सम्पादकीय । खेल अहिलेको समयमा भन्दा सिंगो नेपाल र नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने एक मात्र माध्यम हो । त्यसमा पनि क्रिकेटले त्यो सामथ्र्य र अपनत्व देखाइरहेको छ । खासगरी विश्व क्रिकेट, टी–ट्वान्टी विश्वकप छनोट होस् या अरु एशियन प्रतियोगिताहरु, त्यसमा नेपाली क्रिकेट टिमले हासिल गरेको ऐतिहासिक सफलताले सारा नेपालीलाई खुशी तुल्याएको छ । भौगोलिक रुपमा सानो रहेको नेपाललाई विश्व समुदाय माझ नेपाल भन्ने देशको पनि गर्विलो परिचय दिलाउन नेपाली क्रिकेट एकपछि अर्को सफलता हासिल गर्ने चरणमा छ । अब निकट समयमै छिमेकी देश भारत र श्रीलंकामा हुने टि–ट्वान्टी क्रिकेट विश्वकपमा पुनः उत्रिने त्यो सुखद क्षणको पर्खाइ छ । उसो त यही अनुक्रममै नेपालको घरेलु क्रिकेटमा पनि चामत्कारिक विकास भइरहेको छ । सोमवारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणसुरु भएको छ । त्यो पनि पहिलो पटक फ्लडलाइट बालेर रातिमा पनि खेल सञ्चालन हुने गरी कीर्तिपूर अन्तर्राष्ट्रिय रंगशाला अब तयार भएको छ । यो क्षण साँच्चिकै नेपाल र नेपालीका लागि सुखद क्षण हो ।
नेपालका लागि फुटबल लिग त परिचित नै थियो । यद्यपि, यसको निरन्तरतामा चरम समस्या र बेथिति छ । यसवर्ष पनि ए डिभिजन लिग नभए पछि खेलाडीहरु आन्दोलनमा उत्रिरहेका छन् । तर, गत वर्षदेखि शुरु भएको क्रिकेट लिगले छोटो समयमै अभूतपूर्व सफलता, माया र विश्वास पाइरहेको छ । छिमेकी मुलुक भारतले सन् २००७ मा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु गरेपछि त्यसले बहुआयामिक प्रभाव पा¥यो । त्यसको सिको सबैतिर हुन थाल्यो । अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा क्यारेबियन लिग, इङ्गल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्का प्रिमियर लिग हुँदै आए । लिग खेलप्रति व्यापक लगाव मात्र बढेको छैन, ती देशको खेलस्तर माथि उकासिएको छ भने अर्थतन्त्र उकास्न पनि ठुलो सहयोग पुगेको छ । त्यही क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु क्रिकेट लिग शुरु भएको झण्डै २० वर्ष पछि एनपिएलको सुरुवात भयो । जहाँ ८ टिम सहभागी छन् । यस खेलको भव्य उद्घाटन, प्रायोजक, दर्शकहरुको उल्लेख्य उपस्थितिले एनपीएललाई थप उचाई दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)ले खेल क्षेत्रमा मात्र होइन, सिंगो देश, देशको अर्थतन्त्र, खेलाडीको भविष्यमा नै ठुलो उत्साह ल्याएको छ । धेरै धनराशि खर्च गरेर विश्वस्तरीय विदेशी क्रिकेटरको राम्रै संख्या नेपाल ल्याइएको छ । स्टार स्पोट्र्स जस्तो सुप्रसिद्ध च्यानलले प्रत्यक्ष प्रसारण गरेको यो प्रतियोगिताले नेपालको नाम विश्वभर फैलिएको छ । देशको भूगोल र प्रदेश अवधारणामा सञ्चालन गरिएको लिगले देशभित्र क्रिकेटको भौगोलिक विस्तारलाई समेत प्रतिविम्बित गरेको छ । गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्याराफिट र ६ वटा फ्लडलाइटहरू जडान भए पछि रातमा पनि झलमल्ल छन् । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति यही अवसरमा भयो । नेपालीको मनमनमा क्रिकेटको ‘क्रेज’मा एनपिएलबाट अझ बढोत्तरी भएको छ । यसले नेपालमा पनि खेल क्षेत्र अर्थतन्त्रको आधार बन्न सक्ने देखिएको छ । चर्चित खेलाडी एनपिएलमा सहभागी हुँदा नेपाली खेलाडीले खेलस्तर सुधार्नसमेत अवसर पाएका छन् । प्रत्येक खेलाडीले कम्तीमा दुई लाखदेखि २० लाख रुपियाँसम्म पाउने भएकाले खेलाडीको आर्थिक भविष्य पनि थप मजबुत बन्दै गएको छ । केबल अब एनपीएलका सन्दर्भमा केही प्रश्नहरु उठाइएका छन् । त्यसमा पनि सबैलाई प्रष्ट हुने गरी सचेत र सुझबुझपूर्ण हिसाबले क्यानले कदम चाल्नुपर्छ ।