• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

‘बागलुङ रत्न सम्मान’ पाएका सूर्य खड्का भन्छन्, ‘जन्मभूमिप्रति थप योगदान गर्छु’

बागलुङ

‘बागलुङ बजार आउका मायालु’ गितका सर्जक तथा गायक सूर्य खड्कालाई बागलुङ रत्न सम्मान प्रदान गरिएको छ ।

बागलुङ समाज जापानले आयोजना गरेको चैत्राष्टमी मेलाको अवसरमा खड्कालाई ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको हो । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा माझकटेरामा जन्मिएका खडेकाले देश विदेशमा रहेर गित संगितमार्फत बागलुङको पहिचान बढाउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नेपाली लोक दोहोरी संगितलाई मौलिकता, जीवन्तता र सांस्कृतिक आत्मासंग जोड्दै तपाईले सिर्जना गर्नु भएका गीत संगितले मनोरञ्जनमात्र होइन, नेपाली सभाजको भावना, स्मृति, पीडा, आशा र पहिचानलाई अभिव्यक्त गरेको छ, समाजले प्रदान गरेको अभिनन्दन पत्रमा उल्लेख छ ।

लोकगीत–संगीतको यात्रामा मैले सधै मन बाट कर्म गर्दै हिँडेको मान्छे छु, गित संगित मेरो नसा नसामा रगत बनेर बगेको छ, मैले जे गर्छु, यही क्षेत्रमा गर्छु भनेर लागेको छु, मेरो कामलाई माया गरेर बागलुङ समाज जापानले गरेको सम्मानले मेरो मनलाई गहिरो रूपमा छोएको छ, खड्काले भन्नुभयो ।

गीत–संगीत केवल मेरो पेशा मात्र होइन, मेरो जीवनको धड्कन हो, यही यात्रामा दर्शक–स्रोताको माया, समाजको विश्वास र आफ्ना अग्रजहरूको आशीर्वादले यहाँसम्म ल्याएको हो, यो सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्दै अघि बढ्ने जिम्मेवारी थपिएको खड्काले बताउनुभयो ।

जन्मभूमिको पहिचान गराउन, आर्थिक सामाजिक रुपान्तरणका क्षेत्रमा थप योगदान गर्न बागलुङ समाज जापानको सम्मानले थप प्रोत्साहित गरेको छ, खड्काले भन्नुभयो ।

परदेशको भूमिमा बसेर पनि बाग्लुङको माटो, नेपालको संस्कार र पहिचानलाई जोड्ने पवित्र अभियानलाई निरन्तरता दिएकोमा बाग्लुङ समाज जापान धन्यवाद ज्ञापन गर्दै खड्काले आफुलाई सम्मान गर्न लायक बनाउने घर परिवार, दर्शक श्रोता तथा आयोजक सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

 

लामो समयदेखि गित संगितमा क्रियाशिल खड्काले बागलुङ बजार आउका मायालु, बाटो भीरको, खरको कटेरी, घण्टी टिनिनी लगायतका चर्चित गीत बजारमा ल्याउनु भएको छ ।

जापान कर्मथलो बनाएका खड्काले आफु जन्मेको जिल्ला तथा गाउँका बारेमा गित संगित मार्फत देश विदेशमा पहिचान गराउदै आउनु भएको छ ।