बागलुङ । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनबाट नया नेतृत्वका लागि आज उमेदवारी दर्ता हुदैछ । मंसिर २७ गतेदेखि शुरु भएको महाधिवेशनको बन्दसत्र जारी छ । आज उमेदवारी दर्ता हुने र भोली मतदान हुने निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचनमार्फत नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहबीच प्रतिस्पर्धा हुदैछ ।
दुवै समुहले प्यानल नै बनाएर उमेदवारी दर्ता गर्दैछन् । उमेदवारी दर्ता गर्नका लागि यतिबेला नेताहरु जुटीरहेका छन् । हालसम्म बागलुङका ८ जना केन्द्रीय सदस्य रहेका थिए । तिम मध्ये एक जना सचिव र सात जना नेता केन्द्रीय सदस्यमा उमेदवार बन्ने भएका छन् । केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा सचिव पदमा उमेदवार बन्ने तय भएको छ । इश्वर पोखरेल समुहबाट सचिव पदमा उमेदवारी दर्ता गर्ने तयारी गरेको सापकोटाले जानकारी दिनुभएको छ । साविकका ७ जना केन्द्रीय सदस्यहरु केपी शर्मा ओली समुहबाट केन्द्रीय सदस्य बन्ने सूची सार्वजनिक भएको छ ।
एमालेका वर्तमान पोलिटव्यूरो सदस्य लिल बहादुर थापा मगर आदीवासी जनजाती समुहबाट तथा पोलिटव्यूरो सदस्य मन कुमारी केसी जिसी खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तै डा.सूर्य पाठक र कृष्ण बहादुर केसी खुल्लातर्फ, गोविन्द बहादुर नेपाली दलिततर्फ, सावित्रा राना आदीवासी जनजाती महिलातर्फ र मञ्जु शर्मा चालिसे गण्डकी भुगोलको महिलातर्फबाट केन्द्रीय सदस्यमा उमेदवार बन्दै हुनुहुन्छ । ओली समुहबाट महासचिवमा शंकर पोखरेल तथा पोखरेल समुहबाट महासचिवमा सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुदैछ ।