बागलुङ । दोहोरी सांझ, रोधीघर भन्दा साथ केही मान्छेहरुले नकरात्मक रुपमा पनि हेर्ने गर्दछन्, नचिनेको ठाउँमा गएर दोहोरीमा रमाउने, रोधीघरमा जमेर नाच्ने गाउनेहरु पनि चिनजानको ठाउँमा रोधीघर, दोहोरीसांझलाई सकारात्मक रुपमा नहेर्ने प्रचलन पनि रहेको छ ।
रोधीघरबाट सांगितिक दुनियामा जमेका कतिपय कलाकारहरुले समेत आफ्नो क्यारियर बनाउने जगका रुपमा रहेको रोधीघरलाई वेवास्ता गरेका थुप्रै उदाहरणहरु बेला बेलामा सार्वजनिक हुने गर्दछन् । रोधीघर दिनभरीको थकानलाई मनोरञ्जनमार्फत उर्जा प्राप्त गर्ने एउटा माध्यम त हुँदै हो, लोक संगितमा रुची राख्ने नयाँ प्रतिभाहरुलाई अवसर दिने प्लेटफर्म पनि हो, युवाहरुलाई रोजगारी दिने व्यवसायिक क्षेत्र समेत हो ।
रोधीघरलाई विशुद्ध व्यवसायिक क्षेत्रका रुपमा मात्र नहेरी युवा जनशिक्तलाई रोजगार सिर्जना र सिर्जनशिलतालाई हेर्ने हो भने यो क्षेत्रले युवा जनशक्तिलाई सांगितिक क्षेत्रमा सक्रिय हुन, रोजगारीको अवसर सिर्जना गर्न र व्यवसायिक रुपमा अगाडि बढ्न प्रेरित गरेको छ । यद्यपी हरेक क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि कमजोरीहरु पक्कै छन् ।
बागलुङ बजारमा २०६१ सालमा यानिमाया दोहोरी सांझ सञ्चालनमा आएको थियो । बागलुङ बजारका स्थानीय बासिन्दा अमर बहादुर खड्काले सञ्चालन गरेको यानिमाया दोहोरी साँझ १० वर्ष सञ्चालनमा आएर बन्द भयो । यानिमाया दोहोरी साँझ बन्द भएको १० वर्ष बागलुङमा व्यवसायिक दोहोरी साँझ वा रोधीघर सञ्चालन भएनन् । २०८३ को आगमनसंगै बागलुङ बलेवाका युवा व्यवसायी सागर ढकालले बागलुङमा रोधीघर सञ्चालनमा ल्याउनु भएको छ ।

लामो समय काठमाडौँमा दोहोरीसाँझ सञ्चालन गरेका पाठकले बागलुङ बजारको गोल्डेनगेट चोक नजिकै डाँडै पिपलू रोधीघर सञ्चालनमा ल्याउनु भएको हो ।
काठमाडौँको मित्रनगरमा पाठकले १० वर्षसम्म सञ्चालनमा रहेको ‘बागलुङबेनी दोहोरीसाँझ’ कोरोना महामारीको समयमा बन्द गर्नु भएको थियो । करिब २ वर्षसम्म यत्तिकै बसेका पाठकले पुरानै कर्म नयाँ ठाउँ, आफ्नै ठाउँमा गर्ने योजना सहित जन्मथलो बागलुङलाई रोजेको बताउनुभयो । उहाँले करिब ५५ लाखको लागतमा रोधीघर सञ्चालनमा ल्याएको बताउनुभयो । लोकदोहोरीको उर्वरभूमि बागलुङका नागरिकलाई लोकसंस्कृति संरक्षणसँगै मनोरञ्जन समेत प्रदान गर्ने उद्देश्यले बागलुङमा लगानी गरेको उहाँको भनाई छ ।
रोधीघरका लागि गीत गाउने, नृत्य गर्ने सहित ६ जना कलाकार काठमाडौँबाट ल्याएको पाठकले बताउनुभयो । रोधीघर, रेष्टुरेण्ट र व्यवस्थापनमा २२ जनाले रोजगारी पाएका छन् । यो संख्या बढेर ३० पुग्ने पाठकको भनाई छ । स्थानीय कलाकारलाई समेत रोधिघरमा अवसर र प्राथमिकता दिइने उहाँले बताउनु भयो । बिहानदेखि सांझ ६ बजेसम्म रेष्टुरेण्ट सञ्चालन गर्ने र साँझ ७ बजेबाट रोधीघर सञ्चालन हुने जानकारी पाठकले दिनु भएको छ ।
काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा दोहोरीसाँझ, रोधीघर सञ्चालन गरेको जस्तो बागलुङमा सहज नभए पनि मानसिक रुपमा तयार भएर नै सुरुवात गरेको पाठकले बताउनुभयो । तत्काल नाफाको भन्दा पनि दीर्घकालिन व्यवस्थानको विषयमा आफू तयार रहेको उहाँको भनाई छ । लोकसंस्कृतिको धनी जिल्ला, कलाकारको उद्गम र उर्वरभूमि भनेर चिनिने बागलुङलाई थप नयाँ कलाकार उत्पादन गर्ने घरको रुपमा आफ्नो रोधीघर विस्तार गर्न लागेको उहाँको भनाई छ ।
