• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङ र मुस्ताङका दुइ सांसद : लगानी व्यवस्थापन समिति सदस्य चयन

  • २०८३ बैशाख ३०, बुधबार

बागलुङ।  प्रतिनिधिसभा सदस्यहरु बागलुङ क्षेत्र नं. १ का सदस्य सुशिल खड्का र मुस्ताङका योगेश गौचन थकाली सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा चयन हुनु भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको बुधवार बसेको वैठकले सांसदद्वय खड्का र थकालीलाई सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा चयन गरेको सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । संघीय संसद अन्तर्गत सार्वजनिक वित्त, सरकारी लगानी तथा सार्वजनिक संस्थानको प्रभावकारी व्यवस्थापनसँग सम्बन्धित विषयमा काम गर्ने समितिमा धौलागिरीका दुइ सांसदलाई सदस्य चयन गरिएको हो ।

सांसद खड्का सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र थकाली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट गत निर्वाचनमा विजयी हुनु भएको थियो । नेपाल सरकारले विभिन्न सार्वजनिक संस्थान, परियोजना, पूर्वाधार, ऊर्जा, पर्यटन, उद्योग तथा रणनीतिक क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गर्दै आएको छ । तर ती लगानीको प्रतिफल, पारदर्शिता, व्यवस्थापन क्षमता तथा आर्थिक प्रभावकारितामाथि पटक–पटक प्रश्न उठ्दै आएका छन् ।

यिनै विषयको अध्ययन, अनुगमन र नीतिगत सुझाव दिन सरकारी लगानी व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । समितिले मुख्यतः सरकारी लगानी भएका संस्थानहरूको अवस्था मूल्यांकन गर्ने, लगानीको प्रतिफल विश्लेषण गर्ने, घाटामा रहेका संस्थान सुधारका उपाय सुझाउने तथा सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोगका लागि सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको हुन्छ । नेपालमा सरकारी स्वामित्वमा रहेका धेरै संस्थान लामो समयदेखि घाटामा सञ्चालन भइरहेका छन् ।

केही संस्थान राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, अनियमितता तथा दीर्घकालीन योजना अभावका कारण प्रभावकारी बन्न नसकेको आलोचना हुने गरेको छ । यस्तो अवस्थामा सरकारी लगानी व्यवस्थापन समितिलाई सार्वजनिक सम्पत्तिको संरक्षण र लगानीको उचित प्रतिफल सुनिश्चित गर्ने संयन्त्रका रूपमा हेरिएको छ । अर्थविद्हरूका अनुसार समितिले निष्पक्ष अध्ययन र प्रभावकारी अनुगमन गर्न सकेमा सरकारी खर्च नियन्त्रण, लगानीको प्राथमिकता निर्धारण तथा सार्वजनिक संस्थान सुधारमा सकारात्मक प्रभाव पर्न सक्छ ।

विशेषगरी ऊर्जा, पर्यटन, कृषि, यातायात र औद्योगिक क्षेत्रमा गरिएको सरकारी लगानीलाई उत्पादनमुखी र परिणाममुखी बनाउन समितिको भूमिका महत्वपूर्ण रहन्छ । बागलुङ र मुस्ताङका सांसदद्वयको समितिमा सहभागितासँगै धौलागिरी क्षेत्रका विकास परियोजना, पर्यटन पूर्वाधार, सडक, जलविद्युत् तथा सार्वजनिक लगानीका विषय संसद र सरकारसम्म थप प्रभावकारी रूपमा पुग्ने अपेक्षा गरिएको छ ।

  • २०८३ बैशाख ३०, बुधबार