• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

सम्पादकीय : एमाले महाधिवेशनको सन्देश

  • २०८२ पुष ४, शुक्रबार

नेकपा एमालेको ११औं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । महाधिवेशन मार्फत् विधिवत रुपमा नयाँ नेतृत्व चयन भए पनि पार्टी नेतृत्व तहमा भने पुरानै अनुहारको बर्चस्व देखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक संकटका कारण सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमाले सत्ताबाट बहिगर्मन मात्र होइन, कलिला विद्यार्थी माथि निर्ममतापूर्वक गोली प्रहार गरेर ज्यान लिएको विषयले बहिष्कृत अवस्थामा पुगेको थियो । यद्यपि, अहिले विस्तारै पुरानै लयमा मुखरित हुने अवस्थामा आइपुगेको छ । सोही अनुक्रममा जेनजी आन्दोलन पछि अस्तव्यस्त बनेका मूलधारका राजनीतिक दल मध्ये नेकपा एमाले लोकतान्त्रिक अभ्यास मार्फत् महाधिवेशन गरेर नेतृत्व चयन गर्न भने सफल भएको छ । र यस महाधिवेशन मार्फत् जेनजी आन्दोलनले विद्रोह र ध्वंस मुलुकले बेहोर्दा नेतृत्व गरिरहेकाहरु नै अनुमोदित भएका छन् ।

केपी शर्मा ओली जेनजी आन्दोलनका बेला मुलुकको प्रधानमन्त्री थिए भने पृथ्वीसुब्बा गुरुङ सूचना तथा सञ्चार मन्त्री प्रवत्ताको जिम्मेवारीमा थिए । अझ यसो भनौ सामाजिक सञ्जाल माथि सञ्चार मन्त्रालयले प्रतिबन्ध लगाए पछि जेनजी आन्दोलित भए । त्यस पश्चात सिर्जित घटनाक्रममा आम रुपमा प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्री मुख्य जिम्मेवार रहेको आरोप थियो, जुन अहिले सम्म पनि कायमै छ । तर, यही क्रममा भएको एमाले महाधिवेशनबाट तिनै ओलीलाई पुनः भारी मतले पार्टी अध्यक्ष र गुरुङलाई सर्वाधिक मत सहित पार्टी उपाध्यक्षमा पार्टी पंक्तिले आफ्नो नेताका रूपमा पुनः अनुमोदन गरेको छ । पहिल्यै अनुमान गरिए जस्तै कमरेड ओली तेस्रो पटकका लागि अध्यक्षमा निर्वाचित भएका छन् । अहिलेको जटिल परिस्थितिका बिच पार्टी जीवनका लागि यसको परिणाम जे–जस्तो आउने भए पनि अध्यक्ष ओलीको राजनीतिक जीवनलाई यसले पुनस्र्थापित गरिदिएको छ । अर्कोतर्फ ओलीले जबरजस्त केन्द्रीय कमिटीको मनमौजी हिसाबले नाम सुनाउने र टाँस गर्छन् कि भन्ने अनुमान र भय थियो । त्यसका विपरित स्वस्थ प्रतिस्पर्धा सहित लोकतान्त्रिक अभ्यास भएको छ । ओलीको मनमौजी र दम्भ माथि ईश्वर पोखरेलले हिम्मत गरेर आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याए । यसै पनि उनलाई नेतृत्वबाट अवकाशको बाटो देखाउने प्रपञ्च विधान महाधिवेशनबाटै गरिएको थियो । तर अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेर पोखरेलले एमालेलाई प्रश्नविहीन भक्तिमार्गतिर जानबाट बाहिर निकाल्न गरिएको पहल र प्रयत्नका निम्ति इतिहासले सम्झने छ । यही शिलशिलामा ओलीको गलत कार्यशैली विरुद्ध उभिएका गोकर्ण विष्ट र योगेश भट्टराईले फरक कित्तामा उभिएर एमालेभित्र जीवनतत्व बाँकी छ भन्ने प्रमाणित गरेका छन् । ओलीका प्रमुख सल्लाहकार रहेका विष्णु रिमालहरु उपमहासचिवमा मात्र होइन, केन्द्रीय सदस्यमा समेत पराजित हुनुले फरक सन्देश प्रवाह गरेको छ ।

नेकपा एमाले लोकतान्त्रिक अभ्यास र प्रयोगका लागि तुलनात्मक अग्रस्थानमा देखियो । नेपाली कांग्रेस लामो समयको अन्यौलता र विवाद पछि महाधिवेशनमा जाने निर्णय त ग¥यो । तर, पुसमा महाधिवेशन हुने टुंगो अझै पनि छैन । अरु मूलधारका पार्टीहरु पनि आन्तरिक लोकतन्त्रको अभ्यासका लागि अलमलिएका छन् । जुन एमालेले अभ्यास सहित आफुलाई अब्बल प्रमाणित गरेको छ । हार्ने र जित्नेहरूका बीचको यो टक्करले एमाले भित्र र बाहिर समाजमा जुन बहस सिर्जना गरेको छ, त्यो अर्थपूर्ण छ । समग्रमा ओली नेतृत्वमा आएपछि रोकिएको पार्टीको आन्तरिक लोकतन्त्रीकरणको प्रक्रियाले फेरि लय समात्ला कि भन्ने आशा पलाएको छ । एमालेको लोकतन्त्रीकरणले अरू दल र समाजमा पनि लोकतान्त्रीकरणको प्रक्रियालाई बलियो बनाउन मद्दत गर्नेछ । जेनजी आन्दोलनको परिवर्तनलाई स्वीकार गर्न नसके पनि जेनजी आन्दोलनको भावना र मर्मलाई आत्मसाथ कसरी गर्छ ? बदलिँदो समयमा एमालेले अब कसरी नीति र नेतृत्वमा भूमिका खेल्छ ? त्यो हेर्न बाँकी छ । तेस्रो कार्यकालको पार्टी नेतृत्वका लागि नवनिर्वाचित अध्यक्ष केपी ओली सहित बागलुङ लगायत धौलागिरीबाट निर्वाचित सम्पूर्णमा सफल कार्यकालका लागि हार्दिक शुभकामना ।

  • २०८२ पुष ४, शुक्रबार