• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङमा दलहरुले शुरु गरे औपचारिक प्रचार अभियान

  • २०८२ फाल्गुन ४, सोमबार

 बागलुङ

निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलहरुले आजदेखि औपचारिक प्रचार अभियान शुरु गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार आज फागुन ४ गतेदेखि औपचारिक रुपमा प्रचार प्रसार गर्न पाइने, चुनावी खुल्ला सभा राख्न पाइने भएपछि आजदेखि राजनीतिक दलहरुले झण्डा, नारा जुलुश सहित मत माग्न शुरु गरेका छन् ।

यद्यपी आचारसंहिता लाग्ने समयमा पनि दलका नेता, उम्मेदवार लगायत कार्यकर्ताहरुले चुनाव केन्द्रीत अभियान जारी नै राखेका थिए । पूर्वी बागलुङ (क्षेत्र नं. १) मा प्रमुख चार राजनीतिक दलका उम्मेदवारको प्रचार अभियान आक्रामक देखिन्छ, वडा भेला, वडा निर्वाचन परिचालन समिति गठनदेखि मतदाताको घरदैलोमा पुगेर मत माग्ने, पार्टीका नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गरेर प्रचार अभियानमा केन्द्रीत गर्ने कार्यमा दलहरु सक्रिय भएका छन् । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ का विभिन्न वडामा निर्वाचन प्रचार अभियानको शुरुवात गरेको छ । धेरै जसो वडामा आजदेखि प्रचार अभियान शुरु भएको छ, केही वडामा भोली र पर्सीदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गर्छौ, एमाले जिल्ला सचिव गणेश बहादुर थापा मगरले भन्नुभयो ।

बागलुङ क्षेत्र नं. १ निर्वाचन परिचालन समितिको निर्णय अनुसार क्षेत्र भित्रका ३७ वटै वडामा निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको र सोही कार्यालयबाट प्रचार अभियानको शुरुवात गरिएको थापाले बताउनुभयो । पार्टीका नेता कार्यकर्ता, समर्थक शुभेच्छुकहरुको सहभागितामा घरदैलो अभियान सञ्चालन गरिएको छ । एमालेले पार्टीका केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुलाई आफ्नो भूगोलमा खट्ने निर्णय गरेको छ । ३७ वटै वडामा उपल्लो कमिटिका सदस्यहरुलाई संयोजनका जिम्मेवारी दिइएको छ, जिम्मेवारी कहाँ कसलाई दिइएको छ भन्ने अहिले सार्वजनिक गरिएको छैन, सचिव थापाले भन्नुभयो,–‘निर्वाचन प्रचार अभियानलाई आन्तरिक रुपमा व्यवस्थित गराउनका लागि दिइएको जिम्मेवारी अनुसार सबै खट्नु भएको छ, यस पटक हामीले जिम्मेवारी दिएको कुरा सार्वजनिक गरेका छैनौ ।’

एमालेका उम्मेदवार हिरा बहादुर केसी २ दिनदेखि जैमिनी नगरपालिकामा रहनु भएको छ । पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटि सदस्यहरु, जिल्ला तथा पालिका कमिटिका पदाधिकारी सदस्यहरु सहित जैमिनीका विभिन्न वडामा केसीले भेटघाट, सम्पर्क कार्यालय उद्घाटन र टोलसभाहरुलाई सम्बोधन गरेको निर्वाचन क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक धन बहादुर परियारले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ का ३७ वटै वडामा एकै पटक विरुवामा पानी सिञ्चित गरेर चुनावी अभियानको औपचारिक शुरुवात गरेको छ । एकै दिन, एकै समय, एकै साथ : चुनाव प्रचारको सन्देश फागुन चार भन्ने नाराका साथ ३७ वटै वडामा चुनावी अभियानको शुरुवात गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो । कांग्रेस रुपान्तरण भएको छ, अब कांग्रेसले मुलुक रुपान्तरणको अगुवाई गर्छ भन्ने सन्देश लिएर कांग्रेसका नेता कार्यकर्ता मतदाताको बीचमा पुगी सकेका छौ्, सचिव शर्माले भन्नुभयो, –‘आजदेखि नारा जुलुश सहित कांग्रेस औपचारिक रुपमा प्रचार प्रसारमा लागेको छ ।’ कांग्रेसबाट बागलुङ क्षेत्र नं. १ का उम्मेदवार भीम श्रीसले आज काठेखोला गाउँपालिकाका विभिन्न वडामा चुनावी अभियानको औपचारिक शुरुवात गर्नु भएको छ । वडा नं. ५ बिहु, वडा नं. ४ तंग्राम र वडा नं. ३ धम्जाबाट चुनावी अभियानको औपचारिक शुरुवात गरिएको हो ।

बिहु, धम्जा र तंग्रामका विभिन्न टोलहरुमा उम्मेदवार श्रीस सहितको टोलीले मतदाताहरुसंग भेटभाट गरेको थियो । पार्टीका केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई एउटा उटा वडाको जिम्मेवारी थियो, त्यही अनुसार सबैले आफ्नो जिम्मेवारी अनुसार वडाबाट औपचारिक अभियान शुरुवात गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का साझा उम्मेदवार कृष्ण अधिकारीले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामबाट चुनाव प्रचार अभियानको शुरुवात गर्नु भएको छ । तंग्रामसंगै सबै वडामा चुनाव प्रचार अभियानको औपचारिक शुरुवात भएको निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाले जानकारी दिनुभयो । उम्मेदवार अधिकारी सहितको टोलीले तंग्रामसंगै धम्जा र भीमापोखरामा घरदैलो, मतदाता भेटघाट गरेको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ बजारमा माइकिङ गर्दै प्रचार शुरु गरेको छ । आजसम्म आन्तरिक भेटघाट गर्ने, मतदातासंग परिचय र मत माग्र्दै आएको रास्वपाले आजदेखि औपचारिक रुपमा प्रचार अभियन शुरुवात गरेको छ । उम्मेदवार सुशिल खड्का सहितको टोलीले आज बागलुङ बजारमा घरदैलो गरी मतदाता भेटघाट गरेकोछ । रास्वपाले भोलीदेखि वडा स्तरीय सम्पर्क कार्यालयहरु शुभारम्भ गरेर प्रचारलाई थप प्रभावकारी बनाउने जनाएको छ । बागलुङ क्षेत्र नं. १ मा उम्मेदवारी दिएका अन्य राजनीतिक दलका उम्मेदवारहरुले पनि चुनाव प्रचार अभियानलाई तिब्र बनाएका छन् । पार्टीका नेता कार्यकर्ता र उम्मेदवार सहितको टोलीले मतदाता भेट्दै आएका छन् ।

  • २०८२ फाल्गुन ४, सोमबार