• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

सम्पादकीय : रास्वपा र नवनिर्वाचित सांसदलाई हार्दिक बधाई

  • २०८२ फाल्गुन २५, सोमबार

प्रतिनिधि सभाको निर्वाचन निकै अप्ठ्यारो जटिल अवस्था र चुनौतीका बाबजुद पनि जति शान्तिपूर्ण रुपमा सम्पन्न भयो । निर्वाचनको नतिजा पनि नेपाल र नेपालीलाई उस्तै सप्राइज दिने गरी आयो । वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक जित हासिल गरेको छ । यो दल पुराना मूलधारका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, मधेसी दल लगायतलाई पाखा लगाउँदै पहिलो दलको रुपमा मात्र उदाएको छैन, करिब दुई तिहाइको प्रचुर सम्भावना निकट छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै १२३ सिटमा जित हासिल गरेको छ, दुई स्थानमा अग्रस्थानमा छ । उसो त यसअघिको निर्वाचनमा पहिलो दल रहेको नेपाली कांग्रेस अहिले प्रत्यक्षतर्फ जम्मा १७ स्थानमा सीमित छ । दोस्रो ठुलो दल रहेको नेकपा एमाले यसपटक प्रत्यक्षतर्फ मुश्किलले ८ स्थानमा जितेको छ । राप्रपा नेपालले जुम्लामा मात्र एक स्थानमा जितेको छ र, समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाए राष्ट्रिय पार्टी बनेर केही सांसद थपिने सम्भावना छ । हर्कराज साम्पाङ नेतृत्वको श्रमशक्ति पार्टीबाट भने प्रत्यक्षतर्फ ३ स्थानमा जित र ३ स्थानमा अग्रता लिए पनि समानुपातिकतर्फ भने थ्रेस होल्ड कट्ने सम्भावना कमजोर छ ।

देशव्यापी रुपमा रास्वपा र उक्त पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्रीको रुपमा घोषणा गरिएका बालेन्द्र शाहको पक्षमा चामत्कारिक जनलहर देखियो । बालेनले त पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्तरले जितेर रेकर्ड कायम गरे । गण्डकी प्रदेश र धौलागिरी क्षेत्रकै नतिजा हेर्ने हो भने पनि रास्वपामय बन्यो । नेकपा एमाले त गण्डकीबाट क्लीन स्वीप नै भयो । नेपाली कांग्रेसले भने मुस्ताङ र मनाङबाट आफ्नो अस्तित्व जोगायो । धौलागिरीको बागलुङका दुवै क्षेत्र, पर्वतमा रास्वपा उम्मेदवारले जित हासिल गरे । पर्वतमा सागर भुसालले जिते भने म्याग्दीमा रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवार महाविर पुनले जिते । बागलुङ क्षेत्र नम्बर १ मा शुशिल खड्काले सहज बिजयी हासिल गरे भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेससँगको तीव्र प्रतिस्पर्धाका बाबजुद रास्वपाबाट सोम शर्माले जित हासिल गरे । सामाजिक अभियन्ताको छवि बनाएका शर्मा जेनजी आन्दोलनमा पनि प्रत्यक्ष सहभागी थिए । यो क्षेत्रमा कमजोर आँकलन गरिएको रास्वपा र उम्मेदवार शर्माले जित निकालेर साँच्चिकै सप्राइज दिएका छन् ।

बागलुङ जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । रास्वपाले ३७ हजार १ सय २३ मत ल्याएको छ । दोश्रो हुने कांग्रेसले २१ हजार ४ सय ९५, एमालेले १४ हजार १ सय ५९ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ९ हजार १ सय १३, राष्ट्रिय जनमोर्चाले ६ हजार ८ सय ३५, राप्रपाले १ हजार २ सय १७ मत मात्रै पायो । उम्मेदवार नभएको श्रम संस्कृति पार्टीले भने १४ सय ५ मत पाएको छ । अन्य दलको मत भने नगन्य छ । रास्वपाले बागलुङ सहित जुन खालको चामत्कारिक जित हासिल गरेको छ । यो साँच्चिकै अभूतपूर्व छ । पुराना दल र नेताहरुले गरेको मनपरीको खिलापमा अहिलेको विद्रोह हो । सत्ता र शक्तिका लागि जे पनि गर्न तयार भएका कारण व्याप्त बेथितिबाट आजित नागरिकले यसपटक ब्यालेट मार्फत् रास्वपालाई बहुमत मात्र दिएका छैनन्, पाँच वर्षका लागि ठुलो भरोसा लिएका छन् । अब पनि रास्वपा र अहिले निर्वाचित सांसदहरुले देश र आफ्नो जिल्ला, नागरिकका हितका खातिर प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न सकेनन् भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुनेछ । चरम निराशा र बेथितिबाट आक्रान्त नेपालमा अब बन्ने सरकारले कुनै पनि बाहनामा आम अपेक्षा विपरित काम गर्ने छुट छैन । अतः बागलुङबाट पुराना दलका वर्षौदेखि राजनीतिमा समर्पित उम्मेदवारलाई पराजित गर्दै नयाँ दलको रुपमा रास्वपाबाट बिजयी बनाएका शुशिल खड्का, सोम शर्माले संसदमा जिल्लाको उपस्थितिलाई प्रभावकारी बनाउन् । अहिलेका लागि नवनिर्वाचित खड्का, शर्मा सहित सबैलाई हार्दिक बधाई ।

  • २०८२ फाल्गुन २५, सोमबार