• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

रहरले तरकारी खेतीमा रमाएका मोतीलाल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १० वाखेतका मोतीलाल रोकाले तरकारी खेती गर्न थालेको १८ वर्ष भयो ।

६० वर्षका मोतीलालसँग १६ वर्ष साउदीमा दुख गरेको अनुभव छ । उहाँले ३ रोपनी जमिनमा तरकारी खेती गर्नु भएको छ । मोतीलाललाई तरकारी बारीमा उहाँकी श्रीमती इनामती रोकाले सघाउँदै आउनु भएको छ ।

यतिबेला उहाँको बारीमा आलु, बन्दा, काउली, ब्रोकाउली, गाँजर, लसुन, मुला र अदुवा छ । सिंचाइको समस्याका कारण मौसमी तरकारीमात्र लगाउँदै आएका मोतीलालले यो वर्ष १ हजार ८ सय केजी टमाटर बेचेको बताउनु भयो ।

आजभोली गाउँमै गाडी आउँछन् । तरकारी विक्री गर्न समस्या छैन् । तर, पहिले डोकोमा तरकारी बोकेर बेनी बजार पु¥याउँने गरेको उहाँको अनुभव छ । बिहान ५ बजे ६५ किलोसम्म तरकारी बोकेर बेनी बजारमा बेचेका मोतीलाले आजभोली बारीबाटै जीपमा तरकारी लोड गरेर बेनी बजार पठाउँनु हुन्छ । थोरै थोरै तरकारी गाउँमै विक्री हुने गरेको उहाँको भनाई छ ।

मोतीलालले रोका पशुपंक्षी तथा तरकारी फम समेत दर्ता गर्नु भएको छ । पहिले पहिले घरखर्च चलाउन, छोराछोरी पढाउन र आयआर्जनका लागि तरकारी खेती गरेका उहाँले आजभोली रहरले तरकारी लगाएको बताउनु भयो । रहरको तरकारी खेतीबाट वार्षिक डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको बताउनु भयो ।

सामाजिक संघ सस्था, विद्यालय, टोलका समितिमा समेत सक्रिय भएर सामाजिक काम गर्दै आएका मोतीलालका चार सन्तान छन् । २ छोरी र १ छोरा विदेशमा र १ छोरी बेनी बजारमा रहेको बताउने रोकाले छोराछोरी अब दुख नगर्नुस् भने पनि अल्छी भइन्छ भन्ने डरले तरकारी लगाउने गरेको बताउनु भयो ।

‘शरिरले साथ दिने बेलासम्म काम गर्नुपर्छ,’ रोकाले भन्नुभयो ‘घरको खेतबारीको काम गर्न छोड्ने हो भने रोगी भइन्छ, निरोगी हुन पनि आफुले सकेको काम गर्नु पर्छ ।’

साना साना किसानले गरेको दुखलाई सम्मानजनक मुल्य भने नभएको उहाँको गुनासो छ ।

बजारमा तरकारीको मुल्य सधैँ एउटै हुँदैन । आज ८० परेको टमाटर भोलिपल्टै ६० रुपैयाँमा झर्छ, उहाँले भन्नुभयो त्यो किसानलाई मात्र मुल्य घटेको हो, तरकारी किनेर खानेलाई घटेको होइन्, व्यापारीले मन लाग्दो मुल्य गर्छन् ।