• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

चिल्ड्रेन लाइफ स्कुलमा प्रतिभाको कदर : पदक विजेता विद्यार्थीलाई प्रोत्साहन

बागलुङ

बागलुङ नगरपालिका–१ रामरेखा स्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा खेलाडीहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन र आत्मविश्वास समेत अभिवृद्धि गर्ने बताउँदै स्वस्थ जीवनशैलीका लागि खेलकुदलाई जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो।

नगर तथा जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्र्याकसुट प्रदान गरिएको थियो। साथै, पदक विजेता उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप विद्यालयले शतप्रतिशत तथा ५० प्रतिशत छात्रवृत्ति समेत घोषणा गरिएको विद्यालयका शिक्षक जीवन रोका क्षेत्रीले बताउनुभयो ।

यसैबीच, विभिन्न सिर्जनात्मक कार्यक्रमहरू जस्तै हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ। आठौँ बागलुङ महोत्सवअन्तर्गत आयोजित कथावाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई समेत कार्यक्रममा सम्मान गरिएको प्राथमिक तह संयोजक तथा शिक्षक रोकाले जानकारी दिनुभयो।

त्यसैगरी, गण्डकी प्रदेशस्तरीय हिसान कप फुटसल प्रतियोगितामा कास्कीबाट उपाधि जितेर बागलुङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको विद्यालयका शिक्षक सौगात खड्काले जानकारी दिनुभयो।

कार्यक्रमका क्रममा विभिन्न विधामा योगदान पुर्‍याउने खेल प्रशिक्षकहरूलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठको स्वागत मन्तव्य तथा शिक्षक नारायणप्रसाद पौडेलको सञ्चालन मा सम्पन्न भएको थियो ।