बागलुङ । पश्चिम बागलुङ (क्षेत्र नं. २) मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेल मतदाता रहेको पालिकाबाट थप ४ जना उम्मेदवार रहेका छन् । निसीखोला गाउँपालिकाबाट ५ जना उम्मेदवार रहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसे र दुइ बाम दलका साझा उम्मेवार (नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा) ज्ञामनाथ गैरे (अनिल) एउटै पालिकाका मतदाता रहनु भएको छ । शर्मा र गैरेले पनि पालिकाकै अर्को एकजना उम्मेदवारसंग पालिकावासीको मतका लागि प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार पौडेल निसीखोला गाउँपालिका वडा नं. ४ का बासिन्दा हुनुहुन्छ । पौडेलकै पालिका निसीखोला गाउँपालिका वडा नं. ३ का अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार हुनुहुन्छ । शाहीले हलो चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । यस्तै जाँतो चिन्ह लिएर जनता समाजवादी पार्टीबाट निसीखोला गाउँपालिका वडा नं. ६ का पूर्ण बहादुर घर्ति मगर, आँखा चुनाव चिन्ह लिएर प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट पदम बहादुर कुँवर र उडिरहेको मौरी चुनाव चिन्ह लिएर नेशनल रिपब्लिक नेपाल पार्टीबाट निसीखोला गाउँपालिका वडा नं. ५ का नर बहादुर बुढा उम्मेवार बन्नु भएको छ ।
एउटै पालिकाबाट ५ जना उम्मेदवार भएकाले कांग्रेसका उम्मेदवार पौडेललाई आफ्नै पालिकाका उम्मेदवार चुनौती बन्न सक्ने स्थानीयले बताएका छन् । नेकपा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसे गलकोट नगरपालिका वडा नं. ३ हटिया र नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे गलकोट नगरपालिका वडा नं. ६ निवासी हुनुहुन्छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट गलकोट नगरपालिका वडा नं. ११ निवासी हर्क बहादुर पुन उम्मेदवार बन्नु भएको छ ।
मुख्य प्रतिस्पर्धीका रुपमा रहेका ३ मुख्य दलका उम्मेदवारहरुलाई आफ्नै पालिकाका अन्य उम्मेदवारहरु चुनौती बन्न सक्ने पश्चिम बागलुङका राजनीतिक कार्यकर्ताहरु बताउछन् ।
पश्चिम बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ नगरपालिका वडा नं. ३ निवासी सोम शर्मा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीले म्याग्दे गाउँपालिका–१ तनहुँका जुन बहादुर थापा मगर, नेपाल मानवतावादी पार्टीले ढोरपाटन नगरपालिका वडा नं. ८ का टेक प्रसाद कामी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कावासोती नगरपालिका वडा नं. ९ नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का लोकेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ ।
पश्चिम बागलुङमा मुख्य चार पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको स्थानीयले बताएका छन् । चुनावी माहोलमा एउटै पालिकाबाट ५ जना र अर्कोबाट ३ जना उम्मेदवार हुदा नेपाली कांग्रेसका उम्मेदवार पौडेल, एमालेका उम्मेवार शर्मा चालिसे र नेकपाका उम्मेदवार गैरेलाई चुनौती थपिएको छ । अर्को प्रतिस्पर्धी दल रास्वपाले भुगोल भन्दा बाहिरबाट उम्मेदवार बनाएकाले शर्मालाई भुगोलको चुनौती छ ।
पश्चिम बागलुङमा यस भन्दा पहिला पटक पटक गैर भुगोलका व्यक्तिहरु सांसद बन्दै आएका थिए, रास्वपालाई गैर भुगोलको उम्मेदवार उठाएको चुनौती रहेको देखिन्छ । एमालेका उम्मेदवार चालिसे २०७९ को निर्वाचनमा पनि उम्मेदवार रहनु भएको थियो । तत्कालिन ५ दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसंग पराजित भएकी चालिसेलाई एमालेले दोस्रो पटक उम्मेदवार बनाएको छ । अन्य उम्मेदवारहरु सबै पहिलो चोटी चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् ।
कांग्रेसका उम्मेदवार पौडेल विद्यार्थी राजनीतिबाट उदाउनु भएको हो । नेकपाका उम्मेदवार गैर सशस्त्र द्वन्द्वमा बागलुङ जिल्ला सेक्रेटरी रहेर काम गर्नु भएको थियो । गैरेले २०६४ यता बागलुङमा हुने निर्वाचनमा संयोजनको जिम्मेवारी सम्हाल्नु भएको छ । रास्वापाका उम्मेदवार सोम शर्मा आफुलाई अभियन्ता भन्न रुचाउनु हुन्छ । जेन्जी आन्दोलनमा अग्रभागमा रहेका शर्मा जेन्जी प्रतिनिधिका रुपमा उम्मेदवार रहनु भएको छ ।
