• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

  • २०८२ मंसिर २४, बुधबार

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्रको काम थालिएको छ । यस अघि बागलुङको बलेवा देखि जैमिनी सम्मको खण्ड कालोपत्र सम्पन्न भइसकेको छ ।

कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा–बलेवा खण्डको कालोपत्र सम्झौता मिति सकिनै लाग्दा शुरु भएको छ । अहिले बलेवा विमानस्थलबाट मालढुङ्गा तर्फ र मालढुङगाको चेकपोष्ट देखि काठेखोलाको पुल तर्फ कालोपत्र गर्न थालिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्लाका इन्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो । उहाँले मंसिर सम्म कालोपत्रको काम गरिने र बाँकी सडक जाडो सकिएपछि फागुनबाट थालिनेगरी मालढुङ्गाबाट कालोपत्रको काम शुरु गरिएको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड तीन वर्षमा कालोपत्रको चरणमा पुगेपनि समस्या ग्रस्त क्षेत्रको रुपमा दब्ल्याङ र कालाखोलामा पहिरो पन्छाउनै बाँकी रहेको छ । सडकको अहिले सम्मको कुल प्रगति ७० प्रतिशत पुगेको हो । २०७९ मंसिरमा दुई वर्षमा सक्नेगरी सम्झौता गरिएको थियो ।

दुई वर्षमा सक्नेगरी खण्ड्का कृष्ण बिएन जेभीसंग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्याद समेत यही २०८२ मंसिर मसान्तमा सकिदै छ । मंसिर मसान्तमा बलेवाको दम्कादेखि विमानस्थल सम्म र मालढुङ्गा देखि दब्ल्याङ सम्मको सडक कालोपत्र भइसकने छ भने बाँकी खण्डमा पूर्वाधार सकेर फागुनबाट सबै सडक कालोपत्र गरिने छ । सम्झौता अवधी सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुत गतिमा काम अघि बढाएर कालोपत्रको चरणमा पु¥याएको हो । पूर्वाधारको काम सकिएको सडकमा कालोपत्र र अन्य स्थामान पूर्वाधार मिर्नाण भइरहेको र पूर्वाधार मिर्नाण समेत अन्तिम चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।

इन्जिनियर गौतमका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि भने एक पटक म्याद थप गरेपछि कालोपत्रको काम थालिएको हो ।

“मंसिर मसानत सम्म तापक्रम पुग्छ, कालोपत्र हुन्छ, त्यसपछि का दुई महिनमा अन्य पूर्वाधार सकिन्छ, चैत सम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौं, मंसिर सम्म कार्यप्रगति हेरेर मात्रै म्याद थप हुन्छ, अब एक पटक छ महिनालाई म्याद थपे सम्पन्न हुने देखिएको छ” इन्जिनियर गौतमले भन्नुभयो “कालोपत्रको काम शुरु भएकाले म्याद थप गरेर सम्पन्न गछौं ।”

गौतमका अनुसार अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु.५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधारको काम अन्तिम चरणमा पु¥याएर कालोपत्रको काम थालेको निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिनुभयो ।

अहिले ठूला उपकरण परिचालन गरेर कालोपत्रका लागि दुई तर्फबाट काम भइरहेको काफ्लेले जानकारी दिनुभयो । सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, ढलान गर्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने सम्पन्न भएको स्थानमा सडक कालोपत्रको काम थालिएको छ ।

  • २०८२ मंसिर २४, बुधबार