• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

लोकगायन प्रतिभा खोज्दै बागलुङमा ‘दोस्रो गण्डकी लोक तारा’ अडिसन हुने

बागलुङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले ‘दोस्रो गण्डकी लोक तारा’ बागलुङ जिल्ला अडिसन आयोजना गर्ने भएको छ ।

लोकगीत तथा लोकसंस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी जेठ २ गते अडिसन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

प्रतिष्ठानका अनुसार अडिसन बागलुङ बजारस्थित डाँडैपिपलु रोधीघर गोल्डेनगेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्न पाउने लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङका प्रमुख सरस्वती खड्का परियारले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले पाँच हजार रुपैयाँ, द्वितीय हुनेले तीन हजार रुपैयाँ र तृतीय हुनेले दुई हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अनुसार बागलुङ जिल्लामा जन्मथलो भएका वा कर्मथलो बनाई बसोबास गरिरहेका इच्छुक व्यक्तिले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । जिल्ला अडिसनबाट छनोट हुने एक जना प्रतियोगी गण्डकी प्रदेशस्तरीय फाइनलका लागि पोखरामा सहभागी हुनेछन् । फाइनल प्रतियोगिता आगामी जेठ ९ गते आयोजना हुने जनाइएको छ ।
लोकसंस्कृति संरक्षण र नयाँ पुस्तामा लोकगीतप्रतिको आकर्षण बढाउने अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।