बागलुङ । बागलुङ नगरपालिका विद्यालय तहमा विद्यार्थी मनोसामाजिक परामर्श सेवा स्थापना र सञ्चालन गर्ने तयारीमा जुटेको छ । बालबालिकामा देखिने तनाव, चिन्ता, पिर तथा अलमलजस्ता मानसिक अवस्थालाई समानुभूतिपूर्वक सुन्ने र उनीहरूको मनोवैज्ञानिक बेचैनी कम गर्न सहयोग गर्ने उद्देश्यसहित शिक्षकहरूलाई मानसिक स्वास्थ्य तथा मनोबिमर्श सम्बन्धी आधारभूत तालिम प्रदान गरिएको हो । तालिम सञ्चालनमा एकीकृत सेवा कार्यालयले सहयोग गरेको थियो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मनोसामाजिक परामर्शले बालबालिकाको मानसिक सुस्वास्थ्य प्रवर्द्धनसँगै सिकाइ तत्परतामा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनका अनुसार विद्यार्थीहरूसँग विश्वासिलो सम्बन्ध निर्माण गरी उनीहरूको मनको समस्या पहिचान गर्न, समस्या स्वीकार गर्न र समाधानका उपयुक्त विकल्प खोज्न मनोबिमर्श सेवा प्रभावकारी माध्यम बन्न सक्छ ।
उपप्रमुख खड्काले बाल्यअवस्था मानसिक स्वास्थ्यका हिसाबले अत्यन्त संवेदनशील र महत्वपूर्ण चरण भएकाले यस समयमा देखिने समस्या र भोगाइको असर दीर्घकालसम्म रहने बताए । उनले भावनात्मक तथा व्यवहारिक समस्या पहिचान गरी समाधानमा केन्द्रित हुन विद्यालय तहमा मनोबिमर्श सेवा लागू गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
तालिमपछि शिक्षकहरू विद्यार्थीका विश्वासिला साथी बन्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले बागलुङ नगरपालिकाले नगर क्षेत्रका सबै माध्यमिक विद्यालयमा मनोबिमर्श कक्ष स्थापना गर्न विद्यालयहरूसँग समन्वय गरिरहेको जानकारी दिए । निजी विद्यालयहरूले समेत विद्यार्थी मनोबिमर्श कक्ष स्थापना गर्न रुचिपूर्वक चासो देखाउँदै तयारी थालेको उनले बताए ।
हाल बागलुङ नगरपालिकामा ६ महिने तालिम प्राप्त २० जना मनोबिमर्शकर्ता रहेका छन् । यसै सातामात्र ४२ जना शिक्षकलाई आधारभूत मनोबिमर्श तालिम प्रदान गरिएको छ । नगरपालिकाको विश्वास छ कि आधारभूत तालिम प्राप्त शिक्षकहरूले विद्यालयमै विद्यार्थीहरूको मनोसामाजिक समस्या पहिचान गर्न तथा आवश्यक परे मनोचिकित्सक वा मनोबिमर्श सेवासम्म पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।