछ । जेनजी आन्दोलन र यो सँगैको ध्वंसले देश कैयन वर्ष पछाडि परिसकेको छ । अब संयमित रुपमा सबैलाई मिलाएर लैजान सक्ने दल र नयाँ नेतृत्व नआउने हो भने त्यसले मुलुकलाई थप अस्थिरता, जटिलता र अझै पछाडि लैजाने निश्चित छ ।

  • २०८२ कार्तिक १६, आईतवार