• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

कर्जा सूचना केन्द्रको सदस्य लिन सहकारीहरुलाई प्राधिकरणको आव्हान

बागलुङ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्र लिमिटेडमा आवद्ध हुन आव्हान गरेको छ ।

प्राधिकरणले बुधवार सार्वजनिक सूचना जारी गरेर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीहरुलाई कर्जा सूचना केन्द्रमा आवद्ध हुन आव्हान गरेको हो ।

कर्जा सूचना केन्द्र लिमिटेड र प्राधिकरणबीच भएका वैठक तथा छलफलबाट सहकारीहरुलाई कर्जा सूचना केन्द्रमा आवद्ध गराउन प्राविधिक सहयोग गर्ने गरी प्राधिकरणले सहकारीहरुलाई सदस्य लिन र कर्जा सूचना केन्द्रलाई सदस्य दिनका लागि आव्हान गरेको हो ।

प्राधिकरणले प्रचलित कानुन अनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबार सम्बन्धी सूचना नियमित रुपमा आदान प्रदान गर्नु पर्ने व्यवस्था रहेको जनाएको छ ।

 

कर्जा सूचना केन्द्रल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई सदस्यताका लागि आवश्यक सहजीकरण गरिदिन प्राधिकरणसमक्ष आग्रह गरेको र प्राधिकरणको मंसिर ९ गते सम्पन्न बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि आव्हान गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक डा.शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

सहकारी ऐन २०७४ (संशोधन सहित) को दफा ८१ ले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन अनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबार सम्बन्धी सूचना नियमित रुपमा आदान प्रदान गर्नु पर्ने व्यवस्था रहेको छ ।
ऐनमा भएको व्यवस्था अनुसार वचत तथा ऋणको मुखय कारोबार गर्ने सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्र लिमिटेडसंग आवद्ध गराउन प्राविधिकरणले समन्वय गर्दै आएको जनाइएको छ ।

२०७४ मा जारी भएको सहकारी ऐनमा कर्जा सूचना केन्द्र सम्बन्धी व्यवस्था भए पनि कार्यान्वयनमा नआएका कारण सहकारीको ऋण असुलीमा समस्या भएको थियो ।
बैंक तथा वित्तीय संस्थाबाट लगेको ऋण मिलान गर्ने तर सहकारीको ऋण मिलान गर्न आलटाल गर्ने, ऋण तिर्दिन भन्ने, सञ्चालक र कर्मचारीलाई धम्क्याउने प्रवृति बढ्दै गएको छ ।

केही सहकारीका सञ्चालकले गरेको बदमासीका कारण सिंगो सहकारी अभियानलाई कमजोर पार्नका लागि ऋणीहरुले समयमा ऋण मिलान नगरिदिदा सहकारीहरुलाई वचत फिर्ताको दवाव बढेको छ ।

कर्जा सूचना केन्द्र सञ्चालनसंगै ऋण असुली प्रक्रिया प्रभावकारी बन्ने र सहकारीहरुले वचत फिर्तालाई सहज बनाउदा सिंगो सहकारी अभियानप्रति नै सकारात्मक सन्देश प्रवाह हुने सहकारीकर्मीहरुले बताएका छन् ।