• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

काठमाडौं :अवसर र आकर्षणबीच स्वाभिमानसहितको संघर्षमय जीवनकथा

 

साँझ घर फर्केर सोच्दा लाग्थ्यो । “शायद म यहाँ टिक्नै सक्दिन।” मेरो आत्मसम्मान कहिलेकाहीँ चोट पुर्यायो । कतिपटक लाग्थ्यो, मैले मेहनत गर्दा पनि मेरो कामको मूल्यांकन हुँदैन । मानिसहरूले मेरो क्षमता नदेखी, मलाई होच्याउन प्रयास गर्दा आत्मबल कमजोर भएको अनुभव भयो ।

गाउँको साँघुरो बाटो, हरियाली फाँट तथा टुक्रा–टुक्रा खेत र शान्त वातावरणमा, शान्त जीवन तथा बुबाआमा र माया गर्ने परिवारको न्यानो काख छाडेर सानो ठाउँबाट ठूलो सपना बोकेर राजधानी आउँदा मनमा केवल उत्साह, जोश, आशा अनि डर पनि थियो । लाग्थ्यो “यहाँ आएपछि जीवन बदलिन्छ, अवसर अँगाल्न पाइन्छ।” तर बिस्तारै थाहा भयो, राजधानी केवल अवसरको शहर मात्र होइन, संघर्षको मैदान पनि हो। राजधानीले पहिलो नजरमै आफ्नै अनुहार देखाइदियो । धुलो, धुवाँ, ट्राफिक, भिड, र मानिसको हतार ।

सपना बोकेर, अवसरको खोजी गर्दै हजारौँ मानिसहरू दैनिक बिहानको उज्यालो आउन नपाउँदै सडकमा दौडिरहेका हुन्छन् । शुरुका दिनहरूमा एका बिहानै चोकमा उभिएर मानिसहरूको भीडतर्फ हेर्दा, आश्चर्यचकित भई एउटा प्रश्न मनमा आउँथ्यो– यत्रा मानिसहरू किन यति हतारमा छन्, के खोजिरहेका छन् ?

हरेक अनुहारमा चिन्ता, व्यस्तता र हतार देखिन्थ्यो । राजधानीको हावा नै यस्तो थियो । जहाँ समयसँगै सबै दौडिरहेका जस्तो लाग्थ्यो । सडकभरि मानिसको भीड– मानौं काठमाडौंमा बिहान कहिल्यै सुस्ताउँदैन । हरेक अनुहारमा एउटै कुरा लेखिएको छ, “म ढिलो भएँ, मलाई हतार छ ।” “यी सबै मानिसहरू कहाँ दौडिरहेका होलान्, के खोज्दै होलान् ?”

त्यो दिनदेखि मैले बुझ्न थालेँ– राजधानीमा समयभन्दा ठूलो शक्ति केही छैन। काठमाडौंमा समयभन्दा ठूलो कोही छैन । यहाँ मानिसहरू आफ्नो जीवनलाई घडीसँग बाँधेर दौडिरहेका छन्। सडकमा हजारौँ मानिसहरू ओइरिएका थिए । कोही जागिरमा जान दौडिरहेका, कोही बिहानको कसरत गरेर फर्किरहेका, कोही भारी बोकेर पसलतिर हिँडिरहेका । यी सबैसँगको भेटघाटले मलाई समाज बुझ्न सिकायो ÷ राजधानीका मानिसहरूलाई चार प्रकारमा वर्गीकरण गरें ।

सम्पन्नहरू – सुविधायुक्त, आरामदायी जीवन बिताउने, तर आफ्नै दुनियाँमा जीवन बाँच्ने । स्वार्थी र ठगहरू, केवल आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्ने, धोका दिने, दुःख दिएर आफ्नै जीवन अघि बढाउने ।

मध्यमवर्गीयहरू – इमानदारी तथा कडा परिश्रम गरेर आफ्नो जीवन चलाउने । संघर्षरतहरू – दैनिक जीवनको लागि लड्ने, न्यूनतम आवश्यकता पूरा गर्नै संघर्षरत ।
यी चार वर्गको भिडमा म पनि मिसिँदै गइरहेको थिएँ । यहाँको जीवनलाई नजिकैबाट अनुभव गर्न पुगेँ । यी सबैसँगको भेटले मलाई जीवनको विविधता र चुनौती बुझ्न सिकायो । यहाँको हावा, हरेक कदम, हरेक अनुहारले संघर्ष र चुनौतीको कथा सुनाउँथ्यो ।

राजधानीमा अगाडि बढ्नु यति सजिलो थिएन । कसैले तपाईंको स्वाभिमानलाई तोड्न खोज्छन्, कसैले पैसालाई मात्र मूल्य दिन्छ, कोही तपाईंलाई साथ दिन्छ, तर धेरैले तपाईंलाई तल पार्न खोज्छन् ।

काठमाडौंमा जागिर बदल्नु मानौं कपडा बदल्नु जस्तै थियो। जागिर गर्दा कामको बोझ धेरै थियो, तर जिम्मेवारी र मान्यता बराबर दिइँदैनथ्यो । प्रणालीगत कठिनाइहरू, प्रणाली यस्तो थियो कि मेहनत र परिणामको मूल्यांकन स्पष्ट थिएन । कम्पनीको नियमको नाममा अत्यधिक दबाव र मानसिक संघर्ष, दिनदिनै कामको दबाव, भीडभाड, समयको कमी र व्यक्तिगत जिम्मेवारीले मन भारी बनायो । केही सहकर्मीहरूले आफ्नो स्वार्थका लागि अरुलाई दबाउँथे। जागिर बदलिँदै, नयाँ साथीहरू भेटिँदै, नयाँ व्यवहार सिक्दै जाँदा बुझें । धेरैजसो साथीहरूको अनुहारमा निराशा देखिन्थ्यो। जागिर गर्दै जाँदा बुझें । यहाँ मानिसले केवल नतिजा हेर्छ, प्रयासलाई होइन । पैसा नआएपछि तपाईंको इज्जत पनि हराउँछ । स्वाभिमान जोगाउन सजिलो छैन, तर त्यसैमा जीवनको मूल्य छ ।

साँझ घर फर्केर सोच्दा लाग्थ्यो । “शायद म यहाँ टिक्नै सक्दिन।” मेरो आत्मसम्मान कहिलेकाहीँ चोट पुर्यायो । कतिपटक लाग्थ्यो, मैले मेहनत गर्दा पनि मेरो कामको मूल्यांकन हुँदैन । मानिसहरूले मेरो क्षमता नदेखी, मलाई होच्याउन प्रयास गर्दा आत्मबल कमजोर भएको अनुभव भयो । जसले मलाई असफलताको अनुभव गरायो। त्यो असफलता नै मेरो पहिलो पाठ बन्यो । कठिन परिस्थितिमा पनि आत्मबल र धैर्य अनिवार्य हुन्छ । असफलताको पीडा बिर्सेर बुझें । काठमाडौंमा केवल मेहनत पर्याप्त छैन, सकारात्मक सोच, सही मार्गदर्शन र सम्बन्धले पनि सफलता सम्भव छ। आफैंलाई सम्झाएँ, स्वाभिमान पैसाभन्दा ठूलो छ । मैले निर्णय गरेँ कि कहिल्यै मेरो मूल्य र आत्मसम्मान बेच्ने छैन ।

समयको सहनशीलता, मेरो मेहनतको मूल्य नदेखी, कामको जिम्मेवारीमा अनावश्यक दबाव र आलोचना गर्ने प्रयास भएपछि मैले सिधा आफ्नो स्वाभिमानको रक्षा गर्दै मेरो निर्णय प्रष्ट पारें, र घोषणा गरेँ कि अब म आफ्नो क्षमताअनुसार नयाँ अवसर खोज्नेछु । त्यो क्षणमा अनायास हल्का डर थियो, तर ठूलो आत्मसन्तुष्टि र बलियो निर्णय पनि। यो कदम मेरो लागि केवल जागिर परिवर्तन मात्र थिएन, यो मेरो आत्मसम्मान र स्वाभिमानको विजय थियो ।

नयाँ अवसरको खोजी

राजधानीमा अझै संघर्ष सकिएको छैन । रोजगारीको अस्थिरता, उच्च प्रतिस्पर्धा र अपेक्षित अवसरको कमीले मनमा तनाव ल्याइरह्यो। प्रत्येक दिन नयाँ जागिरको खोजी, आवेदन, अन्तर्वार्ता र असफलतासँग सामना गर्नुपर्यो। कहिलेकाहीँ लाग्छ, “सफलता टाढा छ, तर प्रयास बन्द गर्न सकिँदैन ।”

यद्यपि, म अझै संघर्षरत छु, अझै अवसर खोज्दै छु । यो यात्रा मलाई लगातार बलियो बनाउँदैछ ।