बागलुङ
चैते दशै भन्दासाथ बागलुङवासीको कान ठाडा नहुने कुरै भएन, प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर लगायत यहाँका शक्तिपिठहरुमा पुजा अर्चनादेखि मेला महोत्सवका कारण चैते दशै बागलुङवासीका लागि विशेष पर्वका रुपमा परिचित छ ।
बागलुङको भूगोलमा मात्र होइन, विदेशका विभिन्न ठाउँमा रहेका बागलुङेहरुले समेत चैते दशै मेलामा विशेष कार्यक्रमहरु गरेर भव्य रुपमा मनाउने गर्दछन् ।
यसैक्रममा विभिन्न पेशा व्यवसाय र रोजगारीका क्रममा जापानमा रहेका बागलुङेहरुले गठन गरेको बागलुङ समाज जापानको आयोजनामा मार्च २१ र २२ तारिक (चैत ७ र ८ गते) जापानको राजधानी टोकियोको शिवा पार्कमा बृहत चैत्राष्टमी मेला–२०२६ हुन गैरहेको छ ।
मेलामा नेपालबाट जाने कलाकार, जापानमा भएका नेपाली कलाकारसंगै जापानी कलाकारहरुले समेत नेपाली मौलिक गित संगित प्रस्तुत गर्ने भएका छन् ।
नेपालबाट चर्चित कलाकारहरु मेलाका लागि आउदै हुनुहुन्छ, जापानमै नेपाली चर्चित कलाकारहरु हुनुहुन्छ, उहाँहरु सबैको प्रस्तुती त भइनै हाल्छ, बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले भन्नुभयो,–‘चैत्राष्टमी मेलामा जापानी कलाकारहरुले समेत नेपाली परम्परागत र मौलिक गित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।’
नेपालबाट शान्तिश्री परियार, योगेश काजी, युवराज मगर, अनुपा थापा मगर, कोष खड्का लगायतका कलाकार मेलामा आफ्नो प्रस्तुतीका लागि जापान आउने मेलाका सांस्कृतिक संयोजक तथा चर्चित कलाकार सूर्य खड्काले जानकारी दिनुभयो ।
जापानमा रहेका कलाकारहरु सूर्य खड्का, रामकृष्ण बम मल्ल, रितु थापा मगर, ज्योती लोहनी लगायत कलाकारहरुको प्रस्तुती सहित नृत्य, बाजा, भजन, रत्यौली, प्रत्यक्ष दोहोरी लगायतका कार्यक्रम सञ्चालन हुने भएका छन् ।
मेलामा मादल, डम्फु, मुरली, डोको, डाला, सेखु, नेपाली पहिचान झल्किने कपडा खरिद विक्री हुनुको साथै महिला तथा पुरुष भलिवल प्रतियोगिता, घैटो फोर, लठ्ठो तान्ने लगायतका कार्यक्रम सञ्चालन हुनेछन्, सांस्कृतिक संयोजक खड्काले भन्नुभयो, मेला हेर्न आउने दर्शकहरुले आफु नेपालमै र त्यो पनि बागलुङमै रमाइरहेको महसुस गराउने तयारी छ ।
मेला सम्पन्न गर्नका लागि बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाको संयोजकत्वमा ७१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मेलाको २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । दर्शकहरु मध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत जापानी हुने खडकाले बताउनुभयो । दिप वे फाउण्डेशसन मुख्य प्रायोजक र जमुना कम्पनी लिमिटेड प्रायोजक रहेको मेलाका लागि एक करोड जापानी रुपैया खर्च हुने अनुमान गरिएको छ ।