• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

‘लक्ष्मी प्रसाद’ हेरेपछि बागलुङका सहकारीकर्मी भन्छन्– ‘शेयर सदस्यले हेर्नै पर्ने चलचित्र बनेछ’

बागलुङ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बिहीवार बिहान लक्ष्मी प्रसाद नामक चलचित्रको विशेष प्रर्दशन (च्यारिटी शो) गरेको छ । सहकारी विषयसंग सम्बन्धित चलचित्र लक्ष्मी प्रसाद हेरेपछि बागलुङका सहकारीकर्मीहरुले सहकारीका शेयर सदस्यहरुले हेर्नै पर्ने चलचित्र निर्माण भएको प्रतिक्रिया दिएका छन् । चलचित्रले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका विकृति र समाधानका उपायका बारेमा सचेत बनाएको छ ।

सहकारीको प्रभावकारी सञ्चालनका लागि सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुको मुख्य जिम्मेवारी हुन्छ, यि तीन मध्ये एउटा मात्रै पक्षले सहकारीको मर्म, भावना र उद्देश्य अनुसार काम गरेन भने सहकारीमा समस्या आउछ भन्ने सन्देश चलचित्रले दिएको छ, ढोरपाटन नगरपालिकाको बुर्तिबाङबाट चलचित्र हेर्न आएका बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक बिमला गुरुङले बताउनुभयो । सहकारीमा वचत किन गर्ने, कसरी गर्ने, सहकारीको ऋण के कामका लागि लैजाने, ऋण लगेर मोज मस्ती गर्ने कि व्यवसाय गर्ने, कसरी तिर्ने, सहकारीमा समस्या कसरी आउछन र त्यसको समाधानका लागि शेयर सदस्यको भूमिका कस्तो हुनुपर्छ भन्ने विषय चलचित्रमा समेटिएको गलकोट नगरपालिकामा सञ्चालित गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष तथा जिल्ला सहकारी संघका सञ्चालक शिवा खत्रीले बताउनुभयो ।

सहकारीका विषयमा धेरै प्रशिक्षणहरुमा सहभागी भइयो, विषयवस्तुका बारेमा जानकारी लिइयो, दिइयो, सदस्यको समस्यामा सहकारीले धेरै नै साथ सहयोग गरेका पनि छन्, तर सहकारीलाई समस्या पर्दा सहकारीका शेयर सदस्य मात्रै होइन, सञ्चालक समेत तर्कने अवस्था सिर्जना भयो, यि सबै विषयलाई चलचित्रले समेटेको छ, बडिगाड गाउँपालिका–२, खरबाङस्थित नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक दुर्गादत्त अर्यालले भन्नुभयो,–‘यसलाई सञ्चालक र कर्मचारी मात्र होइन, सबै शेयर सदस्यहरुले एक पटक हेर्नै पर्छ ।’

सहकारीकर्मीसंगै चलचित्र हेर्न आइपुगेका चलचित्रका लेखक, निर्माता तथा निर्देशक प्रकाश भट्टराईले सहकारी भावनाको विकास गराउदै सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्यालाई न्यूनिकरण गर्न मद्दत पुग्ने सोचका साथ लक्ष्मी प्रसाद चलचित्र निर्माण गरेको बताउनुभयो । चलचित्रमा सहकारीका सदस्यहरु, सञ्चालकहरुको भूमिका, सहकारी मार्फत उद्यमशिलता विकास, वचत संकलन र परिचालन, ऋण लगानी, असुली र खराव ऋण तथा सहकारीका खराव ऋणीहरुको कालोसूची लगायतका विषयहरु समेटिएको निर्माता निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

चलचित्रका निर्माता भट्टराईसंग जिल्ला सहकारी संघले सहकार्य गरेर चलचित्र प्रदर्शन गरेका हौ, उहाँसंग बागलुङ जिल्लाका अन्य ठाउँमा विभिन्न सहकारी संघ संस्थाहरुमार्फत शेयर सदस्यहरुलाई सहभागी गराउनका लागि समन्वय गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खीम बहादुर कार्कीले जानकारी दिनुभयो । सहकारी दिवसका अवसरमा चलचित्र प्रदर्शनका लागि समय व्यवस्थापन गरेर जिल्लाका धेरै पालिकाहरुमा पुगेर समन्वय गरिएको कार्कीले बताउनु भयो ।

बागलुङ बजार सहित बुर्तिबाङ, खरबाङ, गलकोट सहितका क्षेत्रमा सञ्चालित सहकारीका सञ्चालक, कर्मचारीहरु र विभिन्न पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पहिलो चरणमा चलचित्र हेरेका थिए । बिएसआर मोभिजका सञ्चालक मिन बहादुर केसी (मिलन) ले दुवै हलमा गरी ४ सय भन्दा बढी सहकारीकर्मीहरु चलचित्र हेर्न उपस्थित भएको जानकारी दिनुभयो । आगामी दिनमा पालिका, विषयगत सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाहरुसंग समन्वय गरेर चलचित्र प्रदर्शन गरिने जिल्ला सहकारी संघका सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक जगन्नाथ सापकोटाले जानकारी दिनुभयो ।