म्याग्दी । गण्डकी प्रदेश नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी मध्ये म्याग्दीका २५ वटा सहकारी निष्क्रिय रहेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा म्याग्दी जिल्लाको बेनीमा माघ १५ गते बिहीवार सम्पन्न भएको सहकारी सम्बन्धी अन्तक्र्रिया गोष्ठीमा निष्क्रिय सहकारीहरुको बारेमा जानकारी गराइएको हो ।
लेखापरीक्षण गरी सक्रिय हुन सक्ने अवस्था नभएका, साधारणसभा गर्न नसक्ने निष्क्रिय सहकारीहरुले लिनुदिनु पर्ने दायित्व भए फरफारक गरी साधारणसभाबाट निर्णय गरेर खारेजीको लागि कार्यालयमा लेखी पठाउन रजिष्ट्रार कार्यालयले निर्देशन गरेको छ ।
विभिन्न प्रयोजनका लागि सहकारीहरु दर्ता भएका छन्, प्रयोजन अनुसार सञ्चालनमा नरहेका सहकारीहरुलाई सक्रिय बनाउनका लागि सञ्चालकहरुलाई आग्रह गरेका छौ, निर्देशन दिएका छौ, पटक पटकको निर्देशनलाई वेवास्ता गर्ने र सक्रिय पनि नहुने सहकारीहरुको दर्ता खारेजी पनि गर्न थालेका छौ, रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले भन्नुभयो,–‘निष्क्रिय संस्थाहरुको दायित्व सञ्चालकको जिम्मा रहने गरी खारेज गर्न थालेका छौ ।’
गण्डकी प्रदेशको नियमन क्षेत्राधिकारभित्र हाल ८ सय ८० सहकारी संघ संस्था रहेकोमा ५८८ सहकारी संघ संस्थाले मात्र अद्यावधिक गरेकाछन् । २९२ सहकारी अझै निष्क्रिय रहेको रजिष्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो ।
गोष्ठीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले सहकारी संस्था मर्यादित भएमा समुन्नत समाज निर्माणका लागि बलियो आधार तय हुने भएकाले सहकारीहरुलाई व्यवस्थित गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले राज्यले सहकारीको साख बढाउनका लागि समस्यामा रहेका सहकारीले ऋण असुली गर्न र बचत फिर्ता गर्नमा विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सहकारीले पर्यटन प्रवर्धन, उत्पादन, उत्पादकत्व र आयात प्रतिस्थान जस्ता नयाँ क्षेत्रमा समेत कार्य गरी संविधान र कानुनी परिकल्पना साकार पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता पौडेल, रजिष्ट्रार रिजाल र तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । रजिष्ट्रार रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले स्वागत, र प्रशासकीय अधिकृत अमृत कडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सहकारीकर्मीहरु सुदर्शन कुमार श्रेष्ठ, प्रभा शर्मा, हरि पौडेल लगायतले सहकारी संस्थाका समस्याका सम्बन्धमा जिज्ञासा, सुझाव एवं धारणा राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापक गरी ८० जनाको सहभागीता रहेको थियो ।
कार्यपत्र प्रस्तोताहरूले गण्डकी प्रदेश सहकारी कानुन र कार्यान्वयनको अवस्था, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नियामकीय मापदण्ड र सहकारी सञ्चालन व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेको जानकारी सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराका सूचना अधिकारी अमृत कडेलले जानकारी दिनुभयो ।
