• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

आत्मनिर्भर साना किसान कृषि सहकारीको साधारणसभा

म्याग्दी । मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सहकारीले चाउमिन उत्पादन गर्न थालेको र त्यसले सदस्यहरुका लागि राम्रो गर्ने उहाँको धारणा थियो ।

कतिपय सहकारीहरुले आफूलाइ जोगाउनै मुस्किल भएको अवस्था देखिएको भए पनि आत्मनिर्भरले वार्षिक साधारणसभा आयोजना गर्नु पनि सहकारी ठिक छ भन्ने भएको अध्यक्ष गर्बुजाको धारणा थियो ।

साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशिलताको विकास भन्ने नारा साथ स्थापना भएको सहकारीमा ५३४ जना शेयर सदस्यहरुबाट ६६ लाख ७४ हजार ८ सय रुपियाँ शेयर पुँजी संकलन गरिएको छ । सहकारीले एक करोड ४८ लाख १० हजार ७ सय ३६ रुपैयाँ ऋण प्रवाह गरेको छ । सहकारीबाट गरिएको लगानी मध्ये हालको अवस्थामा खराब ऋणी ४ जना रहेको संस्थाका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । सहकारीले कृषकहरुलाई समेटेर विभिन्न ६३ वटा कृषक समूहहरु गठन गरेको छ ।

सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलबहादुर घर्तीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव अमृत सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा एक जना सञ्चारकर्मी र तीन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।