• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

नयाँ वर्ष २०८३ को शुभकामना

  • २०८३ बैशाख १, मंगलवार

वर्ष २०८२ विदाई र नयाँ वर्ष २०८३ को सुरुवात । आजदेखि विक्रम संवत् २०८३ साल प्रारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन नेपाली समाजका लागि केवल पात्रो फेरिने क्षण मात्र होइन, आत्ममूल्यांकन, पुनःसंकल्प र भविष्यप्रतिको आशा जगाउने अवसर पनि हो । देशभित्र र विदेशमा रहेका नेपालीहरूले आज शुभकामना आदान–प्रदान गरिरहेका छन् । यसलाई पछिल्लो समय विभिन्न उत्सव महोत्सवको रुपमा सांगीतिक कार्यक्रमहरु आयोजना गरेर न्यू एयर इभको रुपमा मनाउने प्रचलन पनि व्यापक बनेको छ । नेपालको पर्यटकीय राजधानी घोषित गण्डकी प्रदेशको पोखरा शहर त न्यू एयर इभ मनाउनका लागि प्रख्यात छ । यसका। लागि कैयन व्यक्ति र परिवारले पूर्ववत योजना नै तय गरेर आउने गर्दछन् । नेपाली नयाँ वर्षलाई आम रुपमा नयाँ लक्ष्य तय गर्दै स्वागत र संकल्प गर्ने वर्षको रुपमा लिइन्छ । यस अवसरमा स्नान, पूजा, परिवारसँग भेटघाट, मीठा परिकारको स्वाद सहित शुभकामना र सद्भाव साटासाट गरिन्छ ।

वर्ष २०८२ नेपाल र नेपालीका लागि मिश्रित अनुभवको वर्ष रह्यो । यसलाई चुनौती र चेतनाको वर्ष भन्दा अत्युक्ति नहोला । वर्ष २०८२ राजनीतिक रूपमा अस्थिरता, सत्ता समीकरणका उतार–चढाव र निर्णय प्रक्रियामा देखिएको अन्योलले आमनागरिकमा चरम निराशा र आक्रोश थपेको देखियो । सुशासनको अपेक्षाबीच भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताको सवाल अझै सुदृढ हुन सकेनन् । आर्थिक क्षेत्रमा महँगी, रोजगारीको अभाव र वैदेशिक रोजगारीमा निर्भरता जस्ता समस्या यथावत् रहे । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, दैनिक उपभोग्य वस्तुको महँगी र आम्दानीको सीमितताले जनजीवन कष्टकर बनायो । कृषिमा पर्याप्त आधुनिकीकरण हुन नसक्दा र उद्योग क्षेत्रमा अपेक्षित प्रगति नहुँदा आत्मनिर्भर अर्थतन्त्रको लक्ष्य अझै टाढै देखियो । यद्यपि, यिनै चुनौतीबीच केही सकारात्मक संकेतहरू पनि देखिए । नयाँ आशा सहितको नयाँ सरकार, सूचना प्रविधिको विस्तार, युवा पुस्तामा उद्यमशीलताको बढ्दो रुचि, र नागरिक चेतनाले परिवर्तनलाई सम्भव तुल्याउन थालेको छ । आजदेखि नयाँ आशा, उत्साह र सम्भावना सहित नयाँ वर्ष २०८३ सुरु भएको छ । विक्रम संवत्को ऐतिहासिक पृष्ठभूमि पनि हाम्रो पहिचानसँग गासिएकाले यसको खास अर्थ र महत्व पनि छ । नेपालमा मौलिक रूपमा प्रचलनमा आएको नयाँ वर्ष समयको हिसाब राख्ने माध्यम मात्र होइन, यो हाम्रो सांस्कृतिक निरन्तरता र ऐतिहासिक चेतनाको प्रतीक हो । नयाँ वर्ष २०८३ हामीले केवल आशा गर्ने समय मात्र होइन, काम गरेर देखाउने अवसर पनि हो ।

अबको वर्षको प्राथमिकता राजनीतिक स्थिरता, सुशासन र आर्थिक पुनरुत्थान हुनुपर्छ । सरकारका लागि यो वर्ष सुशासन र विश्वास पुनःस्थापना गर्ने वर्ष हुनुपर्छ । नीतिगत स्थिरता, पारदर्शी प्रशासन र प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकको भरोसा जित्न आवश्यक छ । आर्थिक क्षेत्रमा उत्पादनमुखी नीति, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा मझौला उद्योगको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किएका सीपयुक्त जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्नु अबको प्रमुख चुनौती र अवसर दुवै हो । सामाजिक सद्भाव, सहिष्णुता र जिम्मेवार नागरिकता विकास गर्नु उत्तिकै महत्वपूर्ण छ । डिजिटल युगमा बढ्दो गलत सूचना र सामाजिक विभाजनका जोखिमलाई न्यूनीकरण गर्दै सत्य, शिष्टता र सहअस्तित्वको मूल्यलाई बलियो बनाउनुपर्ने आवश्यकता छ । नयाँ वर्षको शुभकामना साटासाट केवल औपचारिकता नबनोस्, यसले हाम्रो व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक छ । व्यक्तिगत तहदेखि राज्य संयन्त्रसम्म, सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे मात्र समृद्ध नेपाल निर्माण सम्भव छ । यसतर्फ हामी सबैलाई नयाँ वर्ष २०८३ ले प्रेरित गरोस्, उपलब्धिमूलक, स्थिर र आशामय वर्ष बनोस् नयाँ वर्ष । यहाँहरु सबैमा हार्दिक शुभकामना ।

 

  • २०८३ बैशाख १, मंगलवार