• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

दुर्गम गाउँ खुंखानीमा पाँच शैयाको अस्पताल : स्थानीयलाई गाउँमै सहज स्वास्थ्य सेवाको आशा

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ खुंखानीमा ५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।

दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालले अब गाउँमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि समेत टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीहरूका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा जेष्ठ नागरिकको उपचारमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बताउनु भयो ।

खुंखानीमा समाज काठमाडौँ र स्वास्थ्य चौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट २८ लाख बढी रकम संकल गरी रु १८ लाखमा जग्गा खरिद गरेर अस्पताल निमार्ण शुरु गरिएको थियो । २०७८ सालमा पुननिमार्ण प्राधिकरण अन्तरगत निमार्ण शुरु गरिएकोमा पुननिमार्णको म्याद सकियसँगै सघन सहरी विकास कार्यालय बागलुङले जिम्मा लिएर काम अगाडी बढेको थियो । करिव सात रोपनी क्षेत्रफलमा निमार्ण गरिएको अस्पतालले खुंखानी स्वास्थ्य चौकीबाट प्रदान गने सेवा उपलब्ध गराउने तमानखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष एंव् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर विश्वकर्माले बताउनु भयो ।

आधुनिक संरचना अनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधारहरू तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति पूर्तिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

“अहिलेलाई नयाँ भौतिक संरचनामा रहेर पुरानै सेवा पाउछौ होला अव नयाँ भौतिक संरचना सँगैँ सेवापनि थप होला भन्नेमा आशावादी छौ” स्थानीय तेजमान र्सिपालीले भन्नुभयो “अस्पताल निर्माणलाई ऐतिहासिक उपलब्धि भन्दै खुशी व्यक्त गरेका गर्नुभयो ।” अब गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् । उहाँले प्राथमिक उपचारकोलागि मात्र नभएर अन्य थप सेवापनि लिनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

तमानखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष एंव् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर विश्वकर्माले अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

यसले स्थानीयवासीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आधारभुत अस्पतालमो मापदण्डा पुरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदा सम्म भने स्वास्थ्य चौकीकै सेवा प्रदान भैरहने छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उपाध्यक्ष हिरा कुमारी छन्त्यालको भनाई छ । अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा यस क्षेत्रका हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने विश्वास स्थानीयको छ ।