सम्पादकीय । मुलुकको सबै भन्दा पुरानो दल नेपाली कांग्रेस अन्ततः विभाजित भएको छ । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिमा अघि बढ्ने सवालमा पक्ष विपक्षमा देखिएको कांग्रेस नेता, कार्यकर्ता अन्ततः पार्टी विभाजनको दुर्भाग्यपूर्ण परिघटना बेहोर्न बिबश बनेका छन् । आन्दोलन पश्चात नेतृत्वको पुस्तान्तरण र देशको रुपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको विशेष महाधिवेशनमा उत्रिए भए सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायत विशेष महाविधेशन पक्षधरलाई गलाउने र पार्टी सत्ताको बागडोर आफैसँग राख्नेमा केन्द्रित रहे । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक–पटक आगामी चुनावमा प्रधानमन्त्री घोषणा गरेर जान माग गरे । तर, देउवा पद छोड्न तयार भएन, उनी निकटको संस्थापन पक्षधरले दिएनन् । बरु उल्टै कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि कारबाही ग¥यो । यता विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गर्दैछ ।
कांग्रेसमा आखिर किन यस्तो अवस्था आयो त ? यसका लागि गत भाद्रको जेनजी आन्दोलन, ध्वंसतर्फ फर्किनु पर्ने हुन्छ । जतिबेला जेनजी आन्दोलन, त्यसमाथि चरम दमन भयो । त्यसबेला सत्ताको बागडोरको मुख्य नेतृत्वमा नभए पनि कांग्रेस मुख्य सत्ता साझेदार थियो । अझ मुलुकको गृह मन्त्रालय कांग्रेस नेता रमेश लेखकले नै सम्हालेका थिए । भलै घटना पछि सर्वत्र आलोचना र विरोध भएपछि राजीनामा दिएका थिए । आन्दोलनका क्रममा प्रधानमन्त्री लगायतका केही शीर्षस्थ नेताहरुलाई हेलिकप्टरबाट उद्धार गरियो र सैनिक ब्यारेकहरुमा सुरक्षित राखियो । अरु नेताहरु भागदौड गरिरहे पनि आफ्नै घरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनका पत्नी तत्कालीन परराष्ट्र मन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा माथि घरमै पुगेर प्रदर्शनकारीले रगतम्य हुने गरी कुटपिट र दुव्र्यवहार गरे । दुर्दान्त अवस्थामा नेपाली सेनाले उद्धार गरेर लामो उपचार पश्चात सामान्य अवस्थामा फर्किएका देउवाले तत्कालका लागि सक्रिय राजनीतिबाट विदा हुने उद्घोष गरे । र, कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । विस्तारै जेनजी आन्दोलनको सरगर्मी सेलाउँदै जान थाले पछि देउवा पुनः सक्रिय देखिए । यसबाट भयभित बनेका महामन्त्रीद्धय गगन र विश्वप्रकाश शर्माहरुले जेनजी आन्दोलनको भावना, मर्म र सन्देशलाई आत्मसाथ गरेर जाने दृढता देखाए । यसलाई कुनै पनि हालतमा रोक्नेमा संस्थापन पक्ष देखियो । यही विषयलाई लिएर एकले अर्को पक्षलाई किनाराकृत गर्ने लडाइँमा पार्टी विभाजनको अवस्थामा पुग्यो ।
निर्वाचनको माहोल तातिएको बेलामा कांग्रेसमा जुन विभाजन देखिएको छ, यसले निर्वाचन मात्र अनिश्चितता होइन, देश नै थप अनिश्चिततामा जाने हो कि भन्ने भय र सन्त्रास पैदा भएको छ । हुन त कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको तथ्य कुरा हो । तर, अब यसको कुन आधिकारिकता हो भन्ने मुख्य फैसला निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गर्नुपर्नेछ । बहुमत केन्द्रीय सदस्य भएको संस्थापन समूह र विशेष महाधिवेशन पक्षधर दुबैले निर्वाचन आयोगमा पत्र पठाइसकेका छन् । यहीबाट आधिकारिताको लडाइँ सुरु भइसकेको छ । ज्ञानेन्द्र शाहको शासनकालमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेप्दै अघि बढेका गगन थापालाई कांग्रेसभित्र सुधारका एजेन्डा राख्दा विद्रोह हुँदै विभाजनसम्म खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ । अब दुबै समूहलाई बहुमत सदस्य आफ्नो पक्षमा देखाएर विभाजनको औचित्य पुष्टि गर्नुपर्ने गहन चुनौती छ । यसमा कसले राजनीतिक,कार्यनीतिक सवालमा अब्बलता र नतिजा हासिल गर्छ ? त्यसका लागि भने केही समय प्रतीक्षा गर्नै पर्ने हुन्छ ।
