बागलुङ । कोरोना महामारीका कारण धेरैलाई उद्यम तथा रोजगारी गुमाएर घर फर्किन बाध्य बनायो । तर बागलुङका बलाराम सापकोटाले भने यही परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै उदाहरणीय कृषि तथा पशुपालन व्यवसाय गरेर गाउँलेको प्रेरणाको स्रोत बन्नुभएको छ । १२ वर्ष बागलुङ बजारमा मिष्ठान्न र होटल सञ्चालन गर्दै आउनुभएको सापकोटा कोरोनामा व्यवसाय ठप्प भएपछि गाउँ फर्कनुभएको थियो ।
कोरोना महामारीका बेला शहरको व्यवसाय बन्द भएपछि गाउँ फर्किनुभएका सापकोटाले अहिले पशुपालन र फलफूल खेतीबाट मासिक दुई लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । उहाँले गाउँमै बसेर उत्पादन र रोजगारी सिर्जनासँगै जनप्रतिनिधिको जिम्मेवारीसमेत निर्वाह गरिरहनुभएको छ ।
सापकोटाले २०७६ सालदेखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गर्नुभएको हो । कोरोना महामारीका कारण उहाँले सञ्चालन गर्दै आएको धौलागिरि मिष्ठान्न पसल तथा होटल करिब छ महिनासम्म बन्द हुँदा आर्थिक समस्या झेल्नुपरेको सुनाउदै उत्पादनसंग जोडिन गाउँ फर्केको बताउनुभयो । कृषि र पशुपालनलाई मुख्य व्यवसाय बनाउने सोचका साथ गाउँ फर्केर पशुपालन र सुन्तला खेतिमा एक करोड लगानी गरेको सुनाउनुभयो ।
२०७९ सालमा वडा सदस्यमा निर्वाचित भएपछि जनताको सेवासँगै उत्पादनमूलक कामलाई पनि निरन्तरता दिएको उहाँको भनाइ छ । “उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी समेत थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले” सापकोटाले भन्नुभयो, “बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवा संगै आफैँले कृषि र पशुपालन गरेर अरुलाई पनि प्रेरणा दिन खोजेको छु ।”
हाल उहाँले ११ वटा गाई र १३ वटा भैँसी पाल्नुभएको छ । दैनिक करिब १५० लिटर दूध उत्पादन भइरहेको बताउनुभयो । उक्त दुध बागलुङ दुग्ध उत्पादन संस्था मार्फत बिक्री हुँदै आएको छ ।
पशुपालनसँगै पशुबस्तु खरिद–बिक्रीको काम पनि गर्दै आउनुभएको छ । मासिक चार लाख ५० हजारको दूध बिक्री हुनेगरेको छ भने दाना र कर्मचारी लगायतको खर्च कटाएर दुई लाख बचत भइरहेको छ । बचत रकमले फलफूल बगैता बिस्तार गरिरहेको सापकोटाको भनाई छ ।
सापकोटाले २७ रोपनी आफ्नै र नांै रोपनी भाडामा लिएर एक हजार सुन्तलाका बिरुवा लगाइसक्नुभएको छ । उहाँले एक हजारभन्दा बढी सुन्तलाका बिरुवा रोप्नुभएको छ भने ११० वटा कागती र ५० वटा ओखरका बिरुवा समेत लगाउनुभएको छ । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने अपेक्षा उहाँको छ ।
कोरोनाकालमा फर्केर आउदा लगाएका सुन्तलाले उत्पादन दिन थालेको बताउनुभयो । सुन्तला खेतीमा उहाँले मल्चिङ प्रविधि अपनाउनुभएको छ । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको उहाँले बताउनुभयो । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न सापकोटाले गहुँत तथा पानी लिफ्टिङ गरेर करिब २०० मिटर माथिसम्म पु¥याउनुभएको छ ।
अहिले उहाँको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको सापकोटाले सुन्तलाको पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहनुभएको छ । गाउँ फर्केर मेहनत गरे राम्रो आम्दानी गर्न सकिने उदाहरण सापकोटाले प्रस्तुत गर्नुभएको स्थानीयवासी बताउँछन् ।
