सम्पादकीय । भारतको दक्षिणी राज्य तमिलनाडु राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणामले वास्तवमै भारतीय राजनीतिमा ठूलो तरंग (राजनीतिक सुनामी) ल्याएको छ, प्रसिद्ध तमिल अभिनेता विजयद्वारा गठित नयाँ पार्टी, तमिलगा वेत्री कझगम पहिलो पटक चुनाव लडेरै राज्यको सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । जसको प्रभाव राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा गरिएको छ । यस ऐतिहासिक चुनावी नतिजाका मुख्य पक्षहरूलाई केलाउँदा परम्परागत राजनीतिक शक्तिहरु प्रतिको चरम बितृष्णा र आक्रोश देखिन्छ । ६ दशकदेखि तमिलनाडुको राजनीतिमा वर्चस्व जमाउँदै आएका दुई प्रमुख द्रविड दलहरू—सत्तारुढ डीएमके र विपक्षी एआईडीएमकेको विरासतलाई विजय नेतृत्वको नयाँ पार्टीले ठूलो धक्का दिएको छ । जुन विश्व राजनीतिका लागि एक ठुलो पाठ र सन्देशको रुपमा चर्चा भइरहेको छ ।
अहिले भारतको तमिलनाडुमा जे भइरहेको छ, त्यसकै एक रुप त नेपालमै पनि हालै देखिसकिएको छ । अघिल्लो चुनावबाट नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा काठमाडौंका मेयर बालेन्द शाह समाहित भएर संघीय संसदमा एकल बहुमत हासिल गरे । जसको पनि विश्वभर चर्चा भयो । तमिलनडुको कुरा गर्दा विश्व राजनीतिमा एक अभूतपूर्व बदलावको संकेत प्रष्ट गरेको छ । जहाँ वर्तमान मुख्यमन्त्री एमके स्टालिन आफ्नै गढ कोलाथुरबाट पराजित भएका छन्, जसलाई विश्लेषकहरूले “राजनीतिक भूकम्प“ को संज्ञा दिएका छन् । योे नतिजाले युवा मतदाताहरूमा रहेको परिवर्तनको चाहना र एन्टी–इन्कम्बन्सी (सत्तारुढ विरोधी) भावनालाई प्रतिविम्बित गरेको छ, जहाँ फिल्म स्टारलाई नेताका रूपमा स्वीकार गरिएको छ । यो नतिजाले दक्षिण भारतको राजनीतिमा नयाँ शक्तिको उदय देखाएको छ, जसले तमिलनाडुको स्थिर राजनीतिमा मात्र नभई, भारतको राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने र नयाँ समीकरणहरू बनाउने सम्भावना छ । यो चुनावलाई “राजनीतिक सुनामी’’ र तमिलनाडुमा “परिवर्तनको यात्रा’’ को रूपमा व्याख्या गरिएको छ । तमिलनाडुमा हालै देखिएको राजनीतिक परिवर्तन केवल चुनावी परिणाम मात्र होइन, एउटा दीर्घकालीन सांस्कृतिक–राजनीतिक प्रक्रियाको परिणाम हो । तमिल सुपरस्टार थालापती विजयको पार्टीले छोटो समयमै सत्ताको ढोका ढकढक्याउनु दक्षिण भारतीय राजनीतिमा नयाँ अध्याय मात्र होइन, विश्वका अन्य लोकतन्त्रका लागि समेत गम्भीर अध्ययनको विषय बनेको छ ।
परम्परागत राजनीतिक शक्ति र नेताहरु प्रति यसरी विश्वभर किन चरम बितृष्णा, आक्रोश उत्पन्न भइरहेको छ ? उनीहरुको विकल्प किन खोजिरहेका छन् ? यसका पछाडि धेरै कारण छन् । मुख्यतः उनीहरुको इमान, उत्तरदायित्व र कार्यशैली हो । जनता र देशका लागि भन्दा आफ्नै स्वार्थ समूहको दन्तबझानमा अल्झिदाँ वर्षौदेखि निराशा बढ्यो । फलतः आज वर्षौदेखि राजनीतिमा सक्रिय र समर्पित भएकाहरु किनाराकृत र बहिष्कृत हुने अवस्था आएको छ भने अर्कोतर्फ सिनेमामा सक्रिय र समर्पित भएका कलाकाहरु सत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् ।
परिणामतः पर्दामा देखिएको ‘नायक’ वास्तविक जीवनमा पनि नेतृत्वका रूपमा स्वीकार्य बनेका छन् । विजय थलापतीको सफलता आकस्मिक देखिए पनि यसको जरा गहिरो छ । उसो त विगतमा लोकप्रिय अभिनेता अमिताभ बच्चन जस्ता बलिउड सुपरस्टारहरू राजनीतिमा उदाए पनि टिक्न नसकेको इतिहास ताजा छ । राजनीतिमा केवल लोकप्रियता पर्याप्त हुँदैन । थालापती विजयको सफलता केवल एक व्यक्तिको विजय होइन, यो तमिलनाडुको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक प्रक्रियाको निरन्तरता हो । यसले देखाएको छ कि लोकतन्त्रमा ‘छवि’ महत्वपूर्ण हुन्छ, तर त्यो छवि जनताको आकांक्षासँग मेल खानुपर्छ । अब लोकप्रियता र भावनात्मक अपिलभन्दा माथि उठेर संस्थागत राजनीति, स्पष्ट एजेन्डा र दीर्घकालीन दृष्टिकोण निर्माण नगरे भोलिका दिनमा अहिले विकल्पको रुपमा देखिएको थलापती विजयहरु पनि अहिले जसरी ‘बहिष्कृत’ हुनेछन् ।
