• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

सेवा प्रवाहलाई सहज बनाउँछौँ, निर्वाचनमा सहयोग गर्नुस् : प्रजिअ आचार्य

बागलुङ । बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आफ्नो प्रमुख उद्देश्य सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने रहेको बताउनु भएको छ ।

बागलुङका पत्रकारसँग परिचयका लागि भेटघाट कार्यक्रमको आयोजना गर्नुभएका प्रजिअ आचार्यले नागरिकलाई छरितो र झण्झटरहित ढङ्गले सेवा दिन आफु र आफ्नो टिम लाग्ने बताउनु भयो ।

शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित राख्न सबै पक्षसँग सहकार्य गर्ने प्रजिअ आचार्यले बताउनु भयो ।

अन्तरक्रियामा पत्रकारहरुले सार्वजनिक सेवा प्रवाहलगायत जिल्लाका विविध समस्याका बारेमा प्रजिअ आचार्यको ध्यानाकर्षण गराएका थिए । प्रजिअ आचार्यले जिल्लामा भइरहेको प्राकृतिक स्रोतको अवैध उत्खनन नियन्त्रण, ट्राफिक व्यवस्थापन, सवारी भाडादरमा भइरहेको मनपरी जस्ता वेथिति अन्त्यका लागि आफूले सक्दो पहल लिने बताउनु भयो ।

उहाँले निर्वाचन नजिकिएको भन्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो । उहाँले सरकार निर्वाचन गराउन अगाडी बढिसकेको भन्दै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रामबहादुर जिसीलगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।