• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

जेन–जी आन्दोलन, असर र मानसिक समस्या

  • २०८२ कार्तिक २३, आईतवार

सम्पादकीय ।
नेपालको इतिहासमा नयाँ पुस्ता जेन–जीको आन्दोलन ऐतिहासिक र अभूतपूर्व रह्यो । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले मुलधारको राजनीति र सत्तामा वर्षौदेखि रजगज गर्दै आइरहेकाहरु माथि अकल्पनीय रुपमा धावा बोल्यो । समय गतिशील भइरहे पनि मुलुकको सुशासन, विकास र समृद्धिको पाटोमा अनेकन उल्झन आइरह्यो, नागरिकले साना साना कुरामा चर्को सकस र सास्ती पाइरहे । सत्ता र शक्ति नजिक भएकाहरुको मात्र राज्यको स्रोत, साधन र सार्वजनिक सेवामा पहुँच सीमित भयो । यही कारण आम नागरिकमा आक्रोश बढ्दै थियो । जसबारे सत्तासीन दल र नेताहरु बेखबर रहँदा जेन–जी आन्दोलनले विद्रोहको रुप लियो । जहाँ ७६ जना युवाको ज्यान गयो । सिंगो राज्य र निजी क्षेत्र समेत तहसनहसको अवस्थामा पुग्यो ।

जेन–जी आन्दोलन त सकियो, जेन–जीको माग र चाहना अनुसार पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा सरकार बन्यो । सरकारले अपेक्षित गतिमा नभए पनि आफ्नै सुर, तालमा पाइला अघि बढाइरहेको छ । राजनीतिक दलहरु र तिनका नेताहरुको मनमुटुमा ठुलो भुकम्प गएको छ । निजी क्षेत्रहरुमा समेत आगजनी, तोडफोड, लुटपाट भएको छ । जसबाट उद्योगी, व्यवसायी तंग्रिन सकेका छैनन् । त्यो आतंक र भयबाट सिंगो निजी क्षेत्र भयभित अवस्थामा छ । पाँचतारे होटल, बिभिन्न उद्योगहरु अहिले बन्द अवस्थामा छन् । सबै भन्दा ठुलो मारमा परेको भाटभटेनीका भवनहरु उदास देखिन्छन् । यो त जेनजी आन्दोलनको राजनीतिक, सामाजिक र भौतिक असर र प्रभावहरु हुन् । यो आन्दोलनसँगै अधिक नेपालीहरुको जीवन र व्यवसायको नियमित लय भंग भएको छ । जसका कारण आफ्नो नियमित पेशा, व्यवसाय सँगै नेपालबाट पलायन हुने मात्र होइन, यथास्थान र कर्ममा हुँदा हुँदै पनि मानसिक समस्याबाट गुज्रिरहेका छन् । जेन–जी आन्दोलनपछि चिकित्सकहरूका अनुसार आन्दोलनको त्रास र तनावले मानसिक स्वास्थ्यसम्बन्धी बिरामी बढेका हुन् । मानसिक अस्पताल पाटनमा दैनिक डेढ सयको संख्यामा मानसिक स्वास्थ्यका समस्या लिएर बिरामी आउने गरेका छन् । त्यसमध्ये अधिकांश एनजाइटी र साइकोसिसका छन् । घरघरमा समेत मानसिक स्वास्थ्य समस्याका बिरामी बढेका छन् । अन्य थुप्रै स्वास्थ्य संस्थामा पनि मानसिक स्वास्थ्यसम्बन्धी बिरामी बढेको खबरहरु सार्वजनिक भइरहेका छन् । उसो त स्वास्थ्य संस्था सम्म नपुग्नेहरुको संख्या पनि ठुलो हुन सक्न आँकलन छ ।

जेन–जी आन्दोलन सकिएको दुई महिना पुरा भएता पनि घटनाको कहालीलाग्दो परिदृश्य, हत्या, ध्वंस, तोडफोड, लुटपाटको भय र त्रास धेरैमा अझै बाँकी छ । कतिपयका परिवारका आफन्तको मृत्यु र घाइते भएपछि त्यही पीडाले उनीहरूमा मानसिक समस्यासमेत देखिन थालेको छ । अझ आन्दोलनमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोस्नेदेखि लुटपाटजन्य अपराध गरेका दृश्यले बालबालिकाहरूमा समेत असर पारेको छ । आन्दोलनमा भएको विध्वंशका घटनाका कारण देशमा केही नहोला कि भन्ने सोच र चिन्ता धेरैमा देखिन्छ । अर्कोतर्फ फेरि पनि आन्दोलन बिरोधका कार्यक्रम घोषणा भइरहेकाले मुलुक थप अस्थिरतातर्फ जाने हो कि भन्ने भय छ । जेनजी आन्दोलन पश्चात जुन उत्साह, गति र लयमा आफ्ना पेशा, व्यवसाय, रोजीरोटीहरु चलेका थिए, त्यसयता आम्दानीमा ह्रास छ । अनि भविष्य अनिश्चितता तर्फ उन्मुख भएको छ । खासगरी युवाहरू मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । कारागारबाट भागेका कैदीबन्दीका कारण पनि समाजमा थप अपराध बढ्ने तनाव र त्रास अर्कोतिर छ । यी र यस्ता यावत विषयले मानसिक समस्या अझ डरलाग्दो बन्ने देखिन्छ । अतः सरकार, विशेषतः स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य सम्बन्धी विशेष अभियानहरु देशभरका आम नेपाली समक्ष सहज रुपमा पुग्ने गरी अघि बढाउन अपरिहार्य छ ।

  • २०८२ कार्तिक २३, आईतवार