बागलुङ । चैते दशैं बागलुङको प्रसिद्ध मेला हो । मेला भर्नका लागि नेपालभरका धार्मिक पर्यटक बागलुङ भित्रदै आएका छन् । चैते दशैं मेलासंग जोडिएको अर्को आकर्षण हो लोक दोहरी प्रतियोगिता कार्यक्रम ।
चैते दशैंमा लोक दोहारी गाएर नाम कमाएका थुप्रै कलाकारहरु समेत छन् । चैते दशैंमा दोहोरी गीत गाउन वर्षभरी तयारी समेत गरिन्थ्यो । चैते दशैंमा गीत गाएर अहिले बजारमा हिट भएका कलाकारहरु थुपै छन् तर २०५१ सालदेखि निरन्तर हुँदै आएको लोक दोहरी प्रतियोगिता यसपटक भने अन्तिममा आएर स्थगन गरिएको छ ।
गुठी व्यवस्थापन समितिले दुई लाख राशी पुरस्कारको लोकदोहोरी प्रतियोगिता स्थगन भएपछि कालिका मन्दिरको चैते दशैंको मौलिकता माथिनै प्रश्न उठ्न थालेको छ ।
बागलुङको चैते दशैंमा दोहोरी गीत प्रतिष्ठान बागलुङले ३६ समूहलाई सम्पर्क गर्दा जम्मा आठ समूहले मात्रै आउने निर्णय गरेपछि समितिले लोक दोहोरी नगर्ने निर्णय गरेको छ । बागलुङ कालिका गुठीका अध्यक्ष भुपेन्द्र खड्काले लोक दोहरी गीत प्रतियोगितामा चुनौती देखिएको बताउनुभयो ।
उहाँले दुई लाख पुरस्कार दिदा समेत दैनिक भत्ता खोजिएको र पाँच हजार दर्ता शुल्क समेत तिर्न आनाकानी गरेकाले थोरै टिममा प्रतियोगिता गर्न ठिक नभएको खड्काले बताउनुभयो ।
“लोक दोहरी प्रतियोगितामा विकृति समेत देखियो, दोहोरी साँझबाट मात्रै कलाकार आउदा प्रतिस्प्रर्धा कम हुने देखियो, दुई लाखको पुरस्कारमा कम्तिमा २० समूह सहभागी हुनु पर्दछ भन्ने थियो, प्रतिष्ठानले कम समूह ल्याएका कारण स्थगन गरिएको हो” खड्काले भन्नुभयो “दुई लाखको पुरस्कार जित्न प्रतिस्प्रर्धामा उत्रन आवश्यक हुन्छ, थोरै समूहमा प्रतिस्प्रर्धा गर्दा राम्रो हुन्न, उहाँहरुले पुरस्कार राशी घटाए दर्ता शुल्क निःशुल्क र दैनिक तीन हजारले भत्ता खोज्नुभयो ।”
२० जना भन्दा कम समूह भएकाले दोहोरी गर्न नसकिने गुठीबाट जानकारी आएको लोक दोहोरी गीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिनुभयो । उहाँले ३६ दोहोरी समूहलाई सम्पर्क गर्दा दैनिक भत्ता नभएको र दर्ता शुल्क धेरै भएको गुनासो गरेकाले समूह ल्याउन नसकिएको जानकारी दिनुभयो ।
“आठ समूह आउन राजी भएका थिए, तर मन्दिर गुठीले २० समूह भन्दा कममा हुन्न भन्नुभयो, अहिले सम्म निरन्तरता पाएको दोहोरी गीत प्रतियोगिता यस पटक भएन” खड्का परियाले भन्नुभयो “दैनिक भत्ता दिने र दर्ता शुल्क कम भएमा थोरै पुरस्कारका लागि समेत कलाकार आउन सक्ने थिए ।”
कालिका मन्दिरले गत वर्ष दैनिक भत्ता सहित तीन हजार दर्ता शुल्क रहेकाले १६ समूह सहभागी भएको उहाँको भनाई छ । पुसमा सम्पन्न बागलुङ महोत्सवमा दैनिक भ्रमण भत्ता र दर्ता शुल्क निःशुल्क रहेको थियो ।
लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेले दुई लाख, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने गरी कार्यक्रम तयारी गरिएको थियो । गुठीले लोक दोहोरी गीत स्थगन गरेर स्थानीय कलाकारहरुको प्रस्तुती गर्ने तयारी गरेको छ । फाईल तस्बिर