• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

कौसी र करेसा खेतीमा कृषक सशक्तिकरण

पोखरा । “घरको फोहर व्यवस्थापन गरौं, कौसीमा हरियाली र स्वस्थ तरकारी फलाऔं !” भन्ने सन्देशसहित पोखरा महानगरपालिका–८ मा कौसी तथा करेसा खेती गर्ने कृषकहरूका लागि तालिम तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ ।

वडास्तरीय कृषि सञ्जाल पोखरा–८ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा सोमबार आयोजित तालिममा ९२ जना कृषक सहभागी भएका थिए ।

तालिममा विशेषगरी वर्षे बालीमा लाग्ने रोग तथा किराको पहिचान र समाधानबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रूद्रनाथ बरालले शहरी क्षेत्रमा कौसी खेती प्रवर्धनमा महिला तथा गृहणीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सानो समय र लगानीबाट पनि स्वच्छ, स्वस्थ तथा अर्गानिक तरकारी उत्पादन गर्न सकिने बताउनुभयो ।

वडा सदस्य पवित्रा केसीले घरको कुहिने फोहरलाई व्यवस्थापन गरी मलमा रूपान्तरण गरेर कौसी तथा करेसा खेतीमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

तालिममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बालीमा लाग्ने रोग तथा किराको पहिचान र समाधानबारे सहजिकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुरज चिलुवालले अर्गानिक मल बनाउने विधिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमपछि सहभागीहरूलाई ५ केजी प्राङ्गारिक मल तथा दुईदुई थान गोब्याग वितरण गरिएको थियो ।

सो अवसरमा सामाजिक न्याय तथा महिला अधिकार क्षेत्रमा योगदान पु¥याएकोमा सृजना महिला सहकारी संस्था पोखरा–८ की अध्यक्ष शारदा गिरीलाई सम्मान गरिएको थियो ।