बागलुङ । राजनीति सम्भावनाको खेल मात्र होइन, व्यक्तिका लागि संयोगको तालमेल पनि हो। कुन व्यक्ति कहिले राजनीतिको उचाइमा पुग्छ र कहिले राजनीतिकै कारण सडकमा आउनुपर्छ भन्ने कुरा पत्तो हुँदैन ।
२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस चुनावपछि सरकारको नेतृत्वबाट विमुख मात्र भएन, सत्ताको आसमा प्रमुख प्रतिस्पर्धी दलका लागि अडेस बन्न पुग्यो। संसदमा रहेका पहिलो र दोस्रो शक्ति मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई स्वयं प्रधानमन्त्री ओली तोप पड्काउँदा पनि ढाल्न नसक्ने सरकारको संज्ञा दिन्थे ।
समय, सम्भावना र संयोगमध्ये कुन कुराले प्रभाव जमायो, समयक्रममा सरकार ढल्यो, मुलुक दुई वर्षअघि निर्वाचनमा होमियो। तत्कालीन पहिलो र दोस्रो दल यसपटकको निर्वाचनबाट दोस्रो र तेस्रो मात्र बनेनन्, सरकार निर्माणमा कतै अत्तोपत्तो नहुने गरी खुम्चिएका छन् ।
संघीय सरकारमा नराम्ररी खुम्चिए पनि प्रदेश सरकारमा भने अहिले पनि कांग्रेस–एमालेको गठबन्धन छ प्रदेशमा कायम छ । भर्खर प्रतिनिधिसभाको निर्वाचन भएको छ, जनताले कांग्रेस–एमालेलाई चेतावनीस्वरूप सानो संख्यामा संसदमा प्रतिनिधित्व गराइदिएका छन् ।
तर प्रदेशमा भने अझै कांग्रेस–एमालेले पुरानै प्रवृत्ति दोहोराइरहेका छन्। यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आठ जना मन्त्री हटाएर आठ जना नयाँ मन्त्री चयन गर्नु भएको छ । मन्त्रीहरूले बुधवार सपथ ग्रहण गरिसकेका छन्। चार जना एमालेबाट र चार जना कांग्रेसबाट मन्त्री बनेका छन् ।
सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको गण्डकी प्रदेशको मन्त्रीमण्डलमा बागलुङका एमाले नेता गोविन्द बहादुर नेपाली दोस्रो बरियतासहित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्री नियुक्त हुनु भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य रहेका नेपाली समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य चयन हुनु भएको थियो । संयोग यस्तो छ कि नेपाली धौलागिरी बहुमुखी क्याम्पस (तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस) को स्ववियू सभापतिबाहेक प्रत्यक्ष निर्वाचन लड्नु भएको छैन। पार्टीको आन्तरिक प्रतिस्पर्धाबाहेक स्ववियू सभापतिमा मात्र उहाँले चुनावी प्रतिस्पर्धा गर्नु भएको हो ।
धौलागिरी बहुमुखी क्याम्पसमा २०५८ देखि २०६० सालमा कोषाध्यक्ष, २०६० देखि २०६२ सम्म स्ववियू सभापति बनेका नेपाली त्यसयता राजनीतिको केन्द्रभागमै रहनु भएको छ । नेकपा एमालेको जिल्ला सदस्य, जिल्ला सचिव, प्रदेश कमिटीको सचिव हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य रहनु भएको छ ।
एमाले बागलुङको सातौं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित नेपाली कार्यकाल नसकिँदै पार्टीको नवौं महाधिवेशनमा ओली समूहबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुनु भयो ।
२०७२ पछि संघीय संरचना बनेपछि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवको जिम्मेवारी समेत सम्हालेका नेपाली जिल्ला, प्रदेश र केन्द्रको राजनीतिमा पहुँचवाला नेताका रूपमा रहँदै आउनु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पूर्ण केन्द्रीय सदस्य बनेका नेपाली त्यसयता दशौं महाधिवेशन र एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । पार्टीको वैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय सदस्यमा उहाँ दलित कोटाबाट निर्वाचित हुनु भएको हो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकमा सिफारिस भएका नेपाली संविधानसभा सदस्य नभएपछि उहाँका शुभचिन्तकहरूले जिल्ला पार्टी कार्यालय तोडफोड गरेका थिए । नेपालीलाई कार्यालय तोडफोड गरेको आरोप अहिलेसम्म लाग्ने गरेको छ ।
२०६६ सालमा राष्ट्रिय दलित आयोगको सदस्य मनोनित भएका नेपाली २०७४ यता गण्डकी प्रदेशसभामा प्रभावकारी भूमिकामा रहनु भएको छ । २०७४ को प्रदेशसभा निर्वाचनपछि बनेको पहिलो गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुनु भएको थियो । करिब तीन वर्ष मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएका नेपालीले प्रदेश र केन्द्रमा आफूलाई स्थापित गर्न सफल भएको एमाले कार्यकर्ताहरू बताउँछन् ।
भूगोलमा प्रभावकारी उपस्थिति नदेखिए पनि प्रदेश र केन्द्रको राजनीतिमा लगातार अवसर प्राप्त गरेका नेपाली २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बन्नुभयो, दलित कोटाबाट उहाँ प्रदेशसभा सदस्य बन्नुभयो ।
गण्डकीमा एमालेका दुई हाइप्रोफाइल नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको अत्यन्तै नजिक भएर काम गर्ने नेतामा पनि नेपाली पर्नु हुन्छ। प्रायः दुई ध्रुवका जस्ता रहेका गुरुङ र अधिकारीको निकट रहेर काम गर्ने र अवसर पाउने नेतामा नेपाली पर्नु हुन्छ ।
प्रथम मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका नेपाली, अधिकारी संसदीय दलको नेता भएपछि प्रदेशसभामा नेकपा एमालेको प्रमुख सचेतक बन्नु भयो । संसदीय दलको नेता र प्रमुख सचेतकको सम्बन्ध प्रभावकारी रहने नै भयो ।
नेपाली कांग्रेससँग २०८१ असारमा केन्द्रमा सहकार्य गरेर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रदेश सरकारको नेतृत्व भागबण्डा गर्दा गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई परेको छ । त्यसपछि पहिलो पटक बागलुङबाट कृष्ण पाठकलाई स्वास्थ्य मन्त्री बनाएका खगराज अधिकारीले यसपटक प्रमुख सचेतक रहेका नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात विकास मन्त्री बनाउनु भएको छ ।
मन्त्री पदका लागि नेकपा एमालेका केन्द्रीय सदस्य (यसपूर्व दुई पटक पोलिटब्यूरो भइसकेका) प्रदेशसभा सदस्य लिला बहादुर थापा मगरको पनि दाबी रहेको थियो तर अधिकारीको रोजाइमा नेपाली पर्नु भएको छ ।
दलित समुदायबाट विद्यार्थी राजनीति, पार्टी राजनीति हुँदै दलित आयोग, मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, प्रदेशसभा सदस्य, प्रमुख सचेतक हुँदै दोस्रो बरियताको मन्त्री बनेका नेपाली मुख्यमन्त्रीको अनुपस्थितिमा कार्यवाहक समेत बन्ने गरी मन्त्री चयन हुनु भएको हो।
गोविन्द नेपालीले राजनीतिमा मात्र होइन, जातीय विभेद, विद्यार्थीको हकहितसहित सामाजिक विभेदसँगको लडाइँसँगै पारिवारिक रूपमा आर्थिक व्यवस्थापनका लागि समेत संघर्ष गर्दै स्थापित हुनु भएका गोविन्द नेपालीलाई पछिल्लो समय परिवारको साथ सहयोग समेत प्रभावकारी बन्दै गएको छ ।
श्रीमती सुजाता घमालले क्याम्पसको जागिरसँगै निकै मेहनत गरेर नेपालीलाई राजनीतिमा टिकाउन साथ दिनु भएको छ।
२०६१ माघ १९ गतेको शाही कदमपछि गणतन्त्रको पक्षमा आन्दोलनको अगुवाई गर्दा राजद्रोहको मुद्दा खेपेका गोविन्द नेपाली संघर्षको मैदानबाटै प्रदेशको कार्यवाहक मुख्यमन्त्री बन्ने लाइनमा हुनुहुन्छ ।
