बागलुङ । जिल्लाका दुई स्थानीय तह बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिका ले भूमि प्रशासन तथा सार्वजनिक जग्गा व्यवस्थापन सम्बन्धी सूचना जारी गरेका छन् ।
बडिगाड गाउँपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार अबदेखि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गरिने जनाएको छ । हालसम्म मालपोत वा नापी कार्यालयमार्फत हुँदै आएका सेवाहरू अब गाउँपालिकाबाटै उपलब्ध हुने व्यवस्था मिलाइने भएको हो । यसका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीको संयुक्त हस्ताक्षरमा जारी गरिएको सार्वजनिक सूचनामा पालिकाले जनशक्ति तथा पूर्वाधार व्यवस्थापन आफै गर्न तयार भएको जानकारी दिएको छ । यस्तै, तमानखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण रोक्न कडाइ गर्ने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले अतिक्रमण भएको जग्गाबारे जानकारी दिन सर्वसाधारणसँग अनुरोध गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित परियारद्धारा हस्ताक्ष गरिएको सूचनामा सार्वजनिक जग्गा संरक्षणमा सहयोग गर्न स्थानीयबासीलाई अपिल समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार तमानखोला गाउँपालिका वडा नं २ को गुर्जा क्षेत्रमा स्थानीयले भोगचनल गरेको जग्गा रहेको तर हाल ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने भएपनि स्थानीय र सरकारको समझदारीमा त्यस स्थानको वारेमा छलफल हुने जानकरी दिनु भएको छ ।