सन्देश खरेल, नवलपुर
दगातुन्डाँडा सम्पर्क समाज नवलपुरको प्रथम साधारण सभा तथा अधिवेसन गैंडाकोट नगरपालिका– १३ मा सम्पन्न भएको छ । बागलुङ जिल्लाको मध्यपश्चिममा रहेको साविक दगातुन्डाँडा गाविस हाल बडिगाड गाउँपालिकाबाट नवलपुर जिल्ला भित्र बसाइराइँ गरी गएका नागरिकहरु एक जुट भएका छन् । दगातुन्डाँडा घर भई नवलपुर बस्नेहरुको सक्रियतामा २०८० साल भदौमा भएको प्ररम्भिक भेलाले समाजलाई वैधानिकता प्रदान गरेको थियो ।
दगातुन्डाँडा क्षेत्रमा बसोबास गर्ने तथा विभिन्न ठाउँमा रहेका समुदायबीच आपसी सद्भव,सहयोग,समन्वय र पहिचान कायम गर्न, विकास, शिक्षा, स्वास्थ्य, संस्कृतिक संरक्षण तथा युवाहरुको क्षमताको प्रवद्घनजस्ता महत्वपूर्ण क्षेत्रहरुमा सामुहिक रुपमा काम गर्ने उदेश्यले समाजको गठन भएको थियो । दगातुन्डाँडाको पहिचान र संस्कृतिलाई अझ सुन्दर, समृद्ध र अवसर सहितको समुदाय निर्माण गर्नका लागि हरेक कदममा दिगो विकास, सामाजिक न्याय, पारदर्शी नेतृत्व साथै सामुदायीक सशक्तिकरण गर्न यस संस्थाको स्थापना गरिएको हो ।

कार्यक्रमा प्रमुख अतिथि गैंडाकोट नगरपालिका–११ का वडा अध्यक्ष गोविन्द प्रशाद सुवेदीले संस्थाले गरेका कामको उच्च मू्याङ्कन गर्दै आवश्यक परेको बखत स्थानीय निकायबाट हुने सहयोग गर्न हरबखत आफु तत्पर रहेको र आफुले संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
जीवन विज्ञान प्रशिक्षक तथा गण्डकी प्रदेश परिषद् सदस्य कृष्ण कँडेलले जागरण ध्यान विधिको अभ्यास गराउनु भएको कार्यक्रममा दगातुन्डाँडा सम्पर्क समाज रुपन्देहीका अध्यक्ष चाणक्य अधिकारी, बागलुङ गलकोट समाज गैंडाकोटका सचिव यम नारायण चालिसे, समाजका संस्थापक अध्यक्ष दिननाथ अर्याल लगायतले शुकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संस्थाको वार्षिक प्रगाति प्रतिवेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरी पारित गरेको थियो । प्रथम अधिवेशनले पुनः गोकर्णराज मरासिनीकै अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

सो अवसरमा सस्थाको प्रगातिका लागि योगदान गर्ने व्यक्तित्वहरु, कलाकार तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा बागलुङको बडिगाड गाउँपालिका साबिकको दगातुन्डाँडामा रहेको त्रिभुवन मा बि खर्वाङलाई संस्थाको तर्फबाट रु. १० हजार र संस्थाका सदस्यहरु बाट रु.४० हजार गरी एक मुष्ट ५० हजार सहयोग गरिएको थियो ।
सो कार्यक्रममा संस्थाको तर्फबाट सारिका फाउन्डेसन नवलपुरलाई रु. १० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष गोकर्णराज मरासिनी र सचिव नवराज काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।