• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

त्रिभुवनको शैक्षिक गुणस्तर बढाउन महायज्ञ

  • २०८२ मंसिर १७, बुधबार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङ स्थित त्रिभुवन माध्यमिक विद्यालयले यही मंसिर २१ देखि २८ गतेसम्म श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । त्रिभुवन माविले व्यवस्थित बहुप्राबिधिक शिक्षालयका रुपमा विकास गर्न र छात्रावास निर्माणका लागि महायज्ञ संचालन गर्ने भएको हो ।

मंगलबार बागलुङमा पत्रकार सम्मेलन गरि विद्यालयले महायज्ञको बारेमा जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुषालले पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएपछि प्राबिधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको बताउनुभयो । अहिले बाली विज्ञान पढाई हुँदै आएको भन्दै अन्य विषय पनि पठनपाठन गर्नु पर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

यहाँ हाल एक हजार १८७ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यस विद्यालयमा सामान्य परिवारका विद्यार्थी पढ्ने भन्दै धेरैले छात्रावासमै बस्न चाहने उनको भनाइ छ । अहिले सामान्य रुपमा छात्रावास संचालन गरे पनि व्यवस्थित गर्न नसकिएको अध्यक्ष भुषालले बताउनुभयो । महायज्ञ पश्चात संकलन भएको रकमले व्यवस्थित छात्रावासका लागि पूर्वधार निर्माण गरिने उहाँको भनाइ छ ।

अध्यक्ष भुषालले भन्नुभयो ‘त्रिभुवन माध्यमिक विद्यालय जिल्लामै उत्कृष्ट छ, तर अझै पनि धेरै आवश्यकताहरु छन्, ति पूरा गर्नका लागि हामीहरुसँग स्रोत छैन, अहिले पनि सीमित दरबन्दी मात्रै छ, तर हामीहरुले विभिन्न स्रोतबाट शिक्षक कर्मचारी राखेर काम गरि रहेका छौँ, छात्रावास व्यवस्थित गर्ने, बहुप्रबिधिक शिक्षालयका रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेका हौँ ।”

महायज्ञबाट रु पाँच करोड संकलन गर्ने लक्ष्य लिएको अध्यक्ष भुषालले बताउनुभयो । महायज्ञ सुरु नहुँदै सहयोग आउन थालेको उहाँ बताउँनुहुन्छ । महायज्ञ सम्पन्न गर्नका लागि रु करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

  • २०८२ मंसिर १७, बुधबार