बागलुङ फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा नेकपा एमाले अत्यन्तै अलमलमा देखिन्थ्यो । जेनजी आन्दोलनका सन्दर्भमा फरक मत राख्दै आएको एमाले प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा थियो । यद्यपी सबै राजनीतिक दलहरु चुनाव केन्द्रीत हँुदै जानु र सरकारले चुनाव गराउने तयारी व्यापक बनाएपछि एमाले जवरजस्ती चुनावमा होमिएको थियो ।
चुनावमा एमाले जसरी अलमलका साथ होमिएको थियो, त्यसै गरी चुनावी अभियान पनि निकै अलमलमा थियो । पार्टीका अध्यक्ष तथा भावी प्रधानमन्त्रीमा प्रस्तावित केपी शर्मा ओलीलाई चुनावी क्षेत्रमा ल्याउदा मत घट्छ भन्ने मनोविज्ञान एमालेका कार्यकर्ता मात्र होइन, ओलीको किचनका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेश चुनावी कमाण्डरहरु र स्वयं उम्मेदवारहरुमा थियो ।
रास्वपाका बालेन्द्र शाह अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिस्पर्धाका लागि गएपछि ओली र उनको खास टिमको सम्पूर्ण ध्यान झापामा थियो । लडाईमा होमिएको पल्टनका सेनाहरुले सेनापतिको नामै लिन नसक्ने अवस्थाले एमाले तेस्रो पार्टी हुने आंकलन धेरैले गरेका थिए, तर यति धेरै खुम्चिन्छ भन्ने एमालेजन मात्रै होइन, स्वयं जित निकाले रास्वपाका नेताहरुलाई पनि थिएन होला ।
यतिबेला एमालेको मत परिणामलाई लिएर अध्यक्ष केपी शर्मा ओलीलाई कोस्नेहरुको संख्या अत्यन्तै बढेको छ । पार्टी भित्र ओलीको आगामी १० वर्षसम्म विकल्प नदेख्ने, ओली नै एमालेको ब्राण्ड हो भन्नेहरु समेत यतिबेला ओलीका कारण चुनावमा हारिएको बताउन थालेका छन् । भारतमा नरेन्द्र मोदी र चिनमा सि जिनपिङकै हैसियतमा ओलीलाई देख्ने ओली किचेन क्याबिनेटप्रति नै यतिबेला आम एमाले नेता कार्यकर्तामा आक्रोश देखिन थालेको छ । ओली निकटका पदाधिकारीहरु, युवा संघ, प्रेस चौतारी लगायतका भातृ संगठनहरुको आवश्यकता भन्दा बढी प्रचार र गलत सल्लाहका कारण एमालेको यो अवस्था आएको तलका कार्यकर्ताहरु बताउछन् ।
नवौ महाधिवेशनबाट जम्मा एक पटकका लागि भन्दै अध्यक्ष भएका ओलीले पहिलो पटक मुलुकको प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको सामना गरेर पार्टी र आफ्नो पहिचान ह्वात्तै बढाएका थिए । २०७४ को आम निर्वाचन पूर्व तत्कालिन नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल र चुनाव जितेर करिव २ तिहाइको प्रधानमन्त्री बनेपछि २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरेर नेकपा बनाएपछि त ओली शक्तिशाली पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ।
पार्टी एकतालाई जोगाउन नसक्दा २०७७ पुस ५ गते संसद विघटन गर्ने अवस्थामा पुगेका ओलीले पार्टीलाई पुरानै अवस्थामा पु¥याउने गरी अगाडि बढे । दोस्रो पटक अध्यक्ष भएपछि २०७९ को निर्वाचनमा पाच दलीय गठबन्धन हुदा पनि ओलीले पार्टीलाई दोस्रो मात्र बनाएनन्, शसक्त र निर्णायक बनाए । २०७९ पछिको सत्ता समिकरणमा निर्णायक बनेका ओलीले कहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने, कहिले कांग्रेससंग मिलेर आफै प्रधानमन्त्री बन्ने गर्न थालेपछि जनता चिढिए ।
कांग्रेससंगको सहकार्यकै बेला उनी आफै प्रधानमन्त्री रहेकै समयमा विधान महाधिवेशन गरेर पार्टीको नेतृत्वमा ७० वर्ष पछि बस्न नपाइने र २ कार्यकाल अध्यक्ष हुन नपाइने नियम परिवर्तन गराएपछि भएको जेनजी आन्दोलनले कांग्रेस सहितको ओली सरकार बर्खास्त गरिदियो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पार्टीको एघारौ महाधिवेशन गरेर अध्यक्षमा तेह्रिएका ओली ३ महिना पछि भएको प्रतिनिधिसभा निर्वाचनमा आफु मात्रै पराजित भएका छैनन्, एमालेले हालसम्मकै कमजोर र रक्षात्मक बन्ने अवस्था सिर्जना भएको छ । उनले चाहेर जिताएका १७ सहित १९ जना पदाधिकारीहरु मध्ये एक जनाले मात्र आफ्नो गृह जिल्ला जिताउन सकेका छन् अन्य १८ जना पदाधिकारी मध्ये २ उपाध्यक्ष, एक उपमहासचिव र ४ सचिवको त प्रदेश नै निल भएको छ ।
१. केपी शर्मा ओली, अध्यक्ष
पार्टी अध्यक्ष ओली झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसंग पराजित भएका छन् । बालेन्द्रले ६८ हजार ३४८ मत ल्याएर विजयी हँुदा ओलीले जम्मा १८ हजार ७३४ मत पाएका छन् । ४९ हजार ६१४ मतको अन्तरमा पराजित भएका ओलीले आफ्नो जिल्लाका ५ सिट पनि गुमाएका छन् ।
२. राम बहादुर थापा (बादल), उपाध्यक्ष
उपाध्यक्ष थापा समानुपातिकतर्फ जनजाती पुरुषको पहिलो नम्बरमा बसेका छन् । अध्यक्ष पराजित भएकाले थापा एमालेको संसदीय दलको नेता बन्ने आंकलन गरिएको छ । एमालेको चुनावी कमाण्डर बनेका बादल चुनावमा भने खासै देखिएनन्, सनिएनन् ।
३. विष्णु प्रसाद पौडेल, उपाध्यक्ष
उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेल रुपन्देही क्षेत्र नं. २ बाट फराकिलो मतान्तरले पराजित भएका छन् । उनले १२ हजार ८६२ मत ल्याउदा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् । पौडेलको जिल्लाका ५ वटै क्षेत्रमा रास्वपा विजयी भएको छ ।
४. पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष
उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री, गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ लमजुङबाट पराजित भए । उनले १६ हजार ८७६ मत ल्याउदा रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत ल्याएर विजयी भए । एमालेमा संभावित अध्यक्षका रुपमा प्रचार गरिएका र गण्डकीमा संस्थापक मुख्यमन्त्री भएर लोकप्रिय बनेका गुरुङ आफु लमजुङबाट पराजित मात्रै भएनन्, गण्डकीका १८ वटै क्षेत्रमा पार्टीलाई जिताउन सकेनन् ।
५. गोकर्ण विष्ट, उपाध्यक्ष
उपाध्यक्ष विष्ट गुल्मी क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धाका बीच पराजित भए । विष्टले १६ हजार ४०६ मत ल्याउदा रास्वपाका गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याए । एमालेका पदाधिकारीहरुमा सबै भन्दा कम ५६१ मतले पराजित हुनेमा विष्ट रहेका छन् ।
६. रघुजी पन्त, उपाध्यक्ष
उपाध्यक्ष रघुजी पन्त चुनावी प्रतिस्पर्धामा थिएनन्, उनको जिल्ला ललितपुरका २ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
७. शंकर पोखरेल, महासचिव
एमालेका शक्तिशाली महासचिव पोखरेल दाङ क्षेत्र नं. २ बाट फराकिलो मतान्तर सहित पराजित भए । उनले १५ हजार ५५८ मत ल्याउदा उनका प्रतिस्पर्धी रास्वपाका विपिन कुमार आचार्यले ४३ हजार ८२२ मत ल्याएर विजयी भए । दाङका दुवै क्षेत्रमा एमाले पराजित भयो । ओलीका खास भनिने पोखरेल वैचारिक नेता हुन्, पछिल्लो समय बलियो राष्ट्रिय शक्तिका व्याख्याता उनी नेपाली कांग्रेससंगको सहकार्यका पनि योजनाकार हुन् ।
८. योगेश भट्टराई, उपमहासचिव
उपमहासचिव भट्टराईले टिकट पाएनन्, अघिल्लो पटक ताप्लेजुङबाट विजयी भएका भट्टराईलाई टिकट नदिनुको कारणका बारेमा अध्यक्ष ओलीले पराजित हुने डरले नदिएको बताएका थिए । टिकट नपाएका भट्टराइले आफ्नो जिल्लाबाट क्षितिज थेवेलाई जिताउन सफल भएका छन् । निर्वाचन परिचालनका औपचारिक जिम्मेवारी नभए पनि भट्टराईले देशभरका एमाले उम्मेदवारको पक्षमा मत माग्ने, प्रचार गर्ने काम गरेका थिए ।
९. रघुबिर महासेठ, उपमहासचिव
उपमहासचिव महासेठ धनुषा क्षेत्र नं. ४ मा तेस्रो भएका छन् उनले ११ हजार ५२९ मत ल्याउदा रास्वपाका राजकिशोर महतोले ४८ हजार २७० मतका साथ विजयी भएका छन, दोस्रो हुने नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजा ८०९ मत ल्याए ।
१०. लेखराज भट्ट, उपमहासचिव
उपमहासचिव भट्ट कैलाली क्षेत्र नं. ४ मा तेस्रो भए, उनले ९ हजार ४४४ मत ल्याउदा दोस्रो हुने नेपाली कांग्रेसका गोरख बहादुर बिष्टले ११ हजार ३०१ र विजयी हुने रास्वपाका खेमराज कोइरालाले २८ हजार ५५६ मत ल्याए ।
११. खगराज अधिकारी, सचिव
गण्डकीका पूर्व मुख्यमन्त्री, पूर्व गृहमन्त्री खगराज अधिकारी चुनावमा प्रतिस्पर्धी थिएनन, गण्डकी प्रदेशसभा सदस्य रहेका अधिकारी गण्डकी प्रदेशको चुनावी कमाण्डर थिए, गण्डकीका १८ मध्ये १५ निर्वाचन क्षेत्र जित्ने दावी गरेका अधिकारीको गृह जिल्ला कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुदा एमालेका उम्मेदवार २ वटा क्षेत्रमा तेस्रो र एउटा क्षेत्रमा दोस्रो भए । क्षेत्र नं। ३ मा एमालेका दामोदर बैरागीले ७ हजार ९०६ मत ल्याउदा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मतका साथ विजयी भइन्, दोस्रो हुने कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याए ।
कास्की क्षेत्र नं। २ मा एमालेका रश्मी आचार्यले ७ हजार ४९३ मत ल्याउदा रास्वपाका उत्तम प्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी भए । तेस्रो हुने कांग्रेसका माधव प्रसाद बास्तोलाले ६ हजार ५०० मत ल्याए ।
कास्की क्षेत्र नं। १ मा एमालेका बैन बहादुर क्षेत्रीले १० हजार ४२९ मत ल्याउदा विजयी हुने रास्वपाका खड्कराज पौडेलले ३९ हजार ८८३ मत ल्याए, दोस्रो हुने कांग्रेसका तिलक बहादुर रानाभाटले ११ हजार २१४ मत ल्याएका छन् ।
१२. पद्मा अर्याल, सचिव
सचिव अर्याल समानुपातिकतर्फ खस आर्य महिलाको एक नम्बरमा बसेकी छिन् । उनी पनि एमालेबाट प्रतिनिधिसभामा जाने पदाधिकारीको दोस्रो नम्बरमा छिन् । संसदमा पदाधिकारीका रुपमा यसपटक उपाध्यक्ष थापा र सचिव अर्याल सहभागी हुनेछन् ।
अर्याल समानुपातिकतर्फ बसी रहदा उनको जिल्लाका दुवै क्षेत्र रास्वपाले जितेको छ । एमालेका उम्मेदवार दुवै क्षेत्रमा तेस्रो भएका छन् । पूर्व मन्त्री समेत रहेकी अर्यालको जिल्ला स्याङ्जा क्षेत्र नं. १ मा एमालेका मीन प्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याएर तेस्रो हुदा कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत सहित दोस्रो र रास्वपाका धनञ्जय रेग्मी २९ हजार ७१ मतका साथ विजयी भएका छन् ।
क्षेत्र नं. २ मा रास्वपाका झविलाल डुम्रे २५ हजार ३५० मतका साथ विजयी हुदा एमालेका खिम बहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रा भएका छन्,, दोस्रो हुने नेपाली कांग्रेसका भगवत प्रकाश मल्लले २० हजार ८३० मत ल्याएका छन् ।
गण्डकी प्रदेशबाट दोस्रो पटक सचिव तथा २०७४ पछि स्वास्थ्य र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बनेकी अर्यालले आफ्नो जिल्ला मात्र होइन, प्रदेशमै पराजित भोग्नु परेको छ ।
१३. महेश बस्नेत, सचिव
जेनजी आन्दोलन अध्यक्ष ओलीलाई गुण्डुमा अस्थायी निवास बनाएर चर्चामा आएका, पार्टीको साख बढाएको भन्दै चर्चित भएका र सचिवमा विजयी बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट फराकिलो मतान्तरले पराजित भएका छन् । बस्नेतले १० हजार ९६६ मत ल्याउदा उनका प्रतिस्पर्धी राजिव खत्रीले ४२ हजार ३३४ मत ल्याए ।
१४. राजन भट्टराई, सचिव
ओलीका परराष्ट्र विज्ञका रुपमा रहेका भट्टराई काठमाडौं क्षेत्र नं. ४ बाट तेस्रो पटक पराजित भएका छन् । विगतमा गगन थापासंग पराजित भएका उनी यसपटक रास्वपाका प्रकाश बमसंग पराजित भए । बलमे २९ हजार १४२ मत ल्याउदा तेस्रो भएका भट्टराईले ५ हजार ७३३ र दोस्रो भएका नेपाली काग्रेसका सचिन तिमिल्सिनाले ८ हजार ८२४ मत ल्याए ।
१५. शेरधन राई, सचिव
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका राइलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राइले पराजित गरे । ध्रुुवराजले १६ हजार ६६३ मत ल्याएर विजयी हुदा शेरधनले १४ हजार ७५० मत ल्याए ।
१६. भानुभक्त ढकाल, सचिव
पूर्व कानुनमन्त्री समेत रहेका ढकाल तेह्रथुममा पराजित भए । उनले १० हजार ६८२ मत ल्याउदा नेपाली कांग्रेसका सन्तोष बुढाले ११ हजार ५६१ मत ल्याएर विजयी भए ।
१७. हिक्मत कार्की, सचिव
कोशी प्रदेशका मुख्यमन्त्री रहेका कार्की यस पटक चुनावी अभियानमा थिएनन, झापा निवासी कार्कीको जिल्ला रास्वपाले क्लिनस्वीप गरेको छ ।
१८. यामलाल कंडेल, सचिव
कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका कंडेल पनि चुनावी प्रतिस्पर्धामा थिएनन्, सुर्खेत निवासी कंडेलको जिल्लामा पनि उनले एमालेलाई जिताउन सकेनन् ।
१९. छविलाल विश्वकर्मा, सचिव
पूर्वमन्त्री विश्वकर्माले टिकट पाएनन्, उनको जिल्ला रुपन्देहीबाट उपाध्यक्ष पौडेल सहित एमालेका चार जना उम्मेदवार नै पराजित भए । एमालेको एघारौ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल काठमाडौं क्षेत्र नं. ५ मा चुनावी प्रतिस्पर्धामा थिए । रास्वपा उम्मेदवार सस्मित पोखरेलसंग पराजित भएका इश्वरले जमानत जोगाउन सकेनन् । निवर्तमान सभामुख देवराज घिमिरेलाई निवर्तमान उपसभामुख इन्दिरा राना मगरले फराकिलो मतान्तरले पराजित गरिन् ।
एमालेको सिंगो हाइकमाण्ड यसपटकको निर्वाचनबाट संसदमा छिर्न नपाउने भएको छ । उपाध्यक्ष बादल र सचिव अर्याल समानुपातिकबाट संसदमा सहभागी हुदैछन् । एमाले वृतमा पार्टीको नेतृत्व पुनरगठनको माग जवरजस्ती उठेको छ ।