• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना : चालक सहित सात जना घाइते

बागलुङ । मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–४ रात्माटामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

गलकोटबाट बागलुङ बजारतर्फ आउदै गरेको लु ३ च ५१५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडको नालीमा पल्टिँदा गाडीका चालक गलकोट नगरपालिका–३ का २५ वर्षीय यादव खत्री सहित ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा चालक खत्रीको दाहिने हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका–९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर के.सी.को टाउको र दाहिने हातमा, गलकोट नगरपालिका–३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हातमा चोट लागेको छ। यस्तै गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको छ ।

गलकोट नगरपालिका–७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका–३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा सामान्य चोट लागेको छ ।

घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।