बागलुङ । आम निर्वाचनमा मात्र होइन, पार्टीहरुका आन्तरिक निर्वाचनमा समेत जित्नेले खादा माला, नारा जुलुश हुने प्रचलन बढ्दै गएको थियो । जित्नु भनेको खुशीयाली मनाउनु हो, खुशीयाली भनेको मैदानमा देखाउनु हो भन्ने मानसिकता ह्वात्तै बढेको थियो । राजनीतिक दलहरुमा होइन, विभिन्न संघ संगठन र संस्थाहरुमा समेत जितको उन्माद मात्रै होइन, हारको आवेग, उत्तेजना र कुण्ठा पनि बेला बेला देखिन्छ ।
२०७० साल मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन भयो, बागलुङका ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगले परिणाम घोषणा गर्नु भन्दा पहिलादेखि नै नेपाली कांग्रेसका नेता कार्यकर्ताले नारा लगाए, ‘देखिस केरे एमाले, जनताले भोट कहाँ हाले’ । ‘यो जित कस्को कांग्रेसको’, ‘कांग्रेस कस्को जनताको’ ‘कांग्रेस गयो सत्तामा, एमाले पुग्यो भित्तामा’ जस्ता नारा लगाउने मात्रै होइन, पराजित भएकाहरुलाई देखेपछि आक्रोशित हुने, विपक्षीहरुको घर तथा पार्टी कार्यालय अगाडि पुगेपछि थप चर्का नारा लगाउने गर्दथे ।
२०७४ मंसिरमा संसदीय निर्वाचन भयो । संघीयता पछि बागलुङका दुइ संघीय र चार प्रदेश सभा सदस्यमा बामपन्थी गठबन्धनले जित्यो, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले त्यसै गरी नारा लगाए, बागलुङ जिल्ला ः लाल किल्ला, ‘देख्यौ केरे कांग्रेसे, जनताले भोट कहाहाले’, ‘बामपन्थी सत्तामा, कांंग्रेस पुग्यो भित्तामा’ यस्तै यस्तै । नियती दोहोरियो, हिजो कांग्रेसले जस्ता गतिविधि गरेका थिए, आज बामपन्थीले त्यो भन्दा कम गर्ने कुरै भएन ।
२०५६ सालको आम निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका टंक प्रसाद शर्मा कंडेलले निर्वाचन जिते, कांग्रेसीहरुले जिल्ला सदरमुकाममा मात्रै होइन, उनको गाउँ बिहुमा समेत गएर जुलुश निकाले । जुलुश मात्रै निकालेनन्, नेपाली कांग्रेसका उत्साहित उग्र कार्यकर्ताले नेकपा एमालेका नेता परमानन्द कंडेलको घर तोडफोड गरेका थिए ।
निर्वाचनमा धाँधली गर्ने, मतदान स्थगित हुने, कुटपिट लगायतका घटना प्राय हुन्थे । संविधानसभा निर्वाचन २०६४ मा बागलुङ क्षेत्र नं. २ मा २ ठाउँमा र ३ मा एक ठाउँमा उपनिर्वाचन नै भएको थियो । निर्वाचनमा शक्ति प्रदर्शन गर्ने, युवा परिचालन गर्ने मात्रै होइन विपष्क्षी युवाहरुलाई अपहरण गरेर लैजाने घटना पनि भएका हुन् । निर्वाचन आयो कि कार्यकर्ताका आमा बाबुलाई आफ्ना छोरा छोरी कहाँ घाइते हुने हुन्, को कहाँ लड्ने हुन् भन्ने चिन्ताले सताउथ्यो । यसपटक फागुन २१ गते पनि विगतकै जस्तो १६५ क्षेत्रमा निर्वाचन भयो । निर्वाचनको दिन छिटफुट घटनाहरु भए, जवरजस्तीका सामान्य घटना बाहेक मतदानलाई नै असर गर्ने गरी कुनै घटना भएनन् ।
मतदानका लागि देखिने गरी धाँधली, दवाव लगायत कुनै पनि अशोभनीय कार्य भएनन् । प्रहरी प्रशासनले चुनावको समयमा हुने हुलदंगा, लडाई झगडाका लागि अतिरिक्त शक्ति परिचालन गर्न परेन, मुद्दा मामिला भएनन् । प्राय मतदान केन्द्रहरु शान्त थिए, मतदाताहरु सरासर गएर मतदान गर्ने अवस्था भएको थियो । चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘चुपचाप घण्टी छाप’ भन्ने नारा लगाएको थियो । रास्वपाले घण्टीमा मतदान गर्न गरेको आव्हान अनुसार नै मतदाताले मत दिएको अनुभूति अहिलेको चुनावमा भएको छ ।
समग्र रुपमा चुनाव शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भयो, तडक भडक भएन, मतदाताले सरासर गएर आफ्नो मत राखे, चुनाव जितेपछि जुलुश, चर्को स्वरमा नारा लगाउने, विपक्षीको घरमा गएर अनावश्यक आक्रोश पोख्ने प्रचलनको पनि अन्त्य भएको बागलुङका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीको भनाइ छ ।
चुनावमा झडप हुने, विवाद हुने, कुटाकुट हुने, बुथ कब्जा, धाँँधलीका घटनाका कारण आजित भएका जनताले यसपटक अत्यन्तै शान्तिपूर्ण तवरमा मतदान गरेको राजभण्डारीको भनाइ छ । दलहरुले चुनावका लागि मात्रै भनेर युवाहरुको टिम तयार गरेर राख्ने गर्थे, युवा परिचालनबाट चुनावका दिन मात्रै एउटा वडामा सयय, डेढ सय मत बढाउने गरेका पुराना दलहरुको गढ (कोर एरिया) अहिले तिनै युवाहरुले मत परिवर्तन गरेर ध्वस्त बनाइदिएका छन् ।
निर्वाचन अगाडि, मतदानको दिन जसरी शान्तिपूर्ण र सहज रुपमा मतदान भयो, मतपेटिका गणनास्थलमा आए, त्यसैगरी मतगणना पनि अत्यन्तै शान्तिपूर्ण अवस्थामा सम्पन्न भएको थियो । बागलुङका दुइ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भए । क्षेत्र नं. १ मा सुशिल खड्का र २ मा सोेम शर्मा विजयी भइसकेपछि निकै ठुलो विजय जुलुश निस्कने अपेक्षा धेरैले गरेका थिए । गाउँ गाउँबाट मान्छेहरु आउने भए, युवा र महिलाको त अझै धेरै उपस्थिति हुन्छ भन्ने अनुमान थियो ।
रास्वपाले विजयी जुलुश नमाउने, सामान्य धन्यवाद ज्ञापन गर्न देशभर निर्देशन गरेका कारण जुलुशहरु भएनन्, रास्वपाले जुलुश नगरेका कारण आम मानिसमा सकारात्मक सन्देश प्रवाह भएको छ । यद्यपी अन्य दलले जित निकालेका केही क्षेत्रमा जुलुशहरु निस्केका पनि छन् । यति छोटो समयमा दुइ तिहाई मत सहित जित्न सफल भएको पार्टीको जुलुश कत्रो होला ? निकै ठुलो जुलुश निस्कन्छ होला ? भन्ने धेरैलाई लागेको थियो । तर यसपटक रास्वपाले जुलुश नै निकालेन, विजयी उम्मेदवारले धन्यवाद दिने काम मात्रै भयो ।
जितेपछि जुलुश निकाल्नै पर्ने, पराजित भएको शक्तिलाई देखिस् भन्दै गाली गलौज गर्नु पर्ने, तुजुक देखाउनै पर्ने विगतको प्रचलनलाई यसपटक रास्वपाले ब्रेक गरिदिएको छ । ‘पुराना भन्दा हामी फरक हौ’ भनेको रास्वपाले चुनाव परिचालन र विजय भएपछि नारा जुलुश नगरेर एउटा सकारात्मक सन्देश प्रवाह आम मतदाताहरुले महसुस गरेका छन् ।
जुलुश निकाल्दा बजारको व्यापार व्यवसाय बढ्थ्यो होला, विजयी भएको दल र उम्मेदवारको खर्च पनि बढ्थ्यो, जुलुशका क्रममा उत्साहित कार्यकर्ताले विपक्षीलाई आरोप लगाउने, गाली गर्ने पनि गर्थे होला, यसपटक त्यस्तो भएन, सकरात्मक कुरा सबैका सबैले ग्रहण गर्दा राम्रो हुन्छ, जनप्रिय टेलर्श बागलुङका सञ्चालक प्रेम बहादुर परियार (सुजन) ले भन्नुभयो । राजनीतिमा आरोप प्रत्यारोप स्वभाविक भएपनि अति उत्साह र अति उत्तेजनाका कारण कहिले काही क्षति भएका, तनाव भएको पनि देखेका छौ, तर यसपटकको चुनाव शुरुदेखि नै सहज र शान्तिपूर्ण नै भयो, परियारको भनाइ छ ।
जित्नेले हार्नेलाई गाली गर्ने प्रचलनको अन्त्य भएको छ, यो असाध्यै राम्रो कार्य हो, जितेको कुरा जनताले थाहा पाइहाले अब काम गरेर देखाए भइहाल्यो । विगतमा जितेपछि जुलुश ठुलो देखाउन, गाउँ गाउँमा जुलुश निकाल्ने, माला खादा र अविर लगाएर जात्रै गर्ने प्रचलन थियो, तर पछि जितेकाहरुले काम नगरेको गुनासो जनताले गर्दै आएका छन् । यसपटक जितको उन्माद देखाउने काम भएको छैन, यसै गरी जनताका काम गरेर देखाउन विजयी उम्मेदवार र दलहरुलाई सबैले सुझाव दिनु पर्छ, स्थानीयको भनाइ छ ।
के साच्चिकै चुनावमा विजय भएपछि जुलुश प्रदर्शन गरेर पराजित भएका शक्तिहरुलाई देखाउनै पर्छ, विगतमा आफ्नै पार्टीका आन्तरिक चुनावमा विजय हुदा पनि जुलुश निकाल्ने काम भएका थिए, अब त्यस्ता विषयहरु सच्चिन जरुरी छ । जुलुशमा शक्ति प्रदर्शन होइन, जितेर गएपछि जनताका काम गर्नु पर्छ, मतदाताहरुको भनाइ छ ।
नेपाली जनताले यसपटक आम सरोकारवालाहरुलाई चकित बनाउदै दुइ तिहाइ मत दिएका छन् । रास्वपाले जनताको यो अभिमतलाई शंकाको सुविधाका रुपमा ग्रहण गरेर जनताको चाहनालाई पुरा गर्नतर्फ लाग्नेछ भन्ने धेरैको आशा छ, आशालाई निरासा बनाउदा पुराना दलकै हविगत हुन्छ भन्ने कुरामा सचेत हुनु पर्ने पत्रकार राजभण्डारीको भनाइ छ ।
रास्वपाले ३५ वर्षसम्म पुरानाले केही गरेनन् भन्ने भाष्य बनाएर चुनाव जितेको छ, विगतमा केही पनि भएको थिएन, भन्ने भाष्य चुनावी एजेण्डा बन्यो, जनताले पत्याइदिए, तर के विगतमा केही पनि नभएको हो त ? अब शुन्यबाट शुरुवात हुदैछ त ? विगत सबै खरानी नै हो त ? विगतमा राम्रा भएकै थिएनन, अबकाले नराम्रो गर्दै गर्दैनन् ? यस्ता भाष्यहरु चुनावी फण्डा मात्र हुन्, विगतमा राम्रा कामहरु धेरै भएका छन्, तर जनताले चाहेको जस्तो सुशासन भएन, जनताले चाहेको जस्तो रोजगारी भएन, जनताले चाहेको बेलामा प्रभावकारी स्वास्थ्य सेवा पाएनन, स्वास्थ्य सेवालाई निजीकरण गरियो, जनताका छोरा छोरीले निशुल्क शिक्षा पाएनन्, शिक्षालाई निजीकरण गरियो, अब सुधारको आशा जनताले राखेका छन् । के शिक्षा र स्वास्थ्य निशुल्क हुन्छ, रास्वपाका वरिष्ठ नेता, हुनेवाला प्रधानमन्त्री बालेन शाहले भनेको जस्तै पैसा नहुनेहरुले पनि राम्रो शिक्षा लिन पाउछन, पैसा नहुनेहरुले पनि दिर्घरोगको सहज उपचार पाउछन् ? जनताले आशा गरेका छन् ।
नेपाली जनताले विगतमा मत बाडे, धेरैलाई मत दिए तर पुग्ने गरी कसैलाई दिएनन्, एक दुइ पटक बहुमत दिएका थिए, त्यो पनि नेपाली कांग्रेस र नेकपा (तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) ले जोगाउन सकेनन्, यतिबेला जनताले आफ्नो विगतका कमजोरी सुधार गरेर रास्वपालाई दुइ तिहाइ सहितको मत दिएका छन्, रास्वपाका नेताहरुले अब के के गर्छन्, नेपाली जनताले नांगो आँखाले हेरेर बसेका छन् । शंकाको सुविधा दिएका छन्, राम्रो गरे छिमेकमा मोदीको जस्तै १५ वर्ष शासन गर्न पनि पाइन्छ, कमजोरी गरे, २०७७ मा ओलीको जस्तो अवस्था पनि आउन सक्छ ?