बागलुङ | राष्ट्रिय जनमोर्चाले बागलुङ क्षेत्र नं. १ मा कृष्ण अधिकारीलाई उमेदवार बनाउने निर्णय गरेको छ । राजमोका पूर्व केन्द्रीय सचिव तथा विद्यार्थी संगठन अनेरास्ववियू छैठौका पूर्व अध्यक्ष अधिकारीलाई उमेदवार चयन गरिएको राजमोले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर निवासी अधिकारी लामो समयदेखि बामपन्थी आन्दोलनमा सक्रिय रहदै आउनु भएको छ ।
गत संसदीय निर्वाचनमा राजमोका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी विजयी भएको क्षेत्रबाट फागुन २१ गते हुने निर्वाचनका लागि अधिकारीलाई अगाडि बढाइएको छ ।
२०७९ को निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस लगायत ५ दलीय गठबन्धनबाट केसी निर्वाचित हुनु भएको थियो ।
बागलुङ क्षेत्र नं. २ को उमेदवारका विषयमा छलफल भैहरेको राजमो स्रोतले जनाएको छ ।
बागलुङमा २०५१ सालको मध्यावधी निर्वाचनदेखि नै राजमो र एमाले मिलेर चुनाव लड्दै आएका छन् । २०७४ मा राजमो, एमाले र माओवादीबीच गठबन्धन हुदा यो क्षेत्रमा एमालेका डा.सूर्य पाठक विजयी हुनु भएको थियो ।
यस पटक एमालेले जिल्ला अध्यक्ष हिरा बहादुर केसी र नेकपाले केन्द्रीय सदस्य कृष्ण केसीलाई अगाडि बढाएको छ ।
बाम तालमेलका बारेमा छलफल भैरहेको स्रोतले बताएको छ । एमालेसंग तालमेल नभएमा नेकपा र राजमोबीच एक एक वटा क्षेत्र लिएर तालमेल गर्ने चरणमा रहेको जनाइएको छ ।
तालमेल हुदा क्षेत्र नं. १ मा राजमोका अधिकारी र २ मा नेकपाका ज्ञामनाथ गैरे अनिल उमेदवार रहने संभावना रहेको छ ।