बागलुङ । नेपोलियन बोनापार्टको एउटा चर्चित भनाइ छ — ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।’ त्यसैले हार्नबाट नडराएका एक व्यक्ति तेस्रो प्रयासमा सांसद मात्र भएनन्, गण्डकीको अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर दुई (क) बाट तेस्रो प्रयासमा चुनाव जितेका जीत शेरचन भाग्यमानी नेताका रूपमा उदाएका छन्। पटक–पटकको असफलतालाई आफ्नो सिकाइको रूपमा लिँदै आउनुभएका नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति जीत शेरचनलाई बुधवार अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।
दुई पटकसम्म पराजित शेरचन तेस्रो प्रयासमा जनताले उहाँलाई संसद अनुमोदन गरेका छन् । सांसद भएको तीन वर्षपछि अर्थमन्त्रालयको जिम्मेवारी आएको हो ।
२०७४ को प्रदेश निर्वाचन र २०७६ को प्रदेश उपनिर्वाचनमा हार व्यहोर्नुभएका शेरचन २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी हुनुभएको थियो ।
“संसदमा पुगेपछि कामका आधारमा जनताले मूल्याङ्कन गर्नेछन् भनेर निर्वाचनको समयमा भनेको थिए,” अर्थमन्त्रालय सम्हालेपछि शेरचनले भन्नुभयो, “उत्पादनसँग जनतालाई जोडेर आम्दानी बढाउन सकेमा मात्र प्रदेश सरकार बलियो बन्न सक्छ। पुरानै हिसाबले बजेट ल्याएर हुँदैन, नयाँ ढङ्गबाट काम गर्नुपर्छ । स्थानीय तहलाईसँगै जोड्ने पुलको रूपमा प्रदेश सरकार अग्रसर हुन्छ । अर्थमन्त्रालयमा पुगेर अध्ययन पश्चात अन्य कुरा भन्न सक्छु ।”
शेरचनले आफू निरन्तर राजनीतिक जीवनमा अगाडि बढेको भन्दै तेस्रो पटकमा संसद भवन पाउँदा जनताले आफ्नो यात्रामा थप बल पु¥याएको आभास भएकोमा पुनः संसदमा खेलेको भूमिका हेरेर अर्थ मन्त्रालयको जिम्मा पाएकोमा खुसी व्यक्त गर्नुभयो । शेरचनले प्रदेश सरकार बलियो बनाउन जनता उत्पादनसँग जोडिन आवश्यक रहेको बताउनुभयो ।
संविधानले दिएको अधिकारलाई प्रदेशको राजस्व बाँडफाँडलाई कार्यान्वयन गर्दै करको दायरा बनाउन आफूले सक्दो प्रयास गर्ने शेरचनको भनाइ छ । “अझै कयौँ कानूनी जटिलता छ। अहिलेको हिसाबले बजेट ल्याएर काम गर्न सकिँदैन। बजेटमा परिवर्तन गर्न आवश्यक छ,” शेरचनले भन्नुभयो, “मितव्ययी गण्डकी प्रदेश बनाउने अठोट छ ।”
यस्तो छ शेरचनको राजनीतिक यात्रा
नेपाली कांग्रेस बागलुङका सभापति समेत रहनुभएका जीत शेरचन २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । राष्ट्रिय जनमोर्चाको समेत उपस्थिति रहेको पश्चिम बागलुङमा शेरचन पहिलो प्रयासमै असफल हुनुभयो । उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती तीन हजार बढीको फराकिलो मतान्तरका साथ विजयी हुनुभएको थियो । घर्तीले ११ हजार ८८४ र शेरचनले ८ हजार ६२४ मत मात्र प्राप्त गर्नुभएको थियो ।
निर्वाचित भएका टेकबहादुर घर्तीको २०७५ मंसिर २७ गते निधन भएपछि रिक्त रहेको क्षेत्रमा सरकारले २०७६ मंसिर १४ गते उपनिर्वाचन गरायो । उपनिर्वाचनमा समेत शेरचन चुनावी मैदानमा आउनुभयो । तर, शेरचन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीसँग पराजित हुनुप¥यो ।
शेरचनलाई जनमोर्चाका शाहीले २ हजार ९७ मतान्तरले पछि पार्दै दोस्रो प्रयास विफल बनाउनुभएको थियो । २०७९ सालमा सम्पन्न निर्वाचनमा समेत शेरचनले आफ्नो क्षेत्रभन्दा बाहिर टिकट प्राप्त गर्नुभएको थियो । तेस्रो पटकमा चुनावी मैदानमा आउनुभएका शेरचनलाई दुई पटक हराउने राष्ट्रिय जनमोर्चाले सघाएर सांसद बनाएको थियो ।
शेरचन दुई पटक पराजित भएको क्षेत्र छोडेर नयाँ क्षेत्रबाट चुनाव जित्नुभएको थियो । बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा पराजित शेरचन निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट संसद चुनिनुभएको थियो ।
शेरचनले एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई तीन हजार मतान्तरले पराजित गर्दै सांसद हुनुभएको थियो । शेरचनले १५ हजार १६ मत प्राप्त गर्दा घर्तीले १२ हजार ८ मत प्राप्त गर्नुभएको थियो ।
