बागलुङ । चैते दशैं मेला र चैते दशैं र बागलुङ त एक अर्काको पर्याय जस्तो छन् । यसवर्षको चैते दशैं मेला मंगलबारदेखि प्रसिद्ध बागलुङ कालिका भगवति मन्दिर परिसरमा शुरु भएको छ । चैत शुक्ल अष्टमीका अवसरमा मनाइने चैते दशैं नेपालमा मनाइने एक प्रमुख ऐतिहासिक र सांस्कृतिक पर्व हो, जसलाई बडादशैंको स्मरणमा ‘सानो दशैं’ पनि भनिन्छ । मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजय प्राप्त गरेको खुसीयाली र देवी दुर्गाको आराधना स्वरूप यो पर्व मनाइन्छ । पौराणिक रुपमा वनवास सकाएर राम अयोध्या फर्कँदा खुसीयालीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यो असत्यमाथि सत्यको जितको प्रतीक हो, जसमा दुर्गा पूजा, मन्दिरमा बली दिने र जमरा राख्ने परम्परा छ । यस दिन देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्छ । अशोकको फूल खाने र घरमा मिष्ठान्न भोजन सहित परिवारका सदस्यहरूसँग रमाइलो गर्ने चलन छ ।
बागलुङमा चैते दशंै मेलाका रुपमा मंगलवारदेखि मात्रै मनाउन थालिएको छ । तर, जापानमा रहेका बागलुङेले अत्यन्त भव्य रुपमा चैते दशैं मेला मनाएका छन् । चर्चित कलाकार, मौलिक पञ्चेबाजा लगायतको विशेष प्रस्तुति सहित मनाइएको कार्यक्रममा उल्लेख्य सहभागी भएको फोटो, भिडियोले सिंगो बागलुङ जापान नै भएको आभाष दिलाउँथ्यो । विदेशमा समेत चैते दशैं मेला भव्य रुपमा मनाउँदै गर्दा वर्षौदेखि कालिका मन्दिर परिसरमा केही दिनको मेला आयोजना गरिँदै आइएको छ । चैते दशैंको महिमा र महत्व दर्शाउने पुराना दर्जनौ गीतहरु छन्, ‘चैते दशैं मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा, एउटा पैसा कहिलेलाई, चैते दशैंलाई, चैते दशैं बागलुङे मेलामा, लाइदेउ माया भेट भाको बेलामा लगायतका गीतहरु चर्चित छन् । जसले मेलाको महत्वलाई व्यापकता प्रदान गर्दछ । मेलामा भलिवल प्रतियोगिता, लोक दोहोरीगीत प्रतियोगिता विशेष आकर्षणको रुपमा रहँदै आएको छ । यद्यपि, यसपटक प्राविधिक कारण लोक दोहोरी प्रतियोगिता अन्तिम समयमा नहुने आयोजकले जानकारी गराएका छन् । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि विभिन्न शक्तिपीठहरू र कालिका मन्दिरमा अलौकिक शक्ति र मानिसहरुको अभूतपूर्व आस्थाका कारण बागलुङ कालिका भगवती राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै प्रख्यात छ भने यसलाई थप प्रचार प्रवद्र्धन गर्न वर्षौदेखि निरन्तर सञ्चालित ऐतिहासिक चैत्राष्टमी मेलाको पनि विशेष योगदान र भूमिका छ ।
हाम्रा संस्कार, संस्कृतिलाई जीवन्त राख्न चाडपर्वहरुको महत्वपूर्ण भूमिका छ । चैते दशैंले पनि मौलिक संस्कृतिको संरक्षण मात्र होइन, खेलकुद, कला लगायतका क्षेत्रको पनि प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । चैते दशैं वर्षेनी आउने पर्वको निरन्तरता मात्र होइन, यो यस क्षेत्रको एक महत्वपूर्ण परिचय, विशेषता र मानकको रुपमा स्थापित छ । चैत्राष्टमी पर्वको महिमा र महत्व केबल बागलुङ जिल्लामा मात्र सीमित छैन । यस पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा समेत दिँदै आएको छ। प्रदेश सरकारले एक वर्षको अवधीमा दिन मिल्ने ३ दिनको सार्वजनिक विदामा चैते दशैंलाई समावेश गर्नुले यसको फैलावट थप प्रष्ट छ । मेलाले निरन्तरता पाए पनि मौलिक कला संस्कृति लगायतको संरक्षण र सम्वद्र्धनमा केही प्रश्न र चासो भने स्वभाविक रुपमा छन् । अब जतिसक्दो मौलिकता जगेर्ना गर्ने, समय सापेक्ष रुपमा कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नेमा केन्द्रित हुनुपर्छ ।