• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

तित्याङको सडक र ब्लु हिललाई संघीय सरकारले प्राथमिकता दिन्छ : सांसद खड्का

  • २०८३ बैशाख २०, आईतवार

बागलुङ । बागलुङ क्षेत्र नम्बर एकका संघीय सांसद सुशिल खड्काले बागलुङ नगरपालिका–९ तित्याङमा बागलुङ नगरपालिकाले निर्माण गरिरहेको ब्लु हिललाई संघीय सरकारले समेत प्राथमिकता दिने बताउनुभएको छ ।

तित्याङ वडा कार्यालयमा आयोजित ‘जनतासँग जनप्रतिनिधि’ अभियान अन्र्तगत खड्काल तित्याङ आउने सडक स्तरोन्नति देखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको ब्लुहिल, मनकामना मन्दिर लगायतलाई प्राथमिकता दिने बताउनुभएको छ ।

बागलुङ नगरपालिकाको ठूलो लगानी रहेको ब्लुहिललाई निश्कर्षमा पु¥याउन संघीय योजनामा समेत प्राथमिकताका साथ अघि बढाउन आफूले सक्दो प्रयास गर्ने खड्काले बताउनुभएको छ । ‘जनतासँग जनप्रतिनिधि’ अभियान अन्तर्गत बागलुङ नगरपालिका–९ तित्याङमा सांसदले स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेर सडक खानेपानी लगायतका समस्याको विषयमा गुनासो सुन्नुभएको छ ।

खड्काले जनताको समस्या सुन्न र योजनामा समावेश गर्न गाउँ–गाउँमा पुगेको बताउनुभयो । उहाँले स्थानीयले भोगिरहेका समस्या र सम्भावनाबारे खुला छलफल भएको जानकारी दिनुभयो । तित्याङको विशेषगरी सडक पूर्वाधार, शिक्षा, कृषि, खानिज तथा पर्यटन विकासका विषय प्राथमिकताका सूचि संकलन गरिएको खड्काले बताउनुभयो । सांसद खड्काले तित्याङ जोड्ने सडकको कमजोर अवस्था र मौसमी समस्याले आकस्मिक सेवा, कृषि ढुवानी तथा दैनिक जनजीवनमा कठिनाइ उत्पन्न गरिरहेको उल्लेख गर्दै सडक स्तरोन्नतिका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनतासंग गर्नुभएको छ ।

त्यसैगरी सिगाना माध्यमिक विद्यालयमा ‘कृषि प्राविधिक विद्यालय’ स्थापना गर्ने मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक समन्वय गर्ने बताउदै तित्याङ क्षेत्रमा रहेको तामा खानीको वैज्ञानिक अध्ययन गरी सम्भाव्यता पहिचान गर्न सम्बन्धित निकायसँग सहकार्य गरिने पनि जानकारी दिनुभयो ।

कृषि उत्पादनतर्फ केरा, सुन्तला र ओखरको राम्रो उत्पादन भइरहेको भए पनि बजार अभाव देखिएकाले युवालाई उद्यमशीलतासँग जोड्दै बागलुङ बजारसम्म प्रभावकारी ‘सप्लाई चेन’ निर्माणमा सहयोग गर्ने योजना अघि सारिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि ‘ब्लु हिल’ क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने तथा मनकामना मन्दिर र शिवालयजस्ता धार्मिक स्थललाई धार्मिक पर्यटनसँग जोड्ने पहल गरिने खड्काले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष राजु थापाले तित्याङ्को समस्या र सञ्चालनमा आएका योजनाहरुको विषयमा जानकारी गराउनुभएको थियो । सडक, ब्लुहिल, ओखर पकटे क्षेत्रलाई विकास गर्न माग गरिएको छ ।

स्थानीय समस्या समाधानका लागि जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको अभ्यासलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ ।

स्थानीय टोल विकास समितिका अध्यक्ष वेद बहादुर थापा, पूर्व वडा अध्यक्ष तिलक बहादुर थापा, पूर्व गाविस अध्यक्ष प्रेम बहादुर केसी, भिम बहादुर खत्री, राम बहादुर खड्का लगायतले तित्याङको समस्याको विषयमा जानकारी गराएका थिए । यस्तै सांसद सुसिल खड्काले बागलुङ नगरबासीको प्रमुख समस्या रूपमा रहेको खानेपानीको अवस्था बुझ्नु भएको छ । बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिसँग भेटघाट गरेर खानेपानीको समस्याको विषयमा जानकारी लिनुभएको थियो ।

खानेपानीको वर्तमान स्रोत, वितरण प्रणालीमा देखिएका चुनौती तथा व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिइएको खड्काले बताउनुभयो । समितिसँग भएको अन्तरक्रियामा दीर्घकालीन रूपमा खानेपानी व्यवस्थापन कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो ।

नगर क्षेत्रमा बढ्दो जनसंख्या, पुरानो संरचना र स्रोतको सीमितताका कारण खानेपानी वितरणमा समस्या देखिँदै आएको छलफलको क्रममा पाइएको छ । यस अवस्थालाई मध्यनजर गर्दै समस्या समाधानका लागि आवश्यक पहल अघि बढाइने जनाइएको छ ।

खड्काले खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन र दीगो समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

  • २०८३ बैशाख २०, आईतवार