• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

कालाञ्जरको महत्व चिनाउन एक वर्षे महायज्ञ

  • २०८३ बैशाख १९, शनिबार

बागलुङ ।  कालाञ्जर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले एक वर्षे कालाञ्जर महायज्ञ आयोजना गरिएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा महायज्ञ सञ्चालन गरिएको हो ।

शनिबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा पण्डित सुदर्शन बरालले कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष वैशाख २४ गतेदेखि सुरु भएको महायज्ञलाई यस वर्ष वैशाख १५ देखि ३० गतेसम्म १५ दिने वृहत समापन समारोहका साथ सम्पन्न गरिनेछ ।

समुद्री सतहदेखि ३,३०८ मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ । धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको जनविश्वास रहेको छ । “जहाँसुकै श्रद्धा गरे पनि कालाञ्जरको नाम उच्चारण गर्दा मात्र सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ,” बरालले भन्नुभयो, “विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले स्थानीय तहमा यसको पहिचान विस्तार आवश्यक छ ।”

महायज्ञअन्तर्गत अष्टोत्तरशत (१०८) श्रीमद्भागवत पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महायज्ञ सुरु भएदेखि तीन जना पण्डित तथा तपस्वीले निरन्तर हवन र पाठपारायण गरिरहेका छन् भने समापन अवधिमा श्रद्धालु भक्तजनको सहभागितामा कार्यक्रमलाई थप व्यापक बनाइने आयोजकले जनाएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको कालाञ्जर क्षेत्र ओझेलमा परेको भन्दै यसलाई प्रमुख तीर्थस्थलका रूपमा स्थापित गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। महायज्ञमार्फत सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि, धार्मिक पर्यटन प्रवद्र्धन र साधना केन्द्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञमा कथा वाचन, १०८ श्रीमद्भागवत पाठपारायण, भजन–कीर्तन, यज्ञ–हवन, रुद्राभिषेक, पूजा–अर्चना लगायतका कार्यक्रम समावेश छन् । साथै, श्रद्धालुहरूले एक हजार १५५ रुपैयाँदेखि ५१ हजार ५५५ रुपैयाँसम्मको सहयोगमा पाठपारायण गराउन सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनभन्दा बढी धार्मिक महत्व प्रवद्र्धनमा केन्द्रित छ ।

मुक्तिनाथ बाबा कमलनयनाचार्यको संकल्पमा आयोजना गरिएको महायज्ञमा प्रमुख वाचकका रूपमा उहाँकै अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनुहुनेछ । यसअघि पनि कमलनयनाचार्यकै संकल्पमा बागलुङको पञ्चकोटमा ठूला धार्मिक संरचना निर्माण भई धार्मिक पर्यटन आकर्षित भइरहेको छ ।

हाल कालाञ्जर क्षेत्रसम्म सडक सञ्जाल पुगिसकेको छ भने अतिथिगृह निर्माण कार्यसमेत अघि बढिरहेको छ । यसले भविष्यमा कालाञ्जरलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • २०८३ बैशाख १९, शनिबार