बागलुङ । नेपालका बामपन्थी पार्टीहरुमा क्रियाशिल नेताहरु बेला बेला यता उता जाने, चुनावी सहकार्य गर्ने, तालमेलका नाममा संगै मिलेर चुनावमा जाने कुरा विगतदेखि नै चल्दै आएको छ ।
एउटा चुनावमा एकातिर भएको मान्छे अर्को चुनावमा अर्को तिर हुने क्रम पनि निरन्तर चलिरहेकै हुन्छ । बामपन्थीमा मात्र होइन, कांग्रेस कम्युनिष्टहरु समेत यता उता गर्ने प्रचलन विगतमा अलि बढी नै थियो । यसपटकको चुनावमा पार्टी प्रवेशको विषय खासै देखिएन, बरु मतदाताले मत फेरे । नयाँ शक्ति रास्वपालाई उल्लेख्य मत दिएर पुराना पार्टीलाई सुध्रने चेतावनी मतदाताले दिएका छन् ।
२०७९ को स्थानीय चुनाव लगत्तै तत्कालिन नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका बागलुङ गलकोट नगरपालिका वडा नं. ६ निवासी तिलक उप्रेती मंगलवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा सक्रिय हुने जानकारी गराउनु भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल सहितका नेताहरुले उप्रेतीलाई पार्टीमा स्वागत गर्नुभयो ।
पूर्व माओवादी रहेका उप्रेतीले एमालेको मुल नेतृत्वको कार्यशैलीप्रति तिब्र असन्तुष्टी जनाउदै पुरानै पार्टीमा प्रवेश गरेको जनाउनु भएको छ । एमालेमा रहदा बस्दा गरेका काममा साथ सहयोग दिने सबैलाई धन्यवाद दिदै उप्रेतीले मुल घर रोजेको नेकपाका नेता राजिव घिमिरले जानकारी दिनुभयो ।
अघिल्लो स्थानीय चुनावमा माओवादीले उपप्रमुख नदिएपछि एमाले बनेका उप्रेती यसपटक एमालेले उम्मेदवारका लागि अगाडि नबढाएपछि उतै फर्केको एमाले गलकोटका एक सदस्यले बताए । पदकै लागि यता र उता गर्ने प्रवृतिले पार्टी र व्यक्तिलाई पनि हित गर्दैन, उनको भनाइ छ ।
चुनाव अगाडि गत माघको अन्तिममा नेकपाका संयोजक प्रचण्ड गलकोट आउदा उप्रेतीले १० मिनेट एक्लै भेटेको चर्चा भएको थियो, आज त्यो देखियो, काठमाडौंमा पुगेर उहाँले एमालेमा नरहेको जानकारी गराउनुभयो, एमालेका ति सदस्यले भने ।
नेपाली कांग्रेसबाट विद्रोह गरेकी मञ्जु शर्मा चालिसे र उप्रेती एकैसाथ एमाले प्रवेश गर्नु भएको थियो । कांग्रेसबाट एमाले प्रवेश गरेकी मञ्जुलाई एमालेले २ पटक उम्मेदवार बनायो, प्रदेश कमिटिमा उप्रेतीसंगै प्रदेश कमिटिमा निर्वाचित भएकी मञ्जुलाई एमालेले केन्द्रीय कमिटिमा मनोनित ग¥यो, एघारौ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बनायो भन्ने कुरामा उप्रेतीले चित्त दुखाएको जस्तो देखिन्थ्यो, नेकपाले केन्द्रीय सदस्य दिएपछि उहा त्यतै लाग्नु भएको पाइयो, एमालेका एक नेताले बताए ।
