बागलुङ । विद्यार्थीमा आउन सक्ने मानसिक विचलन, मानसिक र शारिरिक समस्यालाई परामर्शबाट अन्त्य गर्नका लागि शिक्षकलाई तालिम दिइएको छ ।
विद्यार्थीलाई मनोसामाजिक परामर्शमा सहायता प्रदान गर्नका लागि ४१ शिक्षकलाई मानासिक स्वास्थ्य र मनोबिमर्श तालिम दिइएको छ । बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकहरूका लागि तीनदिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोबिमर्श सम्बन्धी तालिम प्रदान गरिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
जिल्लाका ४१ विद्यालयका शिक्षकहरू परामर्श गरिएको र शिक्षकहरुले विद्यालयमा लागु गर्दा विद्यार्थीमा आउने मानसिक विचलनलाई कम गर्न सकिने छ । तालिमको सहजीकरण वरिष्ठ मनोविद् किशोर थापाले गरिरहनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख राजु खड्काले घरायसी तथा सामाजिक वातावरण, शिक्षकको व्यवहार र शिक्षण–सिकाइ गतिविधिका कारण बालबालिका तथा किशोरहरूमा विभिन्न मनोवैज्ञानिक समस्या देखिने गरेको उल्लेख गर्नुभयोे । उहाँले सामान्यदेखि जटिल अवस्थासम्मका समस्या समाधानका लागि विद्यालयस्तरमै मनोबिमर्श सेवा आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार पढाइमा ध्यान नजाने, विद्यालयमा अनुपस्थित हुने, बीचमै पढाइ छाड्ने, अनुशासनहीन व्यवहार, डर, चिन्ता, निराशा, तनाव, दुव्र्यसन तथा बालविवाहजस्ता समस्या बढ्दै गएकाले समाधानका लागि मनोपरामर्श प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिम पश्चात् नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा विद्यार्थी मनोपरामर्श कक्षा सञ्चालन गरिने उपप्रमुख खड्काले जानकारी दिनुभयो । तालिमको संयोजन ‘खुशी मन बागलुङ’ले गरेको छ ।