• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

गलकोट नगरको सार्वजनिक सुनुवाई : नागरिकको प्रश्न हामीलाई इलाका प्रशासन खै ?

“सामान्य भन्दा सामान्य नागरीकता बनाउन तथा राहदानी लागाएतको कामलाई दिनभर लगाएर बागलुङ बजार पुग्नु पर्छ,पुरानो सदरमुकाम समेत रहेको गलकोटबाट बन्ने गरी नगरपालिकाले पहल गर्नु आवश्यक छ” उहाँले भन्नु भयो

बागलुङ । गलकोट नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिका र ८ नं वडा कार्यालयको संयुक्त आयोजना तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा नगरिपालिकाको चालु आर्थिक वर्ष २०८२–०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई वडा नं. ८ काँडेबासमा सम्पन्न भएको हो । उक्त अवसरमा स्थानीयले नागरिकको आधारभुत आवश्यकता शिक्षा,स्वास्थ्य,खानेपानी सिंचाई लागाएतका विषयमा प्रश्न गरे । सोही कार्र्यक्रममा स्थानीय पदम बहादुर सलामीले गलकोटमा इलाका प्रशासन नहुँदा समस्या भोग्नु परेको भन्र्दै गलकोटमा इलाका प्रशानकार्यलय ल्याउन तत्काल नगरपालिकाले पहल गर्नुपर्ने भन्दै प्रश्न गर्नु भयो ।

“सामान्य भन्दा सामान्य नागरीकता बनाउन तथा राहदानी लागाएतको कामलाई दिनभर लगाएर बागलुङ बजार पुग्नु पर्छ,पुरानो सदरमुकाम समेत रहेको गलकोटबाट बन्ने गरी नगरपालिकाले पहल गर्नु आवश्यक छ” उहाँले भन्नु भयो । कार्यक्रममा सहभागीले निश्चित समयको लागि तोकिएको स्वास्थ्य विमाको समय अवधि बढाउनुपर्ने, नगरपालिकाले मेयर कप सञ्चालन गर्ने बेलामा सडकको प्रयोग गर्न नहुने, वामीटक्सार काँडेबास हटिया सडकको स्तरोन्नती गनुपर्ने, खेलकुद मैदानको लागि नगरको योजना , कृषि बजार व्यवस्थापन हुनुपर्ने, करछली गर्नेलाई करको दायमा लिनु पर्ने बजार क्षेत्र बाहेक गाउँमा पनि फोहोर व्यवस्थापनमा नगरपालिकाले ध्यान दिनुपर्ने, अलपत्र पुलको बारेमा स्थानीय सरकारले पनि चासो दिनुपर्ने, सिँचाईको व्यवस्थापन सिंचाई व्यवस्थापन, कक्षा १–५ का विद्यालयलाई पनि प्रोत्साहन गनुपर्ने, महिला सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले नै घोषणा गरेको कक्षा ११ र १२ लाई निशुल्क शिक्षा बनाउनुपर्ने, लगाएतका प्रश्न तथा जिज्ञासा सहभागीले राखेका थिए ।

प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकिय अधिकृत डम्मर बहादुर जिसी, सहायक शिक्षा अधिकृत मनु सिंजाली लगायतले सहजिकरण गर्नुभएको थियो । जबाफमा नगर प्रमुख भरत शर्मा गैरेले इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनकालागि नगरपालिकाले विगतदेखी पहल गर्दै आएको बताउदै जेनजी आन्दोलनको समयमा समेत नगरपालिकाको समुह तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओली सँगै छलफलको क्रममा रहेको तर आन्दोलन प्रश्चात् बनेको तर नयाँ सरकारले आफ्नो माग सम्बोधन नगरेको गुनासो गर्नु भयो ।

“अनवरत रुपमा सबै राजनीतिक दल तथा केन्द्र तथा प्रदेशका जनप्रतिनिधिसँगको सहकार्यमा केन्द्र सम्म पुग्दा पनि हाम्रो पहुच पुगेन अन्य ठाउँमा इलाका प्रशासन परेको भए पनि गलकोटमा छुटेको अवस्था छ , नगरले प्रयास नगरेको होइन नचाहेको हाईन अवको दिनमापनि नगरले निरन्तर पहल गर्ने छ” नगरमा भएका सडकलाई स्तरोन्नती गरिएको, खेलकुदको लागि जग्गा व्यवस्थापन गर्ने, करको दायरामा नआएका व्यवसायीलाई अनुगमन गरी करको दायरामा ल्याउने प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर जिसीले २०८२–०८३ को दोस्रो चौमासिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ बागलुङका सचिव नाारायण रिजालले टिप्पणी गर्नुभएको थियो भने सहजिकरण पत्रकार विनोद थापा ‘प्रतीक’ले गर्नुभएको थियो । त्यस्तै सामुदायिक रेडियो गलकोटका विशाल बि.क ले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको औचित्यताको बारेमा रेडियो गलकोटका सञ्चालक समितिका सचिव वीर बहादुर चोखालले प्रकाश पार्नुभएको थियो । कार्यक्रम रेडियो गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, गलकोट नगरपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद खरालको स्वागत र सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।