बागलुङ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई फागुन ११ गतेभित्र अनिवार्य रुपमा प्राधिकरणमा आवद्ध हुन आव्हान गरेको छ ।
प्राधिकरणले माघ १३ गते सार्वजनिक सूचनामा मार्फत बचत तथा ऋणको मुख्य कारोबार गर्ने बचत तथा ऋण सहकारी, कृषि, बहुउद्देश्यीय लगायतका अन्य प्रकृतिका सहकारी संस्थाहरुलाई आवद्धताका लागि आव्हान गरेको हो ।
प्राविधिकरणबाट इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा मापदण्डको दफा ४ को उपदफा ३ बमोजिम कार्वाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ । अनुमति नलिइ कारोबार गर्ने सहकारीहरुलाई धितो रोक्का वा दृष्टिबन्धक गर्ने कार्यमा, करचुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य हुन, वार्षिक बाह््रा लेखापरीक्षण गर्ने कार्यमा जटिलता आउन सक्नेमा प्राधिकरणले सहकारीहरुलाई सचेत बनाएको छ ।
प्राविधिकरणमा आवद्ध नहुने सहकारीको कारोबार रोक्का हुन सक्ने, ठगीमा कारवाही हुन सक्ने, संस्थाको दर्ता खारेजी हुन सक्ने चेतावनी प्राविधिकरणले दिएको छ । सहकारी ऐनको दफा २० (क) बमोजिम दर्ता तथा वर्गिकरण गर्ने जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई तोकिएको विषयमा सूचनामार्फत ध्यानाकर्षण गराइएको छ ।
ऐनको प्रावधान अनुसार प्राधिकरणले २०८२ असोज १० गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण सम्बन्धी मापदण्ड (संशोधन सहित) जारी गरेको र मंसिर १० गतेदेखि दर्ता तथा अभिलेखीकरण प्रक्रिया शुरु गरिएको सूचनामा उल्लेख छ ।
