• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

चित्रबहादुरको बिरासत, नेकपासंगको गठबन्धन : उम्मेदवारको जमानत जफत

  • २०८२ फाल्गुन २४, आईतवार

बागलुङ । बागलुङ बामपन्थीको आधार क्षेत्र हो । पञ्चायतकालदेखि नै बागलुङमा बामपन्थी शक्ति हावी हुदै आएको थियो । यद्यपी बामपन्थीहरुका धेरै चिरा भएका कारण संसदीय राजनीतिमा मिल्दा जित्ने र नमिल्दा हार्ने अवस्था थियो र छ ।

बागलुङको राजनीतिमा चित्र बहादुर केसी ब्राण्ड जस्तै बन्नु भएको छ । सादगी नेता, त्यागी मान्छे, सरल र सहज सार्वजनिक जिवन विताउने केसी २०५१ सालको मध्यावधी निर्वाचनदेखि संसदीय राजनीतिमा सक्रिय रहनु भएको छ । पहिलो पटक बागलुङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका मिन बहादुर केसीसंग पराजित हुनु भएका केसी २०५६ मा सोही क्षेत्रबाट नेकपा एमालेसंगको सहकार्यमा विजयी हुनु भयो । २०६४ मा नेकपा माओवादी केन्द्रको लहर आएको बेला सोही क्षेत्रमा एकल प्रतिस्पर्धा गरेर जित निकाल्नु भएका केसी त्यसयता एक पटक समानुपातिक सांसद, एक पटक उपप्रधानमन्त्री र पछिल्लो समय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य बन्नु भएको थियो ।

केसी मात्रै होइन, राष्ट्रिय जनमोर्चाबाट परी थापा २०५१ र २०५६ मा बागलुङ क्षेत्र नं. ३ बाट सांसद निर्वाचित हुनु भयो । २०५४ को जिल्ला विकास समितिमा राजमोकै तर्फबाट लिला बहादुर थापा मगर सभापति बन्नुभयो । २०७४ मा जिल्ला समन्वय समितिमा राजेन्द्र ढुंगाना, २०७९ मा जिल्ला समन्वय समितिको संयोजकमा अमर बहादुर थापा निर्वाचित हुनु भएको छ ।

पछिल्लो स्थानीय तह निर्वाचनमा गठबन्धनबाट जैमिनी नगरपालिकाको प्रमुख, बरेङ गाउँपालिकाको अध्यक्ष र काठेखोला गाउँपालिकाको उपाध्यक्ष जितेको राजमोले यिनै पालिका रहेको बागलुङ क्षेत्र नं. १ मा यसपटक नेपाली कम्युनिष्ट पार्टीसंगको सहकार्यमा उम्मेदवारी दिएको थियो । राजमोका केन्द्रीय अध्यक्ष, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको विरासत बोकेको बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।

यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा अन्य दल एक्लाएक्लै मैदानमा हुँदा समेत राजमोले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संग गठबन्धन गरेर निर्वाचनमा होमिएपनि जमानत जोगाउन नसकेको हो । नेकपाले क्षेत्र नं. १ मा राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाउने र क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाउने निर्णय भएको थियो । दुइ पार्टीबीच सहकार्य भइरहदा पनि राजमोका उम्मेदवारको जमानत जफत हुनुले सहकार्यमै प्रश्न उब्जिएको राजमोका एक जिल्ला नेताले बताए ।

चित्रबहादुरको विरासत जोगाउन भन्दै मैदानमा आएका कृष्ण प्रसाद अधिकारी चौथो हैसियतमा पुग्नुभएको थियो ।
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था अनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन चार हजार ७०६ मत ल्याउनु पर्ने थियो । अधिकारीको मत चार हजार ५२१ मत मात्रै प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का २० हजार ९२७ मत ल्याएर विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ र एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको थियो ।

जनमात जफत प्रावधान अनुसार विजयी रास्वपाका खड्का, कांग्रेसका श्रीस राना र तेस्रो भएका खत्रीको मात्रै जमानत जोगिएको छ । राजमोका अधिकारी लगायत अन्य ८ जनाले जमानत जोगाउन सकेनन् ।

राप्रपाका कल्याण आचार्यले ५२३ मत, हर्क राईको श्रम संस्कृति पार्टीका लालबहादुर घर्तिले २५४ मत, प्रलोपाका चित्र सापकोटाले ६० मत, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी रानाले ४० मत, नेपाली कम्युनिष्ट पार्टी (माओवादी)का टेक बहादुर केसीको ८० मत, यस क्षेत्रमा सबैभन्दा कम नेपाल मानवतावादी पार्टीका भक्तबहादुर बिकले २४ मतमात्रै ल्याउनुभएको थियो । प्रलोपाका सापकोटाले अन्तिम समयमा उम्मेदवारी निष्क्रिय पार्नु भएको थियो । यद्यपी ६० मत परेको छ ।

यस निर्वाचन क्षेत्रमा ९८ हजार ४६ मतदाता रहेकोमा ४८ हजार ९३२ मत खसेको थियो । त्यसमा १८७१ मत बदर भएको थिए ।

  • २०८२ फाल्गुन २४, आईतवार