बागलुङ । सरकारी सूचना निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्देशन साना लगानीका सञ्चारमाध्यमलाई सिध्याउने रणनीतिका रुपमा आएको आशंका बागलुङका पत्रकारहरुले गरेका छन् । सरकारले जारी गरेको निर्देशन अनुसार तीन वटै तहका सरकारका विभिन्न निकायहरुले सार्वजनिक गर्नु पर्ने सूचना विज्ञापनहरु सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रवार महासंघका पूर्व अध्यक्ष तथा जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरुबीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले साना लगानीका सञ्चारमाध्यमलाई समाप्त पार्ने नियतका साथ सरकारले यस्तो निर्देशन गरेको हुन सक्ने आशंका व्यक्त गरेका हुन् । मोफसलको पत्रकारिता यसै पनि चुनौती पूर्ण छ, पत्रिकामा सम्पादकदेखि हकर सम्म र रेडियो तथा टेलिभिजनमा सम्पादक, प्रवन्धकदेखि प्राविधिकसम्म काम गरेर मिडिया धानेका पत्रकारहरुलाई बेरोजगार बनाउने, उनीहरुलाई पेशाबाट अलग गराउनका लागि सरकारको निर्देशन सहयोगी हुने सहभागीहरुको भनाइ छ । पत्रकारिता क्षेत्रले ठिक ढंगले काम गरेको छैन, पत्रकारका कारण मुलुकको स्थिरता र सुशासनमा समस्या भएको छ भने छलफल गरौ, पत्रकारिता भित्र पनि केही गलत प्रवृतिहरु, मिडियाको विज्ञापनमा बिचौलियाहरुका समस्या छन्, सहभागीहरुको साझा भनाइ छ,–‘यि सबै समस्याको समाधान गरौ, तर सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्देशन फिर्ता गरौ ।’
अन्तरक्रिया कार्यक्रममा छलफलका विषय राख्दै नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापाले राज्यका सूचना जनताबीच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई असर पर्ने गरी सरकारी सूचना सरकारी मिडियामा मात्र दिने निर्णय फिर्ता गर्नु पर्ने बताउनु भएको थियो । सरकारले नियन्त्रण होइन, नियमन गर्नु पर्छ, विज्ञापनको भरपर्दो माध्यम नभएका ठाउँमा सञ्चालित सानो लगानीका सञ्चारमाध्यमले जनतालाई सुसूचित गराउने काम गरेका छन्, अध्यक्ष थापाले भन्नुभयो,–‘सरकारको पछिल्लो निर्णयले पहुँचवालालाई भन्दा बढी प्रभाव साना लगानीका सञ्चारमाध्यमलाई पार्ने भएकाले यसलाई पुर्नविचार गर्नु पर्छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले राज्यले सञ्चारमाध्यमलाई घेरावन्दी गर्ने हो भने सञ्चारमाध्यमले सरकारी कार्यालयका समाचार बन्द गराउनु पर्ने अवस्था आउन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो ।
पूर्व अध्यक्ष राम बहादुर जिसीले सञ्चारमाध्यममाथिको संकुचनले धेरै रोजगारी बन्द हुने, लामो समय पत्रकारिता गरेका व्यक्तिहरु पेशाबाट बाहिरिन पर्ने अवस्था आउन नदिन सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।
मिडियालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जिम्मेवारी लगानीकर्ताहरुको हो, सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको पेशाको ग्यारेण्टी गर्ने काम पनि उनीहरुकै हो, तर सानो लगानीमा सञ्चालन भएका मिडियाहरुलाई संरक्षण गर्ने दायित्व राज्यको पनि हो भन्ने कुरा सरकार सञ्चालन गर्नेहरुले बुझ्नु पर्नेमा उहाँको जोड थियो । पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सरकारले गर्ने कामका बारेमा जनतालाई सुसूचित गर्ने स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने गरी सरकारले जारी गरेको निर्देशन फिर्ता लिन आव्हान गर्नु भयो । उहाँले मिडिया भित्रका केही समस्याहरु छन् भने त्यसलाई नियन्त्रण गरौ, गलतलाई रोक्न लगाऔ, तर सूचना रोक्ने काम गलत हुने बताउनुभयो । कार्यक्रमका सहभागीहरु धौलागिरी जागरण दैनिकका सम्पादक सिर्जना पन्त, आदर्शसञ्चार अनलाइनका सम्पादक खेमराज गौतम (सुवास), इपरीन्यूज अनलाइनका सम्पादक विजय राना, पत्रकार ममासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, मुक्तिक्षेत्र दैनिकका संगम घर्ति मगर,ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा, साझाजनआवाज अनलाइनका सम्पादक अनिष खाती, स्वतन्त्र प्रेसका सम्पादक प्रदिप पन्त, खोजीनीति अनलाइनका सम्पादक उषा पौडेल, जीवन्त मिडियाका सञ्चालक नवराज परियार, जननिगरानी साप्ताहिकका सुजन रेग्मी लगाएतले मिडियालाई नियन्त्रण गर्ने तरिकाले गरिएको निर्देशन फिर्ता लिएर नियमनलाई प्रभावकारी बनाउन, पहुँच हुनेले राज्यका निकायबाट बढी फाइदा लिने प्रवृतिको अन्त्य गरी समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सहसचिव डम्मर बुढामगरले गर्नु भएको थियो ।
