• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

पीडा उही छ

मानौं … कुनै पुरानो घण्टी,
वर्षौँदेखि नबजाए पनि,
भित्र कतै भने निरन्तर बजिरहेछ
धड्कनसँगै, साससँगै एकनास

दर्द पनि त्यही पो छ
अर्को रूप, अर्को अनुहारमा,
तर उही तिखो धारले हरेक दिन
मनको एक एक टुक्रा काट्दै जान्छ
हरेक क्षण रेट्दै जान्छ मुटु रित्याउन
मानौँ अब राख्नुपर्ने चिज केही बाँकी छैन
र सिध्याइ रहेछ यसरी
एकएक टुक्रा निकालेर एकनास ।

घाउ त कहिल्यै पुराना हुँदैनन्,
मात्र छाला नयाँ देखिन्छ
भित्रीया चोटहरू फेरिन्छन
र अब पनि उस्तै गरी कराउँछन दर्दहरू
मानौँ खुर्सानी दलिएको छ आलो चोटमा
र लुछि रहेछ वेदनाले सधैँ एकनास

मुटु पनि फरक कहाँ छ र ?
एकै जोडले चस्किन्छ
एकै नासले पोल्छ र झस्कन्छ
मानौं एउटै आँधीले
दुवैका मुटुभित्र दरिलो साम्राज्य जमाएको छ
जेन्जीले सिंहदरबार नियन्त्रणमा लिए झैँ
अलग–अलग मुटु
तर समान धमनी उडाएको छ
र समान घाउ कोरेको छ
समयका बाछिटाले एकनास

फरक त केही कथा मात्रै हो
किनकि
पात्र फरक छन
स्थान फरक छ
समय फरक छ
र
परिवेश फरक छ
तर बेदनाको स्वर ?
मुटु भित्रको सारङ्गीको निला नसाहरुमा
बगिरहेछ वेदनाको चिसो रगत
र
कम्पित ओठले गाइरहेछ र्याईँ र्याईँ र्याईँ
दुवैको हृदयमा एकै किसिमले
बियोगको गीत गुन्जिरहेछ एकनास ।

अब के गर्ने त ??
जीवनको यो यात्रा
न कुनै नक्साले देखाउँछ,
न कुनै बाटोले बिर्साउँछ,
तर
हाम्रो काम त एकै हो
दुखाइलाई काँधमा बोकेर पनि,
अँध्यारो भित्र हात समातेर पनि,
उज्यालो फेला पार्ने प्रयास गर्दै
खरानीमै भएपनि एक बिरुवा उमार्नुछ
फुलाउनु छ एक सुन्दर फूल
फलाउनु छ फेरि अमृत फल
र
देखाउनु छ फेरि सारा दुनियालाई
अघिल्तिरै अघिल्तिरै हिडिरहनुछ
निरन्तर निरन्तर एकनास ।