• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङ अथाह संभावनाको खानी छ, लगानी गर्न सके प्रतिफल आउछ : अध्यक्ष ढकाल

  • २०८२ पुष ११, शुक्रबार

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा पर्यटकीय पूर्वाधारको कमी भएको बताउनुभएको छ । अथाह संभावनाको खानी रहेको बागलुङमा लगानी गर्न सके प्रतिफलको कमी नहुँने बताउनुभयो । जिल्लाकै ठूलो मेलाको रुपमा रहेको आठौं बागलुङ महोत्सव शुक्रबार उद्घाटनपछि बोल्दै ढकालले नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य जबरजस्त स्थापित गर्न खोजिएको भन्दै नीजि क्षेत्रले यसलाई चिर्न घरेलु लगानीमै १० अर्बको पूँजी परिचालन गर्न थालिएको बताउनुभयो ।

“कोरला नाकादेखि भारतसंग जोड्ने सुनौली नाका छ घण्टामा छोटिएको छ, बागलुङमा पूँजी बजारको संभावना नै संभावना रहेको छ, नीजि क्षेत्रले लगानी गर्न सके प्रतिफल सुरक्षित देख्दछु” ढकालले भन्नुभयो “जे हे¥यो त्यही स्थानमा संभावना देख्छु, हुँदैन भन्ने भ्रम चिर्न आवश्यक छ, स्वदेशी लगानीमै धेरै काम गर्न सकिने रहेछ, बागलुङको ढोरपाटनदेखि कालीगण्डकीसम्म धेरै संभावना छ, पहिचान गरेर लगानी गर्न आवश्यक छ ।”

ढकालले व्यवसायीलाई पूँजीको अभाव हुन नदिन उद्योग वाणिज्यसंघले सहजीकरण गर्ने बताउनुभयो । ठूला आयोजना स्वदेशी लगानीमै बनेका थुप्रै उदहारण रहेको बताउदै हुन्न भन्ने नकरात्मक भ्रम त्याग्न आग्रह गर्नुभयो ।
बागलुङले महोत्सवका कारण बागलुङ बजार चलायमान भएको छ भने झाँकी तथा बाजा गाजा सहित महोत्सव स्थल बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा नागरिकको बाक्लो उपस्थितिका बीच महोत्सव उद्घाटन गरिएको थियो ।

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउदै उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यल यस पटकको महोत्सव पृथक गराइएको बताउनुभयो ।

पर्यटनको प्रर्बद्धन, जिल्लाको विकास निर्माणमा महोत्सवले सघाउने बताउदै महोत्सवमा ८ लाख देखि १० लाख दर्शकले अवलोकन गर्ने र रु. १० करोड माथीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा झण्डै रु. एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर रु.५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिनुभयो । महोेत्सवमा तयार पारिएका २०० बढी व्यापारिक स्टलहरु भरिभराउ भएका छन् । महोत्सवमा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, संविधानसभासदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बागलुङ उद्योग वाणिज्यसंघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता तथा महासचिव इन्द्रमणी पौडेल र प्रेस सल्लाहकार सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सव पुस २१ गतेसम्म चल्नेछ ।

  • २०८२ पुष ११, शुक्रबार